Logo
Logo

तीज पर्वलाई अवसर, सचेतना र संगठनको माध्यम बनाउनुपर्छ : पम्फा भुसाल


0
Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीज पर्वलाई विकृत बनाएको आरोप लगाइन्।

उनले भनिन्– “नाफा कमाउने उद्देश्यले लामो समयसम्म व्यापार चलाउने, भड्किलोपन र तडकभडकलाई प्रोत्साहन गर्ने, मौलिक संस्कृतिलाई ओझेल पार्ने प्रवृत्ति बढ्दै गएको छ, जुन चिन्ताजनक हो।”

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरिएको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा मनाउनुभन्दा अवसर, सशक्तीकरण र सकारात्मक परिवर्तनका लागि मनाउनुपर्नेमा जोड दिइन् ।

तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्य मान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने विचार प्रस्तुत गरे ।

कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजमा सामाजिक मूल्य, मान्यतालाई आत्मसात् गर्दै सकारात्मक सन्देश दिने गरी मनाउनुपर्ने बताइन् । आगामी दिनमा पनि विभाग महिला उत्थानका लागि सक्रिय रहने उनको विश्वास छ ।




प्रतिक्रिया दिनुहोस्