टोकियोमा सुसुमुको डेरा नजिकै एउटा ठुलो सुन्दर पार्क थियो । यथार्थमा त्यो त सिमेटरी वा समाधिस्थल रहेछ– ठाडो भाषामा भन्ने हो भने चिहान । राजधानिभित्रको त्यो भव्य र फराकिलो समाधिस्थलभित्र पार्कहरुमा जस्तै भित्र भित्रै घुम्ने बाटाहरु त थिए नै, एकातिरबाट पसेर शहरकै अर्को पाटोमा निस्किन पनि सकिन्थ्यो ।

त्यसलाई छिचोलेर शहरको अर्कोतिर पुग्ने त्यो बाटो सुसुमुले पहिल्यै चिनाइ दिएका थिए मलाई– कतै बजारतिर निस्किनु प¥यो वा रेल चढेर कतै जानुप¥यो भने त्यो नै छोटो बाटो हुन्छ भनेर । अनि त्यो समाधिस्थलकै बारेमा भनेका थिए– “यो उच्च ओहोदाका मान्छेहरुको समाधिस्थल हो । त्यसै भएर यो निकै महंगो छ । सामान्य परिवारले आफ्नो प्रियजनको मृत्युपछि यो ठाउँमा भू–अन्त्येष्टी गर्न असम्भव नै हुन्छ । …’’ उनको कुरा सुनेर म ट्वाल्ल परेकी थिएँ ।
मानिस मर्दा चिहान पनि किन्नु पर्ने रहेछ । त्यो पनि महंगो र सस्तो हुँदो रहेछ“ भनेर । कुरा बुझाउँदै सुसुमुले भनेका थिए – “आफू जिउँदो छँदै मानिसहरू आफ्नो चिहानका निम्ति ठाउँ किनेर राख्छन्’’ । अनि उनी आफैलाई देखाउँदै भनेका थिए– “मजस्तो मान्छे मर्ने बेलासम्म त एक हातको सस्तो जमिन पाउन पनि मुश्किल भइसक्ने छ…’’
त्यहाँभित्र पनि सबैका समाधिस्थल उस्तै थिएनन् । कसैका भव्य थिए, कसैका भने साना र अति सामान्य । ‘चिहानको बाटो’भन्दा मनमा अलि असहजजस्तो पनि लागेको थियो । तर सुसुमुलगायत जापानीहरू निर्धक्क भएर हिँडिरहेको देखेर मभित्रको त्यो असहजता पनि हराउँदै गयो ।
चिहानलाई नै बाटो बनाएर जीवनमा पहिलो चोटी हिँडेको थिएँ होला । झन् शहरको बीचमा भएको त्यस्तो सुन्दर र ठूलो ‘समाधिस्थल’को बाटो त हिँड्ने कुरै भएन । बिस्तारै बिस्तारै बानी पनि प¥यो एक्लै हिंड्न पनि । दिउँसो त अरु मान्छे पनि हिंडेको देखिरहेकै थिएँ । म भने बानी पर्दै गएपछि साँझपख पनि हिँडेँ ।
एकपल्ट जहाजमा भेटिएका दुईजना नयाँ जापानी साथीसँग नजिकैको ओभर हेड पुलमा भेट्ने भनेर बेलुकी आठबजेको समय मिलाएको थियो । टोक्योमा राती हिंड्नु सुरक्षित नै थियो । साथीहरुसँग भेट्न बेलुकीको समय मिलाउनु पनि ठूलो शहरमा केही अनौठो कुरा भएन । दिनभरी त सबै आ–आफ्नो काममै जोतिएका हुन्छन्– बल्ल बल्ल समय मिलाएर साथीलाई भेट्ने भनेको त प्रायः बेलुकी नै हुन्थ्यो ।
अहिलेजस्तो मोबाइल फोन थिएन, तर जापानीहरू समयको ज्यादै ख्याल राख्थे । म अलि छिटो पुगेछु । एक्लै भएँ । कुर्ता सुरुवाल लगाएकोले विदेशी भनेर ठ्याक्कै चिनिने । बाङ्लादेशका दुईजना केटाहरूले मलाई आफ्नै देशको ठानेछन् कि ? आफै कुरा गर्न आए । म नेपाली हुँ भनें ।
मलाई कामको खाँचो पो छ कि भनेर सोधे । सहयोग गर्ने हार्दिकता पनि देखाए । मैले साथीलाई कुरेको कुरा सुनाएँ र म जापानमा काम गर्न भनेर आएको होइन, साथीहरुको पाहुना हुँ भनेर बुझाएँ ।
अझै पनि “केही अप्ठ्यारो परे हामीलाई फोन गर्नु है !’’ भनेर फोन नम्बर दिए । हार्दिकता कमाउन आफूले कुनै मद्दत गर्नु पनि जरुरी नहुँदो रहेछ भन्ने लाग्यो । धेरै चिनजानको आवश्यता पनि नपर्ने रहेछ ।
पछि ठिक समयमा एकजना नयाँ जापानी साथी पुगिन् । नाम भने बिर्सेछु अहिले । “कतै रेष्टुराँमा जाउँ कि यहिँ बसेर कुरा गरौं ?’’ भनेर सोधिन् । मलाई त भोक लागेको छैन, खाएरै आएको भनेँ । उनले आफूले पनि खाएरै आएको कुरा गरेपछि त्यहीँ पेटीमा बसेर कुरा गर्न थाल्यौँ ।
उनी नेपाल भनेपछि हुरुक्कै हुने केटी भएकोले नेपालको बारेमा धेरै सोधिन्ँ । मैले एउटा मेरो लेख पनि लगेकी थिएँ– जापानी भाषामा अनुवाद भएको । कुरा गर्दागर्दै समय गएको चालै पाइएन । १० बजिसकेको रहेछ । मैले नै कुराको बिट मार्दै साथीको घरमा पुग्नु छ ढिलो होला भनेँ र अर्कोपल्ट नेपालमा या जापानमा भेट्ने कुरा गर्दै बिदा भएँ । उनले पनि पुरा ठेगाना दिएकी थिइन् । मौका मिले जापानमै फेरि भेट्न चाहेकी पनि थिइन् । तर मेरो समय नै थिएन, कोबे जाने बेला आइसकेको थियो ।
फर्किँदा फेरि त्यही चिहानको बाटो छिचोल्नु थियो । घडीमा साढे दश नै भइसकेको थियो । एक्लै छु ! अर्को बाटो थाहा थिएन मलाई । अप्रिल महिनाको मध्य थियो । साकुराका फूल अझै बाँकी थिए । कति त झरेर बाटोभरि फूलैफूल ओछ्याएको जस्तो भएको थियो । चिहानभित्र पनि, बाहिरपनि टन्नै साकुरा फुलेको थियो । दिउँसो त साकुरा हेर्दै हिँडदा चिहानको बाटो हिंडिरहे जस्तो पनि नलाग्ने, तर यतिबेला भने चिहानमा एक्लै हिंडिरहँदा कतै चिहानबाट कसैले ‘हेलो’ भन्न आउने त होइन भनेजस्तो पनि लाग्यो । ‘अन्धविश्वास हो यो सब’ भन्दै आएपनि बच्चादेखि समाजले रोपिदिएको डर कति बलियो हुँदो रहेछ !
फटाफट हिंडिरहँदा म फूलैफूलमा टेकेर हिंडिरहेकी थिएँ । चिहान भएपनि अँध्यारो थिएन जताततै उज्यालो थियो । बाटोभरी साकुरा । तर यतिबेलाको मेरो मनस्थिति भने फरक थियो– केही अघि फुलेका साकुरा देख्दा जस्तो प्रसन्नता थिएन ।
“साकुरा फुलेको बेला जापान आएकी भाग्यमानी पाहुना’’ को मनस्थितिमा थिइन । मृत शरीर वा तिनका खरानी गाडीएको समाधिस्थलमा साकुरा बोटबाट एकएक गर्दै झरेका साकुरामाका फूलमा टेक्दै हिँड्दा मन भारी भइरहेको थियो । अनित्यताबोध जस्तो पनि भइरहेको थियो ।
चिहानको बाटो, झरेका फूल… केही पनि नित्य हुँदैन भन्ने कुरा सिकाउने ठाउँ ! कोही जस्तोसुकै पदमा पुगोस्, जति नै धन कमाओस् आखिरमा एकपल्ट त जानु नै छ ! जापान जस्तो ठाउँमा पनि खुबै भए मायाँगर्ने आफन्त रहेछन् र तिनले सक्ने रहेछन् भने गतिला चिहानसम्म बनाइदिने रहेछन् । परिचय त आखिर ढुंगामा कुँदिएका साना अक्षरमा सीमित हुन पुग्ने रहेछ ।
जमिनमुनि गाडीएका मान्छेका निर्जीव शरीर र रुखबाट चुँडिएर जमिनमाथि छरिएका फूल– दुवैले अनित्यताको पाठ सिकाइरहेका थिए । मनमा प्रश्न आयो – ‘साकुरा त अर्को साल पनि जन्मिछ, ढकमक्क भएर फुल्छ’ भन्छौँ । अनि मान्छे ? मान्छे पनि त जन्मिएका जन्मियै छन् नि ! किन उही मान्छे फर्किन्छ कि फर्किँदैन भनेर सोच्ने ? मान्छेको पनि त अघिल्लो पुस्ता पछिल्लो पुस्तामा बाँचिरहेकै हुन्छ नि !
मनमा यिनै कुरा खेल्दा खेल्दै चिहानमा राती हिँड्दाको त्यो असहजता पनि हराइसकेछ ।











