Logo
Logo
कला-साहित्य

स्टलदेखि स्टेजसम्म : दुर्गाको प्रेरणादायी यात्रा


6k
Shares

कुनै समय दैनिकी चलाउन उनी पत्रिका बाँड्थिन् । तर, अहिले उनै दुर्गा भट्ट चर्चित मोडल तथा नृत्यांगना बनेकी छन् । नृत्यबाट उनले नाममात्र पाएकी छैनन्, दाम पनि कमाउँदै आएकी छन् । दुर्गाको मिहेनत, संघर्ष र सफलता देख्दा लाग्छ, ‘चिताएपछि असम्भव भन्ने हुन्न रहेछ ।’

नृत्यांगना भएरै देश–विदेश डुलिसकेकी दुर्गा भन्छिन्, ‘अहिले त मोडलिङ र नृत्यमै भविष्य देख्न थालेँ ।’ करिब ८ वर्षदेखि नृत्य गर्दै आएकी उनी भन्छिन्, ‘रहरभन्दा पनि करले यो क्षेत्रमा आएकी हुँ ।’ उनी गीत पनि गाउँछिन् । तर, आफूलाई गायिकाभन्दा पनि कलाकारको रुपमा चिनाउन रुचाउँछिन् । यिनै मोडल तथा नृत्यांगना दुर्गा भट्टसँग रेजिना पाण्डेले जम्काभेट :

तपाईँले नृत्य नै किन र कसरी रोज्नुभयो ?
मेरो नृत्यको सुरुवात अनौठो तरिकाले भएको हो । मोडल र नृत्यकार बन्छु भनेर मैले सोचेको पनि थिइन्ँ । गाउँ (कञ्चनपुर)मा हुँदा मेला तथा महोत्सवहरूमा कहिलेकाही पारिवारिक दायित्व समाल्न स्टलहरूमा काम गर्थेँ । त्यतिबेला म कक्षा नौमा पढ्थेँ । एउटा महोत्सवमा स्टलमा काम गरिरहेकी थिएँ, आयोजकले मलाई ‘एकजना डान्सर आएको छैन, तिमी नाच्न सक्छौँ भने प्रयास गर’ भने । मैले त्यसअघि कहिल्यै महोत्सवमा नाचेकी थिइनँ । आयोजकले अवसर दिएपछि डान्स गरेँ । त्यसवापत ८ हजार रुपैयाँ पाएँ । त्यो मेरो लागि ठूलो रकम थियो । त्यसपछि मैले अरू मेला महोत्सवहरूमा पनि डान्स गर्न थालेँ ।

तपाईँ काम गर्दै पढ्नुहुन्थ्यो ?
हो, मैलै स्टलमा मात्र होइन, दैनिक पत्रिका बाँड्ने काम पनि गर्थेँ । जसले गर्दा मेरो घरको दैनिकी चलाउन सहज हुन्थ्यो । साइकल चढेर पत्रिका बाँड्दै म स्कुल जान्थेँ । मैले जीवनमा धेरै उत्ताव–चढाव भोगेको छु । तैपनि खुशी छु ।

काम गर्दै पढ्दा साथीभाई, आफन्तले के भन्थे ?
धेरैबाट धेरै कुरा सुनेँ । कतिले राम्रो भने होला, कतिले नराम्रो भने होला । तर, अरुको कुरा सुन्नुभन्दा मलाई राम्रो काम गर्नु थियो । त्यो मेरो पारिवारिक दायित्व पनि थियो । कृषि, मेलापातको कामले हामीलाई खासै पुग्दैन थियो । परिवार ठूलो थियो । दाइहरूबाट खासै साथ, स्पोट नभएको कारण घरको सबै जिम्मवारी ममाथि आइलाग्यो । मैले घरका लागि रहरहरू बन्धकी राखेर काम गरेँ ।

तर, अहिले त नामसँगै दाम पनि कमाइरहनु भएको छ नि ?
हो, कामको अवसरहरू पाइरहेको छु । तर, गर्न खोजेको र सोचेको कुरा अझै पाएको छैन । जीन्दगीमा कानुन बिषय लिएर पढ्ने इच्छा थियो, त्यो अधुरै भयो ।

कानुन पढ्न नपाउँदा दुखित हुनुुहुन्छ ?
दुःख त लागिहाल्छ नि । तर, प्लस–टु सिद्धाएँ, अहिले त्यसैमा खुशी छु । बिस्तारै सम्भव भएसम्म थप पढाइ अगाडि बढाउने सोचमा छु । कामको चाप छ, तैपनि पढाइलाई पनि निरन्तरता दिने सोच बनाउँदै छु ।

नृत्य सिक्नु भएको छ कि छैन ?
आर्थिक अभावका कारण मैले राम्रो नृत्य सिक्नै पाइनँ । मैले डान्स प्राविधिक ज्ञानकै आधारमा नृत्य गरिरहेको थिएँ । तर, यतिले पुग्दैन भन्ने लागेर अहिले डान्स सिकिरहेकी छु ।

बिना टे«निङ नृत्यकार बन्न कसरी सम्भव भयो ?

जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ अवसरहरू गुमाउनु थिएन । त्यसले गर्दा युटुयुब हेरेर पनि धेरै नृत्यहरू सिकेँ । अग्रज कलाकारहरूको नृत्य हेरेर सिक्ने प्रयास गरिरहेँ । अहिले पनि यो क्रम जारी नै छ । म मात्र होइन, धेरै नृत्यकारहरू युटुयुब हेरेर आफनो प्रतिभा देखाइरहनुभएको छ ।

तपाईँ गाउनु पनि हुन्छ ?
हो, मैले आधा दर्जनजति गीत गाएको छु । तर, आफँैले गाएको गीत मन परेन । त्यसैले गाउनै छोडिदिएँ । गायन मेरो लागि होइनजस्तो लागेर म्युजिक भिडियो र नृत्यलाई निरन्तरता दिएकी हुँ ।

हालसम्म कति ठाउँमा नृत्य गर्ने अवसर पाउनुभयो ?
नेपालमा त लगभग सबै ठाउँ भ्याइसकेको छु । नेपालबाहिर भारत, दुवई, मलेसिया, सिंगापुर, हङकङ पुगेको छु । अन्य ठाउँमा पनि जाने तयारी भइरहेको छ ।

अबको योजना के छ ?
नृत्य र मोडलिङ त छँदैछ, समयले साथ दियो भने सिनेमा निर्माण गर्ने योजना बनाउँदैछु ।

सिनेमा पनि खेल्ने इच्छा छ ?
हेराँै, मौका मिल्यो भने सोच्न सकिन्छ । रहर त छ । फिल्म खेल्ने अवसर मिल्छ या मिल्दैन ।

संघर्षको प्रतिफल पाइरहनुभएको छ, कतिको खुशी लाग्छ ?
मैले कर्म गरेअनुसार फल पाइरहेकी छु । मैले संघर्ष पनि धेरै गरेकी छु । अहिलेको मेरो सफलता भनेको त्यसैको परिणाम हो । आज जुनै क्षेत्रमा पनि लगानी गर्ने आँट आएको छ । कुनै बेला म मेला महोत्सवमा नाच्दा ‘तेरी छोरी बिग्री’ भन्नेहरू धेरै थिएँ । आज तिनीहरू नै प्रशंसा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्