Logo
Logo

सिद्धान्तको मुखौटा, सत्ताको तमासा


44.7k
Shares

अहिले माओवादी आन्दोलनको पछिल्लो गतिविधि हेर्दा प्रचण्ड र प्रभाकर नामका दुई उपनाम र त्यसको अनुहार एउटै सिक्काका दुई पाटा भनेझैँ सत्ता र शक्तिको लफडामा गाँजिएर ‘क्रान्ति’ शब्दलाई रगडिरहेका छन् । यो जुहारी केवल दुई नेताको हैसियतको जुधाइ होइन, हजारौँ क्रान्तिकारी कार्यकर्ता र जनताका अधुरा सपनाको उपहास हो ।

यतिखेरको यो जुहारीलाई विश्लेषण गर्दा यसको मूल जड विचारमा नभएर पद, पैसा र शक्तिको समीकरणमा देखिन्छ । यहाँ सैद्धान्तिक बहस होइन, स्वार्थको खिचातानी प्रष्ट देखिन्छ । एकातर्फ पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्, जसको नेतृत्वमा मुलुकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ प्राप्त ग¥यो । अर्कातर्फ त्यही आन्दोलनका अर्का कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ छन्, जसले यो व्यवस्था प्राप्तिका लागि सैन्य तथा राजनीतिक फाँटमा अतुलनीय भूमिका खेलेका थिए ।

यद्यपि, अहिले सतहमै आएर यी दुई नेताबीच जुन खिचातानी देखिएको छ, त्यो शोभनीय छैन । समाजवादभन्दा बढी आफ्नो ‘उदाउँदो गुट’ र ‘भविष्यको गद्दी’ सुरक्षित गर्नेतिर लाग्नु दुवैका लागि प्रत्युत्पादक सावित हुनेछ । जब नेताहरूले आन्दोलनका एजेण्डालाई आफ्नो स्वार्थपूर्तिको वस्तु बनाउन थाल्छन्, तब पुराना कार्यकर्ताको अनुहारमा केवल झिँजो मात्र होइन, आत्मग्लानी पनि देखिन्छ ।

माओवादी आन्दोलनमा विचारले गुट जन्मायो कि गुटहरूले विचारलाई बाँध्न खोजे ? यो आजको गम्भीर प्रश्न हो । यदि यो जुहारी विचारको हो भने त्यसको बहस पार्टी, कमिटी र पद्धतिमा हुनुपथ्र्यो । सार्वजनिक मञ्च र मिडियामार्फत एकले अर्कालाई खुइल्याउनुपर्ने परिस्थिति कसरी आयो ? माओवादी नेताहरूले यसको उत्तर दिनसक्नुपर्छ ।

प्रचण्ड–प्रभाकर विवाद पनि कुनै सैद्धान्तिक उचाइको बहस होइन, यो सत्ता बाँडफाँट र सत्तालिप्साको चरम नमूना हो भन्ने प्रमाणित हुँदै गएको छ । परिवर्तन चाहने जनता र इमानदार कार्यकर्ताका लागि यो संघर्ष मुटु दुखाउने विषय बनेको छ । किनभने, उनीहरूले विगतमा माओवादी पार्टीलाई आफ्नै रगत, पसिना र सपना दिएका थिए । आज सतहमा देखिएका रमिताबाट त्यो सपना सत्ता–सौदाबाजीको बजारमा लिलामीमा परेको छर्लङ्ग हुन थालेको छ ।

हिजोको त्यो कालो रात चिरेर झुल्किएको उज्यालो आज दुविधामा परेको छ । किनभने, त्यो उज्यालोलाई एकले ‘प्रचण्ड ब्राण्ड’ बनाएका छन् भने अर्काले ‘प्रभाकर दर्शन’ भनेर साट्न खोजिरहेका छन् । उसो त माओवादीमा यस्तो रमिता भर्खरै सुरु भएको होइन । जब पार्टीले अलिक लय समाउन थाल्छ, तब नेतृत्व तहबाटै कोही न कोहीले खुट्टा उचाल्न सुरु गर्छ ।

मोहन वैद्यदेखि लिएर जनार्दन शर्मासम्म आइपुगेका उदाहरणमा ‘मरिच आफ्नै रागले चाउरियो’ भन्ने युक्ति अति सान्दर्भिक देखिन्छ । मरिचजस्तै माओवादी पनि आफ्नै दम्भ, दोहोरो चरित्र र बिर्सिएको सहादतको खण्डहरबीच चाउरिँदै गएको छ ।

मोहन वैद्यको असहमति हुँदै विप्लवको क्रान्तिसहित छुट्टिएको सपना बाबुरामको उत्तरआधुनिक उज्यालो हुँदै बालुवाटार प्रवेश ग¥यो र अब फेरि प्रचण्ड र प्रभाकरको जुहारीसम्म आइपुगेको छ । मानौँ यो पार्टी सधैँ विघटन र विवादको प्रयोगशाला हो अनि नेताहरू क्रान्तिको नाममा झगडाको इन्जिनियर । यता प्रभाकरले प्रचण्डलाई सत्तालोलुप भन्छन्, तर उनी आफैँ १० वर्षसम्म शक्तिशाली मन्त्री भएर बसे । जब उनलाई बाहिर निकालियो, उनको ‘क्रान्तिकारी चेत’ एकाएक जाग्न थाल्यो । यता प्रचण्ड सबैको नेतृत्वकर्ता हुन्, यद्यपि आज उनका वरिपरि अधिकांश भ्रमित अनुहार र चाकरी संस्कृतिमा हुर्किएका पात्रमात्रै देखिन्छन् । अचेल प्रचण्डको बोलीमा जोश त सुनिन्छ, तर व्यवहारमा गम्भीरता हराएको महसुस हुन्छ ।

पछिल्लोपटक प्रधानमन्त्री हुँदा प्रचण्ड नेतृत्वको सरकारले केही आशावादी कामहरू ग¥यो, जसले माओवादीप्रति आंशिक भए पनि जनसमर्थन बढ्न थालेको संकेत देखिन्थ्यो । लगत्तै केही महिना सञ्चालन भएको जागरण अभियानमार्फत माओवादीले विगतका तिता–मिठा अनुभवहरू जनतासामु साझा गर्ने अवसर पायो । यसबाट भुइँतहका नागरिकले माओवादीको आगामी कार्यदिशाबारे बुझ्ने र नेतृत्वमाथि प्रश्न गर्ने मौका पाए । यसले माओवादीको भविष्य केही हदसम्म उज्यालो उन्मुख देखाइरहेको थियो । तर अहिले फेरि सुरु भएको प्रचण्ड–प्रभाकर जुहारीले विगतको मेहनतलाई बालुवाको बाँधमै सीमित गर्ने खतरापूर्ण अवस्था बनाएको छ ।

प्रचण्ड हुन् वा प्रभाकर– दुवै नेताको भाषामा क्रान्तिको आगो होइन, व्यक्तिगत रिसको धुवाँ देखिन्छ । दुवैका सामुन्ने अब सिद्धान्तको बल होइन, ताली पिट्ने कार्यकर्ताको संख्यामात्रै देखिन्छ । एकले अर्काको भ्रष्टाचार देख्छन्, तर आफ्ना साटिएकाआदर्श हेर्दैनन् । एकले अर्काको गुटबन्दीलाई ‘घात’ भन्छन्, तर आफ्नो भागबण्डालाई ‘सहमति’ ठान्छन् ।

जनता भोकै, शहिदका छोराछोरी बेरोजगार, जनसेनाका टाउका खाडी जाने लाइनमा छन्, तर नेताहरूका सन्तान युरोप, अष्ट्रेलियाका सहरमा । क्रान्तिलाई शान्तिमा रुपान्तरण गरेपछि यस्तो चकित पार्ने राजनीति कहाँबाट आयो ? उतिबेला भनिन्थ्यो, आत्मालोचना माओवादी संस्कार हो । आज त्यो आत्मालोचना सार्वजनिक आरोप–प्रत्यारोपमा रूपान्तरण भएको छ । कता हरायो त्यो क्रान्तिको चेत ? कता गयो ‘समानता, समावेशीता र परिवर्तन’को आभास ? यो आरोपप्रत्यारोपको अबिर जात्राले आखिर कहाँ पु¥याउने हो ? जनताको क्रान्तिलाई व्यक्तिको ब्राण्ड बनाउने प्रवृत्तिले साँच्चिकै समाजवादको मार्ग प्रशस्त गर्ला त ?

हजारौं सहिदको बलिदानबाट भर्खरै अंकुरण हुँदै गरेका जनताका सपनाहरू टुटफुट र विभाजनको तप्केनीमा ओइलाएका छन् । जनयुद्धको विरासत सम्हाल्ने भन्दै सहर पसेका नेताहरू आफ्नै भागबण्डा बाँड्न व्यस्त छन् । कोही पटकपटक मन्त्रिपरिषद्मा सामेल भए, त कोही पीडितको सूचीमा छन् । कोही बालुवाटारका भित्तामा टाँसिएका छन्, त कोही दलालहरूको अंगालोमा । अनि यस्तो अवस्थामा यिनै माओवादीहरू फेरि एक–आपसमा चिच्याउन थालेका छन्– “तँ भन्दा साँचो माओवादी त म नै हुँ !” यत्रो वर्ष दलालहरूको भातभान्सा खाएर पनि बेलाबेला आपसमा कोपराकोपर गर्नुपर्ने यो अदृश्य जोश कहाँबाट पैदा हुन्छ, खै ?
नेताहरूका आफ्नै पीडा र बाध्यता होलान्, त्यो नागरिकले बुझ्नुपर्छ । जेल गएका दिनहरु, भूमिगतकालका रातहरु, अनि मृत्युको छायाँमा राजनीति गरेका क्षणहरू सम्झनामा छन् । तर त्योभन्दा ठूला घाउहरू जनयुद्धमा सेल्टर दिने जनतादेखि युद्धमा सामेल अनुयायीका छन् । जसले न पढ्न पाए, न गतिलोसँग खान । न सजिलै बाँच्न पाए, न खुलेर हाँस्न । बरु नेतृत्वको ‘रणनीति’को काँचुलीमा निरन्तर जलिरहे । हिजो उत्पीडित जनताले साथ दिएका नेताहरू आज शिर ठड्याउन नसक्ने गरी भ्रष्टाचारको फाइलमा नाम दर्ता गरिरहेका छन् ।

यहाँ, नेताहरूको फोटोलाई फेसबुकमा राखेर ‘हामी अझै पनि क्रान्तिकारी छौँ’ भन्नेहरू कहिले प्रचण्ड खेमा भन्छन् त कहिले प्रभाकर खेमा । भोली अर्को कसैले खुट्टा उचालेको दिन अर्कैको अबिर जात्रामा सामेल हुन यिनै अग्रपंक्तिमा हुन्छन् । अनि यिनैले मञ्च उक्लिएर ‘जनयुद्ध र जनआन्दोलनको सन्तुलन हो’ भन्दै आफूलाई सिद्धान्तका गुरु ठान्छन् । अन्ततः यस्तो चाकरीबाजको फौज माओवादीमा कहाँबाट आयो? यिनका फेसबुक वाल हेर्दा लाग्छ कतै चुरे पर्वतका डाँडाबाट क्रान्तिको हुक्का अझै सल्किरहेको छ । तर वास्तविकता भने काठमाडौंको कुनै नेताको भान्साबाट झोल खाएर ‘जनताको सपना’ टाइप गर्दै बसिरहेका हुन्छन् ।

मानसिक सुसारको सिलौटोमा चम्चागिरीको अचार पिसेर खारिएका यि तमासेबाजहरु आफू नाङ्गो भएपनि सधैँ केन्द्रमै रहन रुचाउँछन् । यिनीहरु खुमलटारको चिया पिउँदा प्रचण्डको प्रशंसामा कविता लेख्छन् भने भोलि प्रचण्डको विपक्षमा आगो सल्काएर प्रभाकरलाई सिद्धान्तनिष्ठ भन्छन् । अनि पर्सि कसैले सचिवालयमा पु¥यायो भने उनीहरुको सिद्धान्त फ्याट्टै बदलिन्छ, र यिनैको सत्तोसरापमा उत्रिएर चाकरीको ताल मिलाउन थाल्छन् ।

यी चाकरीबाजहरूले क्रान्तिको अनुहारमा मुखौटा लगाइसके । अब ती मुखौटामुनि को लुकेको छ भन्ने थाहा पाउन इमानदार कार्यकर्ता र आम जनताले ऐना हेर्ने बेला आएको छ । नेतृत्वले अब पनि नबुझ्ने हो भने, जनताले मात्र होइन, इतिहासले पनि माफ गर्नेवाला छैन ।

नेताहरूले बिर्सिए पनि भिरकाँढा चिर्दै क्रान्तिको राँको बोकेका दिनहरू जनताले भुलेका छैनन् । साँझको भोक मेटाएर बाँचेका ती क्रान्तिकारी साँझहरू, आफ्नै खुट्टा काटेर आन्दोलनमा जीवन बगाएका ती चिरपरिचित अनुहारहरूले इतिहास भुलेका छैनन् । अझै पनि सबै सकिएको छैन ।

अगेनाको अगुल्टो निभिसके पनि कोइलामा झिल्को बाँकी नै छ । तसर्थ, इतिहासको सम्मान गर्दै आफ्ना कमी–कमजोरीबारे सम्बन्धित कमिटीमै घनिभूत छलफल गरौँ । बाहिर छातीमा मुड्की बजारेर डुग्रिनुभन्दा जनवादी केन्द्रीयताको अधीनमा रही जनवादको भरपूर प्रयोग गरौँ । सत्ताको सिंहासन त अस्थायी हो, तर जनताको विश्वास स्थायी हुन्छ । त्यो जनविश्वास गुमाउने र विरोधी हँसाउने क्रियाकलाप आजैदेखि निस्तेज पारौँ ।
– लमही, दाङ (हालः साउदी अरेबिया)

प्रतिक्रिया दिनुहोस्