
काठामाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।
नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
यो नाफा गत वर्ष सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।
तथ्यांकअनुसार चार वटाको घट्दा १६ वटा बैंकको नाफा बढेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।
त्यस्तै गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।
गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।
गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
७१ अर्ब रूपैयाँ खुद नाफा कमाएको बैंकहरुले १ तिहाइभन्दा कममात्र सेयरधनीलाई लाभांश दिन सक्नेछन् ।
बैंकहरूले खुद नाफाबाट २० प्रतिशत रकम अनिवार्य रूपमा जगेडामा छुट्याउनुपर्छ, त्यसपछि क्यापिटल रिडेम्सन रिजर्भ, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारी तालीम कोषमा पनि रकम छुट्याउनुपर्छ ।
त्यसपछि बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिको आधा रकम नियामकीय जगेडामा राख्नुपर्छ । अन्य विविभ दायित्व समेत हिसाब गरेपछि बाँकी रहेको रकम लाभांशको रूपमा वितरण गर्न सक्छन् ।
तसर्थ ७१ अर्ब ४९ करोड रूपैयाँ खुद नाफा गरेतापनि बैंकहरूले २१ अर्ब ६८ करोड रुपैयाँमात्र वितरण गर्न सक्ने देखिन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी सञ्चित नाफा वा कुल वितरणयोग्य नाफा ग्लोबल आईएमई र दोस्रो धेरै एभरेष्ट बैंकको छ ।
४ बैंक भने अझै सञ्चित नोक्सानीमा छन् । सबैभन्दा बढी सञ्चित नोक्सानी हिमालयन बैंकको छ । वितरणयोग नाफाका आधारमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ ।
एभरेष्टले ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्दा सानिमा दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो स्थानमा छ । सञ्चित नोक्सानीमा रहेका बैंकले लाभांश दिन सक्दैनन् ।











