Logo
Logo

जीवनभरि मिठास भर्ने स्मृति


सविना राउत

5.9k
Shares

प्रायः हरेक मानवहृदयको अन्तरतममा बाल्यकाल नै सबैभन्दा प्रिय लाग्छ । त्यो उमेर न कुनै चिन्ता हुन्छ, न कुनै भय । जीवनको पहिलो उज्यालो बिहानझैँ बाल्यकाल पनि मनमा नित्यप्रकाश फैलाइरहन्छ । त्यसैले त्यो क्षण स्मृतिको फूलबारी भएर जीवनका हरेक मोडमा सुगन्ध घोलिरहन्छ ।

हुन त बालापन आफैँमा एउटा अनुपम ग्रन्थजस्तै हो । जसका पानामा अनगिन्ती कथा कोरिएका हुन्छन् । तीमध्ये कतिपय मीठा स्मृतिहरू बारम्बार मनको कागजमा पल्टिरहन्छन् । फेरि कतिपय तीतासहितका संघर्ष र अभावका पानाहरू पनि भेटिन्छन् । तर बालापनलाई सम्झिँदा चाडपर्वका उल्लास र उमंग भने सधैँ असीम र अविस्मरणीय लाग्छन् ।

विशेषतः तीजको सम्झना आउँदा मनमा सबैभन्दा पहिले नाचको झझल्को आउँछ । बाल्यकालको तीज अझै पनि मुटुमा मीठो तरङ्ग बग्छ । तीजको मर्म थाहा थिएन । केवल प्रतीक्षा मात्र थियो– कहिले तीज आउँछ र कहिले हातभरि चुरा झनक्याउँदै छमछम नाच्ने मौका मिल्छ । त्यो उत्सुकता नै जीवनको अनुपम रङ्ग जस्तो लाग्छ । तीज आउन महिनौँ अघिदेखि साथीसंगीहरूसँग नाच्ने योजना बनाउथ्यौँ । त्यो उत्साह, त्यो आतुरता आज सम्झँदा झन् जीवनको सबैभन्दा रङ्गिन क्षणजस्तो लाग्छ ।

कोटेश्वरका साँघुरा गल्लीहरूमा हाम्रो हाँसो र रमाइलो मिसिँदा तीजपर्वले नगरकै रूप लिन्थ्यो । बिहानदेखि बेलुकासम्म जहाँ गीत गुन्जन्थ्यो, त्यतै खुट्टा दगुर्थे । भीडभाड र धुलोले भरिएका गल्लीहरू पनि हाम्रो उमंगले उत्सवकै रंग ओढ्थे । तर असली रौनक त डेराको कौसीमा हुन्थ्यो । त्यही ठाउँ जहाँ हामीले पहिलो पटक कम्मर मर्काउन सिक्यौँ, सबैकी प्यारी साथी ‘पुन्डे’ हाम्रो गुरु थिइन् ।

जुमल्याहा घर, जुमल्याहै कौशी । त्यासैलाइ स्टेज बनाउथ्याँै । बर्खामासमा पानी नदर्कने कुरै भएन । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भनेझैँ हामीलाई रोक्ने सक्ने तागत पानीसँग थिएन । जब पानी दर्कन्थ्यिो स्टेज परिवर्तन हुन्थ्यो । कौशीबाट तल झर्ने बितिकै ‘प्यासेज’ थियो । त्यसैलाई बनाउँथ्यौँ स्टेज । जता नाचेपनि हाम्रै राज हुने !

सुरु सुरुमा ‘तीजको रहर आयो बरी लै’मा खुब कम्मर मर्कायौँ । वर्षैपच्छे अनगिन्ती निस्कन्थे तीज गीत । ती सबै गीतमा कम्मर मर्काउन छाडेनौँ । ‘पोइला जान पाम्’देखि ‘चरी जेलैमा’सम्मै नाचियो । छोरी नाचेको देखेर क्यासेटमा विभिन्न गीतहरू भरेर ल्याइदिनु हुन्थ्यो ड्याडीले । त्यसपछि त खुसीको सीमा नै रहँदैन थियो । खुसीको पर्यायवाची नै नाच्नु जस्तो लाग्थ्यो !

तर समय परिवर्तनशील छ, यो शाश्वत सत्य हो । आज पनि नाच्ने मन, उमंग र ऊर्जा उस्तै छन् । तर, काँधमा जिम्मेवारी र बाध्यता थपिएका छन् । सानामा अरूले किनिदिएको लुगा र चुराले मन फुरुङ्ग हुन्थ्यो । आज आफूले अरूलाई किनिदिएर उनीहरूको मन फुरुङ्ग बनाउनुपर्ने बेला आएको छ । गीत घन्के पनि नाच्न कुद्न पाइँदैन, बरु जिम्मेवारी सम्हाल्न हिँड्नुपर्ने बाध्यता हुन्छ ।

अहिले त तीज पनि अलिनो तरकारी जस्तै भएको छ । तीजको खास मर्म हराउँदै गएको छ । गाउँघरको चौरमा सामूहिक गीत गाउने परम्परा हराउँदै गयो, साउन्ड सिस्टम र आधुनिक तालले त्यो ठाउँ ओगट्यो । आजभोलि तीज आउनु महिना दिनअघिदेखि नै “दर प्रोग्राम” सुरु हुन्छ, जहाँ दरभन्दा बढी दारु चल्छ । कपडाको भव्यता, गहनाको चमक र सामाजिक हैसियत देखाउने प्रतिस्पर्धा हुन्छ । सामाजिक सञ्जालले यसलाई अझै बढाएको छ । फोटो, भिडियो, गहना, सजावट, सबै पोस्ट हुन्छन् । आत्मीयता हराउँछ, प्रदर्शन मात्र बाँकी रहन्छ ।

तर सत्य यो पनि हो, हामी सबै यसै बदलिँदो प्रवृत्तिमा सामेल छौँ । यद्यपि मनको गहिराइमा पुरानो तीज खोज्दा त्यस्तो आत्मीयता भेटिँदैन । बाहिरी चमकमा रमाउँदा भित्र कतै खालीपन महसुस हुन्छ ।

परम्परा बदलिन्छन्, शैली फेरिन्छन्, तर चाडपर्व भने जीवनलाई अर्थ दिने आधार नै हुन्छन् । त्यो भेटघाट, त्यो सामूहिक उल्लास, त्यो साझेदारी नै जीवन जिउने ऊर्जा हो । मेरो लागि तीज केवल पर्व होइन, जिन्दगीकै सुनौलो अध्याय हो ।

साथीहरूको साथ, बाबाको मायाले भरिएका गीतका क्यासेट, अनि बाल्यकालको कौसीमा नाचिएको त्यो उत्साह सबै मेरो जीवनको अमूल्य चित्रपट हुन् । समय बदलिन्छ, तर हृदयमा बस्ने ती क्षणहरू कहिल्यै पुराना हुँदैनन् ।

आज सम्झँदा लाग्छ– तीज त्यो बेला केवल पर्व मात्र थिएन, त्यो उमेरको उमंग थियो, मित्रताको धागो थियो, चुराले झनक्याएको स्मृति थियो । त्यो समय फेरि फर्केर आउँदैन, तर सम्झनामा भने सधैँ ताजा रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्