राजनीतिक बजारमा दुईवटा प्रश्नहरु अनुत्तरित छन् । आयाम र आयतनले राजनीतिक समाजको मथिंगल प्रभावित गरिरहेका ति प्रश्न हुन्, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओली र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच असमझदारी हुँदै आन्तरिक द्वन्द्वसम्मका जरा कारणहरु के हुन् ? र, अर्को किन ओली (भण्डारीको पार्टी सदस्यता खारेजी पछि) पनि उनीप्रति टक्सिक इम्प्याथि अर्थात विषयुक्त सहानुभुति देखाइरहेका छन् ?

पहिलो प्रश्नमा गम्भीरतापुर्वक सोच्दा सतह मुनि पुरिएका सत्यहरुको केही संकेत पाउन सकिन्छ । के, कहाँ, कहिले वा कसरी भन्न सजिलो हुन्छ तर किन ? भन्ने प्रश्नको उत्तर खोज्न दार्शनिक, मनोवैज्ञानिक वा वैज्ञानिक पक्षहरुको परीक्षण र विश्लेषण आवश्यक पर्छ । ओली-विद्या द्वन्द्व नेपाली राजनीतिको एक चाखलाग्दो पहेली पनि हो । जसका भित्री कारणहरु खोज्न राजनीतिक-सामाजिक विश्लेषणका अतिरिक्त मनोवैज्ञानिक पत्रहरु पनि केलाउनुपर्ने हुन्छ । यहाँ प्राध्यापक डोरविन कार्टराइटको भनाइ कोट गर्नु सान्दर्भिक छ । उनले भनेका छन्, राजनीति सामाजिक अनुवांशिक संकटहरुको अनुभव हो ।
एमाले आफ्नै राजनीतिक आनुवांसिक संकटहरुको नतिजा व्यहोर्दैव्यहोर्दै ओलीराजमा आइपुगेको हो । यस विन्दुमा आइपुगेपछि उसले राजनीतिलाई सामुहिक गतिशिलताको नतिजा नमानेर ओलीको आफ्नै गतिशिलतासँग राजनीतिक वा सामाजिक गतिशिलताले पदचाप मिलाउनुपर्छ भन्ने एकांकी आग्रह स्थापना गर्न खोजिरहेको छ ।
राजनीतिक दलहरुले प्राप्त गर्ने सामाजिक शक्तिहरुका सबै आधारहरुलाई तिरस्कार गर्ने एमालेको राजनीतिक प्रयोगले कार्टराइटको अर्को भनाइ पुष्टि गर्छ । उनले भनेका थिए, समुहको नेता मनोवैज्ञानिकरुपमा सामुहिक प्रभावकारिता उपेक्षा गर्छ भने उसले या त नेतृत्व गर्न सक्दैन या त उसको समुहको गतिशिलता नै ठप्प हुन्छ । नेतृत्व त ओलीले अवस्य गर्छन्, तर समुहको गतिशिलता शिथिल हुनु स्वयमसिद्ध छ ।
ओली-भण्डारी द्वन्द्व सतहमा हेर्दा र त्यसका भित्री आयामहरु बुझ्ने प्रयत्न गर्दा आउने फरक निचोडहरु केलाउनुपर्छ । विद्यादेवी भण्डारीलाई एमालेले भोगिरहेका समस्याहरुले वा एमालेले प्राप्त गरेको शक्तिले आकर्षित गरेको हो ? विद्याप्रति सहानुभुतिशिल मानिसहरु भन्छन्, एमालेले भोग्न थालेका समस्या र देशमा नेतृत्वविहिनताले उहाँलाई राजनीतिमा आकर्षित गरेको हो । त्यसभित्र अन्य पक्षहरु पनि छन् जुन कमै बाहिर आइरहेका छन् ।
विद्यादेवी राष्ट्रपति कायम रहेकै समयमा ओलीले गरेका तिरस्कार वा राष्ट्रपति पदको गरिमाका सामु असुहाउँदा व्यवहार जस्तो सपथमा ‘त्यो पर्दैन भन्नु’ संसद विघटन सदर गर्न राजनीतिक दवाव दिनु र पार्टी हितका लागि संविधानका भावनाहरुविरुद्ध सिफारिश गर्नु ।
धेरै माथिल्लो पदमा पुगेपछि मानिस एक्लो पनि हुन्छ र उसलाई विलखवन्द पार्ने परिघटनाहरुका न त साँक्षी हुन्छन्, न उपयुक्त सल्लाहकार ? पदले सिर्जना गर्ने विलखवन्दको घाइते तत्कालिन राष्ट्रपति भण्डारी पनि हुनु भयो कि ? संसद विघटन सदर नगरौँ सरकारको गुनासो, गरौँ विपक्ष्ीाहरुको सम्भावित आक्रोशको विडम्वना !
सुनिएअनुसार सुवास नेम्वाङलगायत केही न्यायाधीशहरु समेतको संसद विघटन असंवैधानिक छ भन्ने सल्लाह ओलीका लागि वैयक्तिक गतिशिलता प्रतिरोधी थियो भने भण्डारीका लागि विवसतापुर्ण अवस्था । सदर नगरौँ, राष्ट्रपतिको हस्तक्षेप मानिने, गरौँ ओलीका लागि देशको अथोरिटी प्रयोग गरियो भन्ने आरोप । सदर गरिदिने, मुद्दा न्यायालय जान्छ, अन्तिम फैसला उसैले गर्छ भन्ने सोच राख्नु इमानदार निर्णय थियो । चौविस घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा सपथ गराउनु भन्ने सर्वोच्चको आदेश ओलीले राष्ट्रपतिमाथि दिने अनुचित दवाव पराजित गर्नका लागि थियो । तर यसले राष्ट्रपतिमाथि शक्तिको दुरुपयोग रोक्ने रणनीति थियो ।
राष्ट्रपतिको गरिमामय स्थानबाट न्यायालय प्रभावित गर्न सकिने अपेक्षा अपेक्षाले मुर्तरुप नपाउनु त कतै ओली-विद्या खटपटका सुत्राधार थिएनन् ?
विवादहरु इतिहासमा जन्मन्छन्, शनैशनै बालक, किशोर युवा हुँदै परिपक्व हुन्छन् । ओली–विद्या द्वन्द्वका विउहरु प्रधानमन्त्रिय पद्दतिमा सामान्य मानिने सरकार र राष्ट्रपतिविचका असमझदारिहरुको अकथ्य सत्य हुन् । भारतका राष्ट्रपति आर वेंकटारमणले राजिव गान्धीसँग उनका असहमतिहरु सन्दर्भमा पुस्तकमै खुलाएका छन् । प्रधानमन्त्री र राष्ट्रपति पदका नितान्त निजि मानकहरुका असामन्जस्यता पनि विवादका कारक हुँदा हुन् ।
वाष्प इन्जिनकालप्न विचारधारालाई आधुनिक राजनीतिको फ्रेमवर्कमा परिवर्तन गर्ने उनका पति मदन भण्डारीको बहुदलीय जनवादमाथिको स्वामित्व लिन खोज्ने ओली र उनका सहयोगीहरुको प्रवृत्ति र विस्तारै मदन भण्डारीले गरेको वैचारिक संश्लेषणलाई तिरस्कार गर्ने प्रयासले भण्डारीलाई राजनीतिको ‘फोहोर’मा प्रवेश गर्ने बाटो खोलेको हुन सक्छ ।
भ्रष्टाचारको आरोप प्रधानमन्त्रीमाथि पनि लाग्न थाल्नु एमालेको ठूलो संख्याका सदस्यहरु विकृतिपूर्ण मुद्दाहरुमा पर्नु, राजनीतिक बजारमा एमालेको तस्बिर धुमिल हुँदै जानु, प्रश्नहरुले भद्रताका घेरा नाघेर हदै अभद्र देखिनु र कुनै प्रश्नमा पनि एमाले उत्तरविहिन हुनु यस्ता केही दृष्टान्त हुन सक्छन्, जसलाई उनले आफु स्वयमलाई उद्दारक दावी गर्ने स्थान दिन्छन् ।
राजनीति पनि ग्ल्यामर (ठाँटबाँठ) नै हो । सिनेमा, गीत, संगीत वा खेलको ग्ल्यामरमा औपचारिक शाक्ति सन्निहित हुँदैन ।
राजनीतिले शक्ति उत्पादन गर्छ र शक्तिले सत्ता संचालन गर्दछ । पानीबाट विजुली निस्कन्छ, बिजुलीले मिल चलाउँछ । मिलले बस्तु उत्पादन गर्छ र बस्तु बजारमा विक्री हुन्छ त्यसबाट पैसा प्राप्त हुन्छ । राजनीति शक्ति पनि सृंखलावद्ध प्रभावदार हुन्छ । शक्ति र सामथ्र्यबाट सरकार बनाउन सकिन्छ । सरकारले राम्रो गर्न चाहे राम्रो गर्न सक्छ, नराम्रो गर्न चाहे नराम्रो गर्छ । सिनेमा र राजनीतिमा पारिवारिक विरासत लोकप्रियताको प्रारंभिक खुड्किलो हो ।
भण्डारी पारिवारिक विरासतलाई कार्यरुप दिने एक चर्चित पात्र पनि हुन् । हृदयेन्द्र शाहले खिचेको जुम्लाको भिडिओको चर्चाले पनि राजनीतिमा पारिवारिक विरासतको प्रभाव देखाउँछ । अर्को कुरा, सक्रिय राजनीतिमा आमन्त्रण गर्दै धोका दिइएको, षडयन्त्र गरिएको र जानाजानी मानमर्दन गर्न खोजिएको भण्डारीको वोध अवोधताको परिधी नाघेर बदलाको नारी मनोविज्ञानमा बदलिन पनि सक्छ भन्छन्, राजनीतिक विश्लेषकहरु ।
प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक दशादिशाको टिपन हेर्दै भनेका छन्, ‘उहाँ हार्नुहुन्छ, हारेपछि पार्टीको विरोधमा बोल्नुुहुन्छ, पार्टीको विरोध गरेपछि पार्टीले स्पष्टीकरण सोध्नुपर्छ, त्यत्रो राष्ट्रपति भइसकेको मान्छेलाई स्पष्टीकरण सोध्नु हुन्छ ? ‘हत त्यस्तो गल्ती पार्टीले गर्दैन’ त्यसकारण पार्टिमा आउनै दिनु हुँदैन । यसैलाई भनिन्छ विषयुक्त सहानुभुति !
‘च्यासलले मेरो सदस्यतामा प्रश्न उठायो’ भन्ने भण्डारीको भनाइको प्रतिक्रियामा ओलीले भनेका छन्, ‘च्यासल भनेको ठाउँको नाम हो, ठाउँले सदस्यता खान्छ ?’ हो आर्यघाट र ब्रम्हनाल पनि ठाउँ नै हुन् । आर्यघाट पु¥याइयो, ब्रम्हनालमा राखियो भन्नुको अर्थ के हुन्छ ? मान्छे नै हुन् नि, तर मान्छे झुण्डयाउनेलाई जल्लाद र मार्नेहरुलाई हत्यारा भनिन्छ । चम्वल पनि त ठाउँ नै हो । चम्बलले चरित्र र चित्रको एक मानक बनायो । के पुष्टि भइसकेको छ भने ठाउँले चरित्र चित्रण गर्छ, कि त सुनाम कमाउँछ कि बन्छ कुख्यात । च्यासललाई कस्तो बनाउने एमाले अध्यक्ष ओलीको जिम्मामा छ । यसले पनि सताएको हो कि भण्डारीलाई ?
प्रधानमन्त्री ओलीले एमालेको इतिहास, अग्रज र मालेकालिन वैचारिक मन्थनका परिघटनाहरुमाथि उपेक्षा गर्न थालेको महसुस भएपछि सायद भण्डारीको राजनीतिक वेचैनीले सक्रियता खोजेको हो । स्वभाविक छ, आफ्नै पतिको राजनीतिक कपिराइट भएको बहुदलिय जनवादलाई म नै न्याय दिन सक्छु भन्ने ठान्नु । आफ्नो उदयपछि एमाले उदय भएको र मसँगै एमाले सकिन्छ भन्ने ओली डक्ट्रिन सामाजिक गतिशिलताको नियम विरुद्ध छ । गतिशिलताको नियमले कसैलाई अघि सार्छ नै, भण्डारीलाई सार्नु स्वभाविक थियो ।
कन्स्पिरेसी थ्यौरि, अर्थात षडयन्त्र सिद्धान्तमा विश्वास गर्नेहरु एमालेभित्र देखापरेका आन्तरिक द्वन्द्व नकार्छन् र ओली–भण्डारी कुनै सम्झौताहरुका पृष्ठभुमि तयार पार्न लागिरहेको शंका गर्छन् । राजनीति हो, शंका, आरोप, प्रत्यारोप र द्वन्द्व सामान्य हुन् । शक्ति संचय हुन्छ वा मुल उद्देश्य आपूर्तिका लागि झगडा सहायक हुन्छ भने त्यसो गर्न पनि तत्पर हुन्छन् राजनीतिज्ञहरु । तर, त्यसो हो भने ओली भण्डारीमाथि गाली गरिरहने थिएनन्, विषयुक्त सहानुभूति प्रकट गरिरहने थिएनन् ।
ओली–भण्डारी द्वन्द्वको एकपक्षीय हानी ओलिलाई नै हुने हो । आन्तरिक राजनीतिको अपोजिसनमा रहेकी भण्डारीलाई अपोजिसन सानो वा ठूलो हुनु खास माने रहँदैन । पार्टीभित्र आफ्नो लवी सक्रिय रहनु उनको सफलता हो । तर, ओलीका हकमा उनको राजनीतिक सर्वस्व भण्डारीको सहयोग वा असहयोगले निर्धारण गर्नेछ ।











