Logo
Logo

टोकियोलाई बाइबाइ गर्ने बेला


9.6k
Shares

एकमहिना भन्दाबढी समय संसारको महंगा शहरहरू मध्येकै एक टोकियोमा एकजना भाग्यमानी पाहुना भएर बिताइसकेकी थिएँ । आखिरमा छोड्ने बेला पनि आइहाल्यो । टोकियोबाट कोबे जान बुलेट ट्रेनको टिकटसमेत साथी तामायोको उपहारको रुपमा पाइसकेकी थिएँ । मैले टोकियो छोड्ने अघिल्लो दिन सुसुमुले समय खाली राखेका थिए । “तिमी फेरि टोकियो आउछौ कि आउदिनौ, थाहा छैन । आयौ नै भने पनि म पनि टोकियोमा नहुन पनि सक्छु । आज अन्तिम दिन, अरु कतै जाने इच्छा छ भने भन …’’ उनले यसोभन्दा एकछिन म निकै भावुक भएँ । यसरी वास्ता गरेर त्यो बेलासम्म कसैले सोधेको थिएन मेरो जीवनमा ।

मेरो आँखा त्यसै भरियो । म एकछिन अवाक भएँ । विस्तारै भनेँ– ‘टोकियोमा मैले साथीहरूबाट पाउनसक्ने सबै कुरा पाइसकेकी छु । अब केही इच्छा बाँकी छैन ।’’ अनि हाँस्दै भनेँ – “बरु तिमी त साथीभन्दा बढी मेरो प्रत्येक कुराको वास्ता राख्ने बा जस्तो लाग्यो । मैले मेरो बालाई चिन्न पाइनँ । तिमीलाई नै ‘बा’ भन्छु है !’’

उनी पनि गम्भिर मुद्रामा थिए मेरो मनको कुरा गरिरहँदा । उनी मभन्दा एकदुई वर्षले कान्छो नै हुनुपर्छ । तर पनि मैले उनलाई ‘बा’भन्दा मेरो कुराको केही प्रतिकृया नै नदिइ चुपचाप बसे एकछिन् । एकछिनमा बोले – “आज तिम्रो यहाँको अन्तिम दिन भएकोले मैले कामबाट छुट्टी लिएर बसेको छु । अझै डुल्न बाँकी नजिकैको ठाउँ जाउँ न त !’’

टोकियोको सबै भन्दा महंगो इलेक्ट्रोनिक्सको बजार देखाउन लगे । त्योबेला विश्वमै छिटो विकास गरिरहेको देशको बजार । हेर्ने मात्रै त हो ! किन्ने त न सोच थियो, न हैसियत । एउटा घडी पसलबाट सुनको अण्डा जस्तै लाग्ने अण्डा आकारको टेबुल घडी किनें । सुरुमा नाडी घडी किन्ने इच्छा र आवश्यकता थियो मेरो । त्यो त चिचिबुको जङ्गलबाटै उपहार पाइसकेकी थिएँ । त्यसको सट्टा एउटा सानो टेबुल घडी किनेँ । चिनोको रूपमा त्यो अझैसम्म पनि घरमा राखेकी छु– बिग्रिसकेको भएपनि ।
अनि खानलाई एउटा राम्रो रेष्टुराँमा लगे –“तिमीलाई जे मन पर्छ त्यो अर्डर गर्ने हो आज के खाने भन्, …तिमीलाई जे खाने इच्छा छ त्यही खाने हो ।’’ ‘‘मेरो निम्ति तिमीले धेरै गरिसक्यौ । मैले त यो जीवनमा तिर्न पनि सक्छु कि सक्तिनँ तिम्रो ऋण’’ मैले भनें ।

वास्तवमा उनी र उनकी साथी निशीकावाकै कारणले म पुनः लेखनमा फर्केकी पनि हुँ । उनीहरूकै कारणले लेख्न थालेपछि जापानमा मात्र नभएर कुनै कुनै लेख नेदरल्याण्डको डच भाषामा अनुवाद भएर युनिसेफको पत्रिकामा पनि छापिए, कुनै नर्वेमा ।

खाना खाउञ्जेल गम्भीर वार्तालाप नै भइरह्यो । जीवन र जगतको बारेमा । चीन, नेपाल र जापानको बारेमा । अनि नेपालमा बन्न लागेको नयाँ अस्पतालको बारेमा पनि । उनी मेरा असल सल्लाहकार र त्यहाँ बसुञ्जेलको अभिभावक पनि ।

कोबे पुग्दा को को साथीहरू कहाँ बस्ने ? त्यसको तालिका पनि मलाई सुनाए । कोबेमा पुगेपछि डाक्टर इवामुरासँग कहिले कसरी भेट्ने भन्नेसम्म समय पनि मिलाई सकेका रहेछन् । कति व्यवस्थित, अनि कति समयको ख्याल गर्ने ! म त उनीजस्तो न मिहेनती छु न व्यवस्थित ! जीवनमा जहिले जे जे आइप¥यो, त्यहीअनुसार दुःखसुख बेहोर्दै आएको मान्छे ! उनीहरूसँग तुलना गर्ने कुरा केही थिएन मसँग ।

उनीहरुसँगको मित्रता केवल मित्रता नै हो । त्यति निःस्वार्थ भएर मलाई सहयोग गरेबापत मबाट केही आशा गरेको देखिँदैन । सुसुमु त धेरै बोल्नु पर्ने गफाडी मान्छे पनि होइन । एकदम धेरै काम गर्नु पर्ने बेफुर्सदी मान्छे । तर मसँग घण्टौँ कुराकानी गरिरहँदा म आफै पनि छक्क परेँ । केटाकेटीलाई कुरा बुझाए जस्तै हरेक कुरा मलाई धैर्यका साथ बुझाइरहे ।

त्यो दिनको टोकियो घुमाई मेरो निम्ति विशेष हुने नै भयो । जापान किन धनी र विकसित देश बन्न सक्यो ? यसबारे पनि मलाई केही ज्ञान भयो । त्यो बेला चीनको विकसित शहर शाङ्हाईबाटै त्यहाँ पुगेकी थिएँ । तर चीन त्यतिबेलासम्म आजको जस्तो विकास भइसकेको थिएन । शाङ्हाईमा भर्खरै जस्तो सुरुङ मार्गको निम्ति सुरुङ खन्दै थिए । हामी चीनमा बस्दातिर नै हो विकासको निम्ति चीन जुर्मुराउँदै गरेको ।

भोलिपल्ट बिहानैको टिकट थियो कोबे जाने बुलेट ट्रेनको । बिहानै म ब्युझिएँ । भान्छाबाट भाँडाकुँडाको आवाज आइरहेको थियो । उठेर हेर्दा त मेरो निम्ति बाटोमा खानलाई खाना पकाइरहेका रहेछन् उनी । प्याकिङ त बेलुकै गरेर सुतेकी थिएँ । बिहान खास केही काम गर्नुपर्ने पनि थिएन । कफि खाएँ । उनले खानाको बक्समा खाना प्याकिङ गरेर अगाडि राखे ।

मलाई त्यो देखाएर भने– यो खाने समय भएपछि खोलेर खानु । अनि त्यो खाइसकेपछि त्यहाँ फाल्ने ठाउँ पनि हुन्छ, त्यहिँ फालिदिनु है ! त्यो खाली भाँडा बोकेर नजानु !’’ त्यसो भनीरहँदा म एकछिन् हाँसे पनि । यो कुरा त सबैलाई थाहा हुने कुरा नै हो नि ! तर उनी बच्चालाई सम्झाए जस्तै सिकाइरहेका थिए ।

उनको कुरा सुनेर म हाँस्दै ‘ओके पापा !’ भनेँ । मलाई साँच्चै नै माइती छोड्ने बेलाको बाबुको वास्ता पाए झैं भइरहेको थियो । मन पनि केही भारी भयो रुँ कि हासुँ जस्तो भएर । घर छोड्ने बेला भसकेको थियो, उनले नै मेरो सुटकेश बोकिदिए ।

हामी स्टेशन बेलैमा पुग्यौँ । त्यहाँ पुगेको एकैछिन् उभिदाउभिंदै उनी दौडेर एउटा केक पसलमा पुगे । एक प्याकेट केक हातमा लिएर दौडेर फर्किए । र मलाई हातमा राखिदिए । मैले ‘यो किन नि ?’ भनेर सोधेँ । कुरा के भएछ भने उनले त्यति सबेरै बिहानै उठेर मेरो निम्ति बाटोमा खान भनेर पकाएको भातको बट्टा त घरमै बिर्सिएको रहेछ ! हाँसो पनि उठ्यो ! “ए कहिले काहीँ त उनीहरू पनि बिर्सिँदा रहेछन्’’ जस्तो पनि लाग्यो ।

आभार व्यक्त गर्न केही भन्न खोज्दै थिएँ, घण्टी बजी हाल्यो । बुलेट ट्रेन अगाडि नै आइपुग्यो । हतार हतारमा म चढिहालेँ । बाईबाई भन्न हातै पनि राम्रोसँग हल्लाउन भ्याएको थिइन, ट्रेन त दगुरी हाल्यो ! केही समय केही सोच्नै सकिनँ । केही बेरपछि मात्र अनेक कुरा सम्झिन थालेँ । कोबे नपुगुन्जेल सम्झिरहेँ ।

प्रतिक्रिया दिनुहोस्