
यतिबेला लक्ष्मण रायमाझीको शब्द र कृष्णभक्त राईको स्वर गुन्जिरहेछ । मन भाँच्ने, हृदय चिरचिर्याउने शब्द र स्वरः
“नमुछे आमा दहीमा टीका, नछरे जमरा ।
दैवले पर्दा उठायो आमा, आउदिनँ फर्केर…”
यो गीत सुन्दा मन भक्कानिन्छ । आँखा रसाउँछन् । ००
यतिबेला देशभर दसैँको रौनक छ ! कोही घरमा टीकाको थाल सजाउँदैछन्, जमरा हुर्किँदै छ । कतै मखमली फुलको सुवास फैलिएको छ, कतै परिवारभित्र भेटघाटको उत्साह । तर, यो रमाइलो चाडकै बीच, कतै गहिरो शून्यता छ । हरेक उत्साहका आडमा लुकेको एउटा तीतो पीडा छ– शोक र स्मृतिको ।
अहिले दैवले पर्दा उठाएको मात्र छैन, क्रूर शासकको बन्दुकले पर्दा च्यातिदिएको छ । अनाहकमै ७४ जना युवाहरूको जीवन बन्दुकको आवाजसँगै टुटेको छ । यिनै ७४ मुटुका धड्कन थामिएसँगै सयौँ आँगन सुनसान भए । ‘आमा, बाबु, फर्केर आउँछु’ भन्ने आवाज गुमेको छ । टीकाको थाल रित्तो छ । आँगनमा जमरा होइन, रगत पोखिएको छ । हाँसोभन्दा बढी टुटेका चिच्याहट सुनिन्छन् । यो दसैँ धेरैका लागि पीडा र सम्झनाको पर्व बनेको छ । ००
हुन त अहिले दसैँको रौनक पनि कम छ । प्रायः सबैको मुखबाट सुन्छु- “दसैँमा अचेल रमाइलो हुन्न, पहिलेजस्तो रहर छैन ।’ मैले पनि यही महसुस गरिरहेकी छु । बाल्यकालमा दसैँ, तिहार र हरेक चाडपर्व स्वप्न जस्तो लाग्थ्यो । नयाँ लुगा किन्नका लागि म सधैँ आतुर हुन्थेँ । दसैँमा जुठो परे पनि नयाँ लुगा किन्नै पथ्र्यो, किनकि त्यो खुसीको प्रतीक थियो । तर आज त्यो आतुरता हराइसकेको छ । नयाँ लुगाको उत्साहलाई शोकले छायामा पारेको छ ।
भन्ने गरिन्छ– स्थायी भनेकै परिवर्तन हो । तर कहिलेकाहीँ लाग्छ, परिवर्तन भन्ने कुरा केवल जीवनको साँचो पीडा लुकाउने एउटा शब्द मात्र हो । त्यो समय, त्यो उमंग, त्यो आत्मीयता सब हराए ! उमेरसँगै परिपक्वता त बढ्दो रैछ, त्योसँगै चाडपर्वप्रतिको त्यो बालसुलभ उत्साह पनि हराउँदै जाँदो रहेछ ।
बाल्यकालमा दसैँ भनेको घरभरि पसारिएको रमाइलो थियो । तर, आज आफ्नै परिवारका सदस्य बिदेसिएका छन्, केही प्रियजन सधैँका लागि यो संसार छाडेर गएका छन्, त्यो टीकाको थाल खालीजस्तो लाग्छ ! अब दसैँ वा तिहार आउँछ भन्ने खबरले हर्ष होइन, मनमा खालीपन ल्याउँछ ।
परदेशमा गएका छोराछोरी, बाबुआमा, दिदीबहिनी र दाजुभाइको यादले त्यो पर्वको रमाइलोभन्दा पीडा बढी दिन्छ । आखिर चाडपर्व भनेकै मानिससँग मिलेर मनाउने अवसर हो, जब ती मानिस नै छैनन्, तब त्यो चाडपर्वको महत्त्व पनि बिस्तारै हराउँदै जान्छ । त्यसैले लाग्छ, परिवर्तन त केवल समयको खेल हो, तर त्यो खेलमा हामीले रमाइलोका साथसाथै आफ्ना प्रिय क्षण र प्रिय मान्छे पनि गुमाउँदै गइरहेका छौँ ।
परिवारको सदस्य गुमाउँदा जीवनभर नमेटिने घाउ बस्छ । त्यो पीडा शब्दमा कहिल्यै उतार्न सकिँदैन । घरमा सधैँका लागि जुठो पर्छ, हृदयमा अमिट शोक बस्छ । तर, अहिले हामीले एक वा दुई सदस्य मात्र गुमाएका छैनौँ, एकैपटक ७४ सपनाहरू, ७४ आकांक्षाहरू, ७४ भविष्यहरू गुमाएका छौँ । त्यसैले यो शोक केवल एक परिवारको मात्र होइन, सम्पूर्ण राष्ट्रको हो । देशमै जुठो परेको छ, देशकै हृदय चिरिएको छ । टोल–टोलमा मौनता छ, घर–घरमा सन्नाटा छ । ००
गत भदौ २३ र २४ गतेको आन्दोलन कुनै साधारण विरोध थिएन । यो भ्रष्टाचार र कुशासनविरुद्धको प्रतिवाद थियो । स्वतन्त्रताको पुकार थियो । असमानता र अन्यायविरुद्ध युवा आत्माको चिच्याहट थियो । स्कुल/कलेजका ड्रेसमै युवाहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका थिए, हातमा केवल आशा र भविष्यका सपनाहरू थिए । तर, जवाफमा आयो– बन्दुकको गोली !
सामाजिक सञ्जालमा गोली लागेर ढलेका ती युवाहरूका भिडियोहरूले देशकै मुटु चिरिदियो । ती दृश्य हेरेर मन नदुखेको, आँसु नझारेको नेपाली सायदै होलान् ।
जेन-जी आन्दोलन केवल राजनीतिक प्रतिक्रिया थिएन । यो व्यवस्था होइन, अवस्थाको विरुद्धमा भएको चेतनात्मक विस्फोट थियो । यो आन्दोलन बेरोजगारी, अवसरको अभाव, असमानता र राज्यप्रतिको गहिरो अविश्वासको विस्फोट थियो ।
तर, शासकहरूको कानमा यो पीडाको आवाज पुग्न सकेन । उनीहरूको कान दम्भ र घमन्डले बन्द भएको थियो । युवाहरूले न्यायका शब्द बोले, शासकहरूले बन्दुकका आवाज सुनाए । र, दुई दिनमै ७४ जना युवाहरूले अनाहकमा ज्यान गुमाए ।
देशकै कानमा अझै गोलीको आवाज गुन्जिरहेको छ । देशकै आँखामा अझै ७४ युवाको अधुरो सपना बगिरहेको छ । तर, ती हत्याराहरूलाई अहिलेसम्म कठघरमा ल्याउने कुनै प्रक्रिया समेत अघि बढेको छैन । ती, निर्दोष युवाहरूको ज्यानको जिम्मेवारी कसले लिने ? आन्दोलनमा भएको घुसपैठबारे कहिले छानबिन गर्ने ?
आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीदको उपाधि दिइयो, राहतका घोषणा गरिए । तर, ‘शहीद’ भन्ने शब्दले आमाको रित्तो काख भर्न सक्दैन । देशमा परिवर्तन आएपनि आमा-बुबाको त्यो पीडा कहिल्यै परिवर्तन हुँदैन ।
तर, ती बलिदान व्यर्थ भएनन् । यो आन्दोलनले केही ऐतिहासिक उपलब्धिहरू दिलायो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइयो । अहंकारी ओली सरकार पतन भयो । पुरानो पुस्ताले मात्र कब्जा गरेको सत्ताको ढोका पहिलोपटक नयाँ पुस्ताका लागि खुल्यो । युवा चेतनाको बाढी राजनीतिमा पस्यो । ०००
अब, फेरि महान चाडतिरै फर्कौ, यसपटकको दसैँ देशका लागि रमाइलो होइन, शोकको घडी बन्यो । टीकाको रातो रङ रगतसँग मिसियो । त्यसले दसैँमा भोजको मिठास छैन, रमाइलो छैन, केवल मौनता छ । यो माटो अझै तातो छ, किनकि यसमा नवयुवाहरूको रगत बगेको छ ।
मन थकित छ । दसैँ अब केवल चाड होइन, देख्नै नसकिने बोझ बनेको छ । ती कलिला स्कुले भाइबहिनीको अनुहारहरू झलझली आँखामा आइरहेको छ । अधुरा सपनाहरूले झस्काइरहेको छ । ती आमाहरूको आत्म अझै रोइरहेकै छ, त्यो रोदन कानमा गुन्जिरहेको छ । जसलाई कुनै शब्दले व्याख्या गर्न सक्दैन !
एउटी आमाले छोराको लासलाई काखमा हाल्दा जे पीडा महसुस गर्छिन्, त्यो पीडा आज हामी सबैको साझा पीडा बनेको छ । जहाँ टीका थाप्ने हात आउँथे, त्यहाँ आज शोकका फूलहरू अर्पित भइरहेका छन् । जहाँ आँगनमा हाँसो गुन्जिन्थ्यो, त्यहाँ आज सुनसान छ । रित्तो बिछ्यौना, चिसो आँगन र रुँदै बलिरहेको दियो मात्र छ ।
यस्तो बेलामा दसैँ कसरी मनाउने ? जब कयौँ आमाको मुटु चिरेर आँसुका नदी बगिरहेको छ । दसैँ त जितको पर्व हो, तर आज देश शोकमा डुबेको छ । ती बाबुहरू, जसले छोरालाई बुढेसकालको सहारा देखेका थिए । तर, त्यो सहारा शमशानतिर हिँडिरहेका छन् । ती दिदीबहिनीहरू, जसले भाइ टीकाको थाल सजाएका थिए, आज त्यो थालमा फुल होइन, सम्झनाका आँसुहरू झर्दैछन् ।
त्यसैले यसपालीको दसैँ–तिहार मनाउनुको साटो, शोकलाई बाँड्नुपर्छ । ती आमाहरूका आँसु सम्हाल्नु पर्छ । सम्झाउनुपर्छ– “तिम्रा छोराहरू अमर छन् । उनीहरूको बलिदानले यो माटोलाई पवित्र बनाएको छ, र हामीलाई अझ बलियो बनाएको छ ।”
दसैँ शक्ति र सत्यको जितको प्रतीक हो । तर, आज शक्ति कमजोरमाथि अन्यायका साथ हाबी भएको छ । र, सत्य लासहरूकै भारीमुनि दबिएको छ । त्यसैले दसैँको टीका लगाउँदा सम्झौँ– यो टीका केवल रंग होइन, यो रक्तरञ्जित बलिदानको प्रतीक हो । दसैँ केवल भोज र रमाइलो होइन, यसको असली मर्म हो न्यायको विजय । जबसम्म ती युवाहरूको बलिदानलाई न्याय दिइँदैन, यसपालीको दसैँको मर्म अधुरै रहन्छ ।
यस वर्षको दसैँ हामीले मात्र मनाउने होइन, महसुस गर्ने हो– शोकमा, स्मृतिमा र गहिरो संकल्पमा । शोक, ती गुमेका अनुहारहरूको हो । स्मृति, ती बलिदान र अधुरा सपनाहरूको हो । र संकल्प, अब अन्यायविरुद्ध मौन नबस्ने हो, ती बलिदानी सपनाहरूलाई व्यर्थ नजान दिने हो । त्यो दिनको प्रतीक्षा गरौँ, जब दसैँ केवल चाडपर्व नभई प्रत्येक आमाको आँखाबाट अश्रु पुछ्ने र उनको मुहारमा हराएको मुस्कान फर्काउने आशा बोकेर आउँछ ।











