
नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैँ अग्रपङ्क्तिमा रह्यो । राणा शासनविरुद्धको विद्रोह होस्, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन होस् वा गणतन्त्रको स्थापना, हरेक मोडमा युवाहरूले आफ्ना सपना, ऊर्जा र बलिदान दिएका छन् । तर विडम्बना के छ भने, आन्दोलनको नेतृत्वमा प्रायः पुराना नेताहरू नै कायम रहिरहेका छन् । युवाले क्रान्ति जिते, तर निर्णय प्रक्रियामा पुरानै पुस्ता बसिरहे। यसरी नयाँ पुस्ता आन्दोलनमा प्रयोग हुने तर नेतृत्वमा पहुँच नपाउने चक्र निरन्तर दोहोरिँदै आएको छ ।
यो क्रमले युवाको ऊर्जा र योगदानले देशमा परिवर्तन त ल्याउँछ, तर त्यसको लाभ पुरानै पुस्ताले भोग्छ । नेतृत्वमा पुस्तान्तरण हुन नसक्दा नयाँ विचार र दृष्टिकोण संस्थागत हुन पाउँदैनन्, जसले गर्दा राजनीति स्थायित्वभन्दा बढी असन्तुलनतर्फ धकेलिन्छ । यही कारणले आजको पुस्तामा निराशा, असन्तोष र राजनीतिप्रति अविश्वास बढिरहेको छ । यस अवस्थामा राजनीतिक चेतना र युवा सहभागिताको महत्त्व अझ बढेको छ ।
नेपालको राजनीति सधैँ एउटा घुम्तीमा अड्किएको जस्तो देखिएको छ, की सधैँ गाडी चलाउने स्टेरिङ पुरानाकै हातमा छ। युवाको आवाज नारामा गुन्जिए पनि निर्णयको टेबलमा मौन छ । प्लेटोले भनेझैँ, “राजनीतिमा भाग नलिने बुद्धिजीवीहरूलाई अन्ततः मूर्खहरूले शासन गर्छन् ।” युवाको ऊर्जा केवल भीड सजाउने साधनको रूपमा प्रयोग गरेर, उनीहरूको विचार र चाहानालाई उपेक्षा गर्ने प्रवृत्तिले राजनीतिलाई जनताबाट टाढा मात्र बनाउँदै गएको छैन, भविष्यलाई समेत अँध्यारो बनाउँदै छ। जबसम्म यो संस्कृतिमा सुधार हुँदैन, तबसम्म हामीले देखेको नयाँ नेपालको सपना केवल कल्पनामा सीमित रहने छ ।
भ्रष्टाचार र कमिसन संस्कृतिले राजनीतिको स्वरूपलाई सत्ता-केन्द्रित र जनता-विरोधी बनाएको छ । सरकार बनाउने र भत्काउने खेलमा रमाउने नेताहरूलाई अरिस्टोटलले भनेका शब्द सम्झन अनुरोध छ “राजनीति भनेको सत्ता होइन, सार्वजनिक हितको व्यवस्थापन हो ।” तर नेपालमा व्यक्तिगत लाभ र समूहगत स्वार्थ नै केन्द्रमा रह्यो । ठेक्का-कमिसन, सिफारिस र पहुँचको राजनीति, अवसरवाद र अनियमितताले सुशासन र न्याय जस्ता मूल्यहरू किनारा लागेका छन् । यस्तो अवस्थामा युवाहरूमा राजनीतिप्रति निराशा बढ्नु स्वाभाविक हो। यही कारणले देशमा भविष्य छैन भन्ने धारणा बोकेर, ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेका छन्, ।
तर दर्शनशास्त्रीहरूले भनेझैँ, “मानिस राजनीतिक प्राणी ((zoon politikon) हो,” त्यसैले युवाले राजनीतिबाट भागेर होइन, सुधारका लागि भित्रैबाट हस्तक्षेप गरेर मात्र यो स्खलनलाई अन्त्य गर्न सक्छन् भन्नेकुरा बुझेर आत्मसात गर्न आवश्यक छ ।
तर,यतिमात्रै निराशाको कथा होइन । नयाँ पुस्ता नै परिवर्तनको आशा हो भन्ने विश्वासलाई व्यवहारमा उतार्न, युवाले आफ्नै दृष्टिकोण र चाहनाअनुसार सक्रिय हुनुपर्छ । उनीहरू केवल आलोचक वा दर्शक भएर बस्ने होइन, सचेत र सूचित मतदाता भएर चुनावी संस्कृतिलाई बदल्नुपर्ने आवश्यकता छ। अहिले पनि धेरैजसो मत पार्टीको निष्ठा, जातीय भावना वा क्षणिक लोकप्रियतामा आधारित देखिएको छ। तर यदि युवाले उम्मेदवारको कार्यशैली, अघिल्लो कामको परिणाम र भविष्यप्रतिको योजनालाई आधार बनाएर भोट दिन थाले भने राजनीतिक नेतृत्व छनोट गर्ने तरिका नै रूपान्तरण हुनेछ ।
सामाजिक सञ्जाल र डिजिटल प्रविधि आजका युवाका बलिया उपकरण हुन् । सूचना छिटो फैलिन्छ, तर गलत प्रचार र भ्रामक समाचार पनि त्यत्तिकै सजिलै फैलिन्छ। युवाले यसलाई चिर्ने, तथ्यमा आधारित बहस गर्ने र अरूलाई सचेत बनाउने जिम्मेवारी लिनुपर्छ । केवल आलोचना होइन, पारदर्शिता र तथ्यलाई आधार बनाएर युवाहरूले राजनीतिक चेतना फैलाउन सक्छन्।
आजको पुस्ता शिक्षित, प्रविधिमा निपुण र विश्वसन्दर्भ बुझ्ने स्तरमा पुगेको छ। उनीहरू केवल भाषण होइन, ठोस कार्यान्वयन देख्न चाहन्छन्स वाचा होइन, परिणाममा विश्वास गर्छन् । सचेत मतदाता बन्ने भनेको केवल चुनावमा भोट हाल्ने क्षणसम्म सीमित हुने भन्ने होइन, यो त सम्पूर्ण राजनीतिक प्रक्रियामा निरन्तर निगरानी र मूल्याङ्कन गर्ने अभ्यासमा परिणत गर्नुपर्ने हुन्छ । त्यसपछि युवाको सहभागिताले राजनीति केवल पुराना नेताको सम्पत्ति नभएर, नयाँ पुस्ताको भविष्य निर्माण गर्ने साधन बन्न सक्छ ।
दोस्रो मार्ग भनेको दलभित्र प्रवेश गरेर सुधार गर्नु हो । धेरै युवाहरू दललाई आलोचना गर्छन् तर प्रवेश गर्न हिचकिचाउँछन् । वास्तविक सुधार भने बाहिरबाट चिच्याएर होइन, भित्रबाट दबाब सिर्जना गरेर मात्र सम्भव हुन्छ । प्लेटोले भनेझैँ, “राजनीतिको उद्देश्य न्यायलाई व्यवहारमा उतार्नु हो ।” फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले ३४ वर्षमै नेतृत्व ग्रहण गरेर आफ्नो दलभित्रै मार्ग प्रशस्त गरे जस्तै युरोप र एसियाका देशहरूले पनि देखाएका छन्, अब नेपालमा पनि युवाहरु पार्टीमा सङ्गठित भै सदस्यता लिएर, स्थानीय तहदेखि सक्रिय भएर नेतृत्वको पुस्तान्तरण गर्न लाग्नु पर्छ ।
युवा केवल उत्साही मात्र भएर पुग्दैन, रणनीति र कार्य योजनासँगै अघि बढ्नु आवश्यक छ। पार्टीका महाधिवेशनमा खुला प्रतिस्पर्धा, निर्णय प्रक्रियामा पारदर्शिता र उम्मेदवार छनोटमा युवा सहभागिता सुनिश्चित गर्न सक्रियता साथ लाग्नु पर्छ । यस सन्दर्भमा महात्मा गान्धि भनेका थिए “संसारमा देख्न चाहेको परिवर्तन आफैँ बन्नुपर्छ।”
प्रविधि र पारदर्शिता युवा नेतृत्वका बलिया हतियार हुन । कम्प्युटर, मोबाइल र डिजिटल प्लेटफर्ममार्फत सरकारी खर्च ट्रयाक गर्न, बजेट निगरानी गर्न, नीति कार्यान्वयनमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न सकिन्छ। यसले केवल भ्रष्टाचार उजागर गर्ने होइन, पुराना नेताहरूलाई जबाफदेही पनि बनाउँछ।
युवाले केवल आलोचना मात्र होइन, व्यावहारिक समाधान प्रस्तुत गर्न सक्नुपर्छ । शिक्षा सुधार, रोजगारी सिर्जना, कृषि र पर्यटनमा स्पष्ट योजना र नयाँ दृष्टिकोण आवश्यक छ । फिनल्याण्ड, सिंगापुर र दक्षिण कोरियाका उदाहरणहरूले देखाउँछन् कि प्रविधि र नवाचारमा जोड दिने नीतिले मात्र दीर्घकालीन सुधार ल्याउँछ । नेपालमा पनि युवा नेतृत्वले कृषि उद्योगलाई आधुनिक प्रविधिसँग जोड्ने, स्टार्टअपमार्फत रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पर्यटनमार्फत स्थानीय विकास सम्भव बनाउँछ।
युवाको एकता अत्यन्त महत्त्वपूर्ण छ । जातीय, क्षेत्रीय वा पार्टीगत भेदभावको सट्टा शिक्षा, रोजगारी, सुशासन र वातावरण संरक्षणजस्ता साझा मुद्दामा सबै युवा एकजुट हुनुपर्छ । २०११ को अरब वसन्त आन्दोलनमा मिस्र र टुनिशियामा युवाको साझा एकता र डिजिटल सङ्गठनले पुराना संरचनालाई चुनौती दिएको उदाहरणले पनि यही कुरा प्रमाणित गर्छ ।
तर चुनौती पनि धेरै छन् । विदेश पलायन, रोजगारी अभाव, भौगोलिक र वैचारिक विभाजनले युवाको सक्रियतामा बाधा पुर्याउँछ। दक्षिण कोरियामा १९८०–९० को दशकमा युवाले सामना गरेका चुनौतीहरू आजको नेपालसँग तुलना गर्न सकिन्छ। तर, नेपालमै सम्भावना रहेको विश्वास र साझा दृष्टिकोणले मात्र मानसिकता परिवर्तन गरेर यी बाधा पार गर्न सकिन्छ।
नेपालको राजनीति अहिले सङ्कटमा छ। पुरानो पुस्ताले नेतृत्व छाड्न तयार छैन, भ्रष्टाचारले जरा गाडेको छ, र जनताको दलहरू प्रति विश्वास हराउँदै छ। तर पनि परिवर्तन असम्भव छैन। प्रत्येक पुस्ताले आफ्नो समयमा अवसर पाएको जस्तै, आजको अवसर नयाँ पुस्ताको हातमा छ। युवा सचेत मतदाता, आन्तरिक सुधारकर्ता र वैकल्पिक नेतृत्वकर्ता बन्न सके, तिनीहरूले केवल आलोचक मात्र नभै वास्तविक सुधार ल्याउन सक्छन् ।
नेपालमा हरेक आन्दोलनमा युवाहरू अग्रपङ्क्तिमा थिए, र आज पनि उनीहरू अग्रभागमा छन् । तर प्रश्न यही छ-के उनीहरू केवल सडकमा नाराबाजी गर्ने, वा सत्ताको संरचनाभित्र प्रवेश गरेर वास्तविक परिवर्तन ल्याउने ? जर्मनीका उदाहरणमा एन्जेला मर्केलले देखाएझैँ, संरचनाभित्र सक्रिय भएर दीर्घकालीन सुधार मात्र सम्भव छ ?
यदि नयाँ पुस्ताले साहस, अनुशासन, दीर्घ दृष्टिकोण र साझा जिम्मेवारी देखाउँछन् भने, नेपालको राजनीति निश्चित रूपमा बदल्न सकिन्छ। युवाले देखाएको ऊर्जा, नवीनता र समर्पणले पुरानो संरचनालाई चुनौती दिन सक्छ र नयाँ नेतृत्वलाई जन्म दिन सक्छ । यसरी, नेपाली युवाले राष्ट्रिय नेतृत्वका साथसाथै अन्तर्राष्ट्रिय सन्दर्भमा पनि प्रभावकारी उदाहरण प्रस्तुत गर्न सक्छ ।
नेतृत्वको यो पुस्तान्तरण केवल आवश्यकता मात्र होइन, जिम्मेवारी पनि हो । हामी सबै अग्रज नेताहरूको योगदानको सम्मान गर्छौँ-राणा शासनविरुद्धको सङ्घर्षदेखि गणतन्त्रको स्थापनासम्म, उहाँहरूको अनुभव र बलिदानले नेपाललाई यहाँसम्म ल्याएको हो । तर, अब जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ । यो युवा पुस्ताले इतिहास र वर्तमानबाट सिकेर, साहस, अनुशासन र दीर्घ दृष्टिकोणसहित अघि बढे, निश्चय नै नेपालको राजनीति नयाँ युगमा प्रवेश गर्नेछ ।











