Logo
Logo

क्रान्तिको खरानीबाट नयाँ युगको खोजी


2.1k
Shares

नेपालको राजनीतिक इतिहासमा थुप्रै आन्दोलन, विद्रोह र क्रान्तिहरू भएका छन् । तर, भर्खरै भएको जेनजी आन्दोलनले नेपाली समाज र राजनीतिलाई जुन ढंगले झक्झक्यायो, त्यो अघिल्ला कुनै पनि आन्दोलनसँग तुलना गर्न मिल्दैन ।

यो आन्दोलन न कुनै राजनीतिक दलको आह्वानमा थियो, न त कुनै नेताको नेतृत्वमा । न त कुनै वादको झन्डा बोकेको थियो, न कुनै शासन व्यवस्थालाई ढाल्ने उद्देश्य थियो । यो आन्दोलन पूर्णतः स्वस्फूर्त थियो । देश र जनताको पक्षमा उठेको आवाज । यो आन्दोलन नवयुवाहरूको अर्थात् जेनजी पुस्ताको थियो ।

यो आन्दोलन नयाँ पुस्ताको निराशा, युवाहरूको आक्रोश र भविष्यप्रतिको तिर्खाको समग्र विस्फोट थियो । जसलाई वर्षौँदेखि शासकहरूले बुझेर पनि बुझ पचाएका थिए, देखेर पनि अनदेखा गरेका थिए र सुनेर पनि कानमा बुँचो लगाएका थिए, ती सबैको एकमुष्ट आवाज थियो ।

आन्दोलनको बिउ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबाट रोपियो । तर यसको मुख्य उद्देश्य थियो– भ्रष्टाचार, कुशासन, सत्ता दमन, राजनीतिक अकर्मण्यता र अपारदर्शिता विरुद्धको प्रतिवाद ।

युवाहरू सडकमा ओर्लिए, शान्तिपूर्ण नारा लगाए, ब्यानर बोके तर हिंसातर्फ उन्मुख भएनन् । तर, सरकारको प्रतिक्रिया त्यो आवाज सुन्ने होइन, बन्दुकद्वारा दबाउनेतिर उन्मुख भयो । परिणामस्वरूप, पहिलो दिनमै १९ युवाले ज्यान गुमाए, सयौँ घाइते भए ।

जब सरकार जनताको आवाज सुन्नुको सट्टा दमनमा उत्रिन्छ, तब आन्दोलनको स्वरूप परिवर्तन हुन्छ । नेपालमा पनि ठीक यही भयो । दोस्रो दिन आन्दोलन उग्र रूपमा परिणत भयो । झन्डै दुई तिहाइको शक्तिशाली सरकार ढल्यो । नेताहरूको भागरेभाग भयो । उनीहरूको महल खरानी भए । त्यति मात्रै होइन संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, प्रहरी कार्यालय, स्थानीय निकाय सब ध्वस्त भए । यहासम्म कि एक सय १७ वर्षे सिंहदरबारको इतिहास मेटियो ।

आन्दोलन उत्कर्षमा पुग्दै गर्दा दृश्यहरू बर्बर, विध्वंसकारी र हृदयविदारक बन्दै गए । सहरभरि खरानीको थुप्रोले भरिए । जलेका गाडी र भग्नावशेषले राजधानी कुरूप बन्यो । सबै भताभुङ्ग लथालिङ्ग दृश्य बन्यो । मानौँ कुनै एक्सन थ्रिलर फिल्मको क्लाइमेक्सजस्तो । सबैथोक क्षतविक्षत भएको त्यो समय, वास्तवमै, कुनै दुःस्वप्नजस्तै लाग्दथ्यो ।

आन्दोलनपछि मुलुक कानुनी शून्यताको अवस्थामा पुग्यो । घर–घरमा चोरी, लुटपाट, डकैतीजस्ता घटनाहरू बढ्न थाले । देशभर सन्त्रास फैलियो । नेपाली सेना सडकमा ओर्लियो । संयमित तर निर्णायक भूमिकामार्फत सेनाले केही हदसम्म स्थायित्व फर्कायो ।

चौबीस घण्टा नबित्दै अराजकता थामियो । नागरिकले केही राहत महसुस गरे। सेनाप्रति जनताको विश्वास बढ्यो । तथापि, सेना स्थायी समाधान होइन, यो केवल अस्थायी राहत थियो, जसले राजनीतिक निष्कर्ष निकाल्न समय दियो ।

यो आन्दोलनले भौतिक संरचनामा क्षति पु¥यायो भनेर बिस्तमात गर्नुपर्ने छैन । किनकी यसले देशलाई नयाँ मोड दियो । भ्रष्ट नेता र दलहरूलाई पाठ सिकायो । राज्यको वैधानिकता, दलहरूको नैतिकता, नेतृत्वको जबाफदेहिता सबै विषयमा आम जनताले पुनर्विचार गर्न थाले ।

जेनजी आन्दोलनको प्रभावले प्रतिनिधिसभा विघटन भयो । पुराना राजनीतिक दलहरू तत्काललाई पन्छिए । अन्तरिम सरकार गठन भयो । देशले पहिलो महिला प्रधानमन्त्री पायो । जसको नेतृत्व देशकै पहिलो प्रधानन्यायाधीश सुशीला कार्कीले गरिन् । यो आफैँमा ऐतिहासिक परिवर्तन थियो ।

तर प्रश्न उठ्यो– के आन्दोलनको मूल लक्ष्य केवल प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन थियो ? आन्दोलन त सुशासन, पारदर्शिता, जबाफदेही सत्ता र भ्रष्टाचारमुक्त प्रशासनको खोजीमा थियो । त्यसैले आज पनि प्रश्न उठिरहेको छ– देश त्यो मार्गतर्फ बढिरहेको छ कि छैन ?

यो आन्दोलनले नेपाली जनताले अब नेताहरूको भाषण, घोषणा र आश्वासनमा विश्वास गर्न छाडिसके भन्ने पनि पुष्टि ग¥यो । अघिल्लो पुस्ताले जुन सहनशीलतामा राजनीति स्वीकार गरे, अहिलेको पुस्ता त्यति लाचार छैन । उनीहरू सचेत छन् । यथार्थवादी छन् । परिवर्तनको पक्षमा छन् । उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध छन् । ‘दलतन्त्र’को विरोधमा छन् । त्यसैले उनीहरूले दलको होइन, देशको झन्डा बोके ।

आजको यो अवस्था केवल आन्दोलनको परिणाम होइन, यो दसौँ वर्षको राजनीतिक ढिलासुस्ती, शक्ति केन्द्रित सोच र असफल नेतृत्वको परिणाम हो । चुनावमा दिएको वाचा सत्ता पाउँदा बिर्सने, नागरिकको आवाज दबाउने प्रवृत्तिका कारण युवाहरूमा राजनीति प्रति गहिरो वितृष्णा जन्मिएको छ । आन्दोलनले त्यस वितृष्णालाई स्वर दिएको हो ।

अहिले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ । तर, प्रतिस्पर्धामा उत्रिन तयार छन् उही पुराना दल र नेताहरू । फेरि उही भाषण, उही वाचा । यदि फेरि तिनै नेताहरू जिते भने आन्दोलनको मर्म र बलिदान सबै व्यर्थ हुनेछ । यो समय जनताको चेतनाको परीक्षा हो । परिवर्तन चाहिन्छ भने पात्र र प्रणाली दुवै नयाँ चाहिन्छ ।

अन्तरिम सरकारको अधिकार र समय सीमित छ । त्यसैले अबको मुख्य भूमिका युवाहरूको हुनेछ । यदि युवाहरूले आन्दोलनलाई निर्वाचनसम्म निरन्तरता दिँदै वैकल्पिक शक्ति निर्माण गर्न सके, मात्र परिवर्तन सम्भव हुनेछ ।

युवाहरूले अब भाषण होइन, संगठन बनाउनुपर्छ । केवल सडकमा होइन, संस्थागत रूपमा राजनीतिमा प्रवेश गर्नुपर्छ । जेनजी आन्दोलन असफल हुँदैन । तर, यसलाई दीर्घकालीन राजनीतिक अभ्यासमा रूपान्तरण गर्न सकिएन भने यो केवल इतिहासको एउटा क्षण बनिरहनेछ ।

यो आन्दोलनले संविधान संशोधनदेखि नेतृत्व परिवर्तनसम्मका मागहरू उठाएको छ । तर, अहिले संसद् नभएकाले ती माग तुरुन्त पूरा हुने सम्भावना छैन । नयाँ संसद् बनेपछि पनि कार्यान्वयनमा वर्षौँ लाग्न सक्छ । यस्तो अवस्थामा जनताको असन्तुष्टि झनै चर्किन सक्छ । त्यसैले राजनीतिक दल र नेतृत्वले ती असन्तुष्टिहरू सम्बोधन गर्ने गम्भीर प्रयास गर्नुपर्छ ।

आज केही नेताहरू सुधारका भाषण गरिरहेका छन् । तर, जनताले ती भाषणहरूमा विश्वास गरेका छैनन् । किनकि तिनले पहिले पनि यस्तै बोलेका थिए । अब सुधार व्यवहारमा देखिनुपर्छ । यदि दलभित्रका युवाहरूले असफल नेतृत्वलाई चुनौती दिने साहस देखाए मात्र यो आन्दोलनको उद्देश्य पूरा भएको मान्न सकिन्छ । नत्र आन्दोलनकाे औचित्य हुने छैन । र, जनताको भरोसा फेरि चकनाचुर हुनेछ । यदि आन्दोलनले सुरु गरेको यो अभियानलाई राजनीतिक परिणाममा रूपान्तरण गर्न सकियो भने नेपालको नयाँ युगको सुरुवातको रूपमा इतिहासमा सुनौलो अक्षरले लेखिनेछ ।

प्रतिक्रिया दिनुहोस्