Logo
Logo

क्रस रोडमा उभिएको वाम आन्दोलन र पुनर्गठनको सवाल


प्रेमलकुमार खनाल

4.5k
Shares

नेपालका वामपन्थीहरूले सामन्तवादी राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । तर, सरकारमा गएर वाम एजेन्डा अगाडि सारेर मुलुकको आर्थिक–सामाजिक क्रान्ति गरेर उत्पादन र रोजगारी बृद्वि गर्न, देशभित्र नै रोजगारीका अवसर श्रृजना गर्न, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने दिशामा परिणाममुखी ढंगबाट भूमिका निर्वाह गर्न नसक्दा नै आज जनतामा निराशा, आक्रोस उत्पन्न भएको छ । यसबाट नेपालको वाम आन्दोलन क्रस रोडमा उभिएको छ ।

नेपालमा वामपन्थी दलहरूले सरकारमा गएर वाम एजेन्डा लागू गरेनन् । नवउदारवादी अर्थनीतिनै अवलम्बन गरे । वामपन्थीहरूले पूँजीवादी देशहरूमा पहिले नै लागू गरेका कल्याणकारी कार्यक्रम पनि लागू वा कार्यान्वयन गरेका छैनन् । संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्यलाई सर्वसुलभ र निःशुुल्क गर्ने, वैज्ञानिक भूमिसुधारमार्फत कृषिलाई रूपान्तरण गर्ने, उत्पादक सहकारीहरूको विकास गर्ने वा उत्पादन, सेवा र वितरणका क्षेत्रमा सार्वजनिक क्षेत्र सिर्जना, संरक्षण र विस्तार गर्न कुनै ठोस नीतिहरू लागू गर्नेतर्फ ध्यान दिन सकेका छैनन् । बरु, यी क्षेत्रहरूलाई स्वतन्त्र बजारको अराजक र शोषणकारी संयन्त्रमा हस्तान्तरण गरिएको छ ।

वामपन्थीहरूले सरकारमा गएर राष्ट्रियहित विपरीतका महाकाली, एमसीसी र अनेकन जलविद्युत सन्धि सम्झौता गरे वा गर्नलाई सहयोग पुर्याए । गैरनेपालीलाई सहजरूपमा नेपाली नागरिकता दिने र अंगिकृतका सन्तानलाई बंशजको नागरिकता दिने संविधान र कानुन बनाउन वामपन्थीहरू सत्ता स्वार्थमा भूमिका निर्वाह गरे । यसले गर्दा वामपन्थीहरूप्रति पनि जनताको आक्रोश बढेको छ । तसर्थ, आज वामपन्थी आन्दोलनमा नयाँ विचार, कार्यक्रमका साथ संगठन, नेतृत्व, कार्यशैली र जीवनशैलीमा पुनर्गठन गरेर जनताका सामु गएर विश्वास हासिल गर्नुपर्ने अभिभारा रहेको छ ।

पटक–पटक सत्तामा गएर नेतृत्व गरेका नेतृत्वप्रति अहिलेका युवापुस्ताको आकर्षण छैन । कुल जनसंख्याको झण्डै ३० प्रतिशत युवा वाम आन्दोलनमा संगठित छैनन् । अधिकांश युवा बेरोजगारीका कारण भौतारिँदै विदेशीएका छन् । उनीहरू स्वतन्त्र वा जेनजीका नाममा संगठित भएका छन् । यो निश्चय पनि वाम आन्दोलनका लागि चुनौतीको विषय हो ।

कतिपय वामपन्थी दलहरुले युवाहरूलाई आकर्षित गर्न निश्चित प्रतिशत तोकेर पार्टी कमिटीमा संगठीत गर्ने प्रयत्न गरेको पाइन्छ । तर नेतृत्वको केन्द्र भागमा विगत ३/४ दशक देखिन नेतृत्व गर्दै आएका नेतृत्वको नै वर्चस्व छ । यसले गर्दा पार्टीहरुका निर्णय प्रक्रियामा हिजो कै नेतृत्वको पकड यथावत् छ । यसले गर्दा परिवर्तनको छाललाई आत्मसात् गर्न नसकेको यथार्थता छर्लङ्ग छ ।
नेकपा एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले झण्डै दुई तिहाइको संख्यामा विजयी हासिल गरेका थिए । पछि पार्टी एकता भएर नेकपा वन्यो । यसबाट जनतामा ठुलो उत्साहको संचार भएको थियोे ।

तर, नेतृत्वको सर्वसत्तावादी सोच, पार्टी र सरकारलाई गैहृवामपन्थीकरण गरेपछि उत्पन्न सत्ता स्वार्थ र टकरावले गर्दा नेकपा विघटन भयो । यसरी नेतृत्वका कारणले नै एकिकृत भएको नेकपा विघटन भएको विषयमा वस्तुनिष्ठ समीक्षा गर्न न त नेतृत्व तयार भयो, नत कार्यकर्ता नै तयार भए ।

यसर्थ, नेतृत्वकै कारण छिन्न भिन्न बन्न पुगेको वाम आन्दोलनमा पुनर्गठन गर्न आवश्यक छ । समयको प्रवाहसँगै कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण अबको महत्वपूर्ण विषय बन्न पुगेको छ । वाम आन्दोलनको दीर्घकालीन सफलताको आधार भविष्यका नेतृत्वले त्यसको दिशा, सिद्धान्त र व्यवहारलाई कति प्रभावकारी ढंगले अगाडि बढाउँछ भन्नेमा निर्भर हुछ । नेतृत्व हस्तान्तरण भन्नाले आन्दोलनको शीर्ष तहमा रहेका व्यक्तिहरूबाट नयाँ नेताहरूमा जिम्मेवारीको औपचारिक हस्तान्तरण हो । यसले आन्दोलनलाई नयाँ सोंच, ऊर्जा र नयाँ रणनीति प्रदान गर्न मद्धत पुर्याउँदछ ।

यस्तै, पुस्तान्तरण भनेको पहिलो पुस्ताबाट नयाँ पुस्तामा विचार, अनुभव, र आन्दोलनको उद्देश्यको सार हस्तान्तरण गर्नु हो । यसमा राजनीतिक शिक्षादीक्षा, प्रशिक्षण, र प्रमुख जिम्मेवारी हस्तान्तरण गर्नु हो ।

तर, शीर्ष नेताहरूमा मुलुकको अग्रगति र प्रगतिका लागि योगदान गर्ने भन्दा पनि पद र सत्ता प्रतिको आशक्तिले आफ्नो पदीय हैसियत छाड्न चाहने प्रबृत्ति देखिँदैन । यसले राजनीतिमा निराशा, आक्रोस उत्पन्न भएको छ । तसर्थ, आज क्रस रोडमा उभिएको वामपन्थी आन्दोलनमा नयाँ विचार, कार्यक्रमका साथ संगठन, नेतृत्व, कार्यशैली र जीवनशैलीमा पुनर्गठन गरेर जनताका सामु गएर पुनः विश्वास हासिल गर्नु पर्ने अभिभारा रहेको छ ।

तर, वाम आन्दोलनभित्र पुनर्गठन गर्न नेतृत्व हिच्काउँछन् । किनभने, पुनर्गठन भनेको आफ्नो पदीय हैसियत नै गुम्ने भनेर उनीहरूले बुझ्ने गर्दछन् । पद नै गुम्ने वा हिजोझैँ व्यक्तिवादी ढंगबाट पार्टी संचालन गर्न पाइँदैन भन्ने त्रासले पनि नेतृत्व पुनर्गठनको एजेन्डालाई रुचाउँदैनन् । अनि नेतृत्वको वरिपरिका झुन्ड वा हिजो नेतृत्वले गुण लगाएकै कारण आफ्नो पदीय हैसियत कायम भएका नेतृत्वका कोर ग्रुपका फलोअरहरु पनि पुनर्गठनको एजेन्डालाई रुचाउँदैनन् । उनीहरू नै नेतृत्वको ‘विकल्प’ छैन भनेर नेतृत्वको प्रवक्ता बन्न पुग्दछन् । यस्तो अर्घेल्याइले आन्दोलन झन् पछाडि धकेलिन्छ ।

कम्युनिस्ट आन्दोलनभित्र पार्टीहरूमा नेतृत्व हस्तान्तरण एक महत्वपूर्ण प्रक्रिया हो, जसले पार्टीको वैचारिक निरन्तरता, आन्तरिक लोकतन्त्र र भविष्यको दिशानिर्देश निर्धारण गर्दछ । कम्युनिस्ट पार्टीहरूमा नेतृत्व हस्तान्तरणलाई ‘आन्तरिक पार्टी लोकतन्त्र’को रूपमा हेरिन्छ, जसले व्यक्तिगत सर्व सत्तावादलाई रोक्ने प्रयास गर्दछ ।

सन २०२५ को अप्रिलमा भारतको मदुराईमा सम्पन्न भारतीय कम्युनिस्ट पार्टी सीपीएमको २४औं पार्टी कंग्रेसबाट नेतृत्वमा महत्वपूर्ण हस्तान्तरण भयो । महासचिवको रूपमा एमए बेबी नयाँ बने, जबकि प्रकाश करात र ब्रिन्दा करातले राजनीतिक ब्यूरोबाट पद छोडे । यो पुस्तागत परिवर्तनको उदाहरण हो, जसले पार्टीलाई नयाँ दिशा प्रदान गर्ने रुपमा लिइएको छ ।

संगठन वा टिमलाई नयाँ विचार, रणनीति र ऊर्जा प्रदान गर्न नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । नयाँ नेताले परिवर्तित परिस्थितिमा उपयुक्त दिशा दिन सक्छ।लामो समयसम्म एउटै नेतृत्व रहिरहँदा यसले संगठनमा स्थिरता ल्याएपनि गतिशीलता ल्याउन सक्तैन । तर नेतृत्वको परिवर्तनले नयाँ अवसर र विकासको सम्भावना बढाउँदछ । नेतृत्व हस्तान्तरणले नयाँ पुस्तालाई जिम्मेवारी लिने अवसर दिन्छ, जसले संगठनको दीर्घकालीन निरन्तरता सुनिश्चित गर्छ ।

नेपालमा जनताको नयाँ पुस्ताप्रति आकर्षणको उदाहरण गत निर्वाचनमा प्रकट भएको छ । गत निर्वाचनमा युवा पुस्ताका स्वतन्त्र उम्मेदवारहरुले सुदुरपश्चिमको धनगढी, काठमाडौं, चितवन, तनहुँ, धरान नगरपालिकामा मूलधारका वामपन्थी दलहरु र लोकतान्त्रिक राजनीतिक शक्तिहरुको विकल्पमा विजयी हासिल गरे । कतिपय निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु मूलधारका विजयी उम्मेदवारहरुको निकटतम प्रतिद्वन्दी भएर देखापरे ।

यो निर्वाचनको घटनाबाट मूलधारका पार्टी र नेतृत्वप्रति एक खालको वितृष्णा बढेर मतदाताले विकल्पमा नयाँ युवा उम्मेदवारहरुलाई मतदान गरेको स्थिति छ । आश्चर्यजनक त के भयो भने विगतका कुनै पनि आन्दोलनमा देखा नपरेका, आन्दोलनमा भाग नलिएका, गाउँ, वडा र टोलमा तिनका कुनैै संगठन संरचना पनि नभएका स्वतन्त्र उम्मेदवारहरुले मूलधारका पार्टीका उम्मेदवारहरुलाई पछाडि पार्ने काम गरे । यसबाट के बुझिन्छ भने मूलधारका पार्टीहरुले आफ्नो कार्यदिशा, कार्यशैली, संगठन र नेतृत्व गर्ने शैलीमा पनि पुनर्संरचना गरेर नयाँ ढंगबाट भूमिका निर्वाह गरेनन् र जनतामा नयाँ आशावादिता जागृत गर्न सकेनन् भने आगामी निर्वाचनमा यस्तै स्वतन्त्र उम्मेदवारको संख्या झन् बढदै जान सक्ने सम्भावना देखिन्छ ।

राजतन्त्रतात्मक व्यवस्थामा राजा मरेपछि मात्रै छोरा वा भाइतिर राजाको पदवी हस्तान्तरण हुने गर्दछ । तर, राजनीतिक दलभित्र यस्तो सामन्ती तरिकाबाट पार्टी संचालन गर्न हुँदैन ।

दार्शनिक प्लेटोले राजनीतिमा सहभागी नहुँदा वा चासो नराख्दाकोे परिणामबारे यसरी बताएका छन्, ‘राजनीतिमा भाग लिन अस्वीकार गर्नेले दण्डमध्ये एक व्यहोर्नु पर्दछ । यो हो कि– तपाइँ तपाइँ भन्दा निम्नस्तरको व्यक्तिद्वारा शासित हुनु हो ।’ यसबाट पनि प्रष्ट हुन्छ । युवा पुस्ता जब राजनीतिमा सहभागी हुँदैनन् वा राजनीति प्रति चासो राख्दैनन् । तब पहिलो पुस्ता वा जसले शासन गरिरहेको छ, उसले नै निर्विकल्प रुपमा असल वा खराब ढंगबाट शासन वा नेतृत्व गरिरहेको हुन्छ ।

नयाँ पुस्ताले राजनीतिको नेतृत्व गर्न पाउँदा युवा उमेरमा नै विभिन्न देशको कार्यकारी पदको नेतृत्व गर्न सफल भएको पनि पाइन्छ ।

नेपालमा कतिपय राजनीतिक दलहरुमा विगत ३/४ दशक देखिन लगातार एकै व्यक्तिले पार्टीको नेतृत्वमा गरिरहेको जुन स्थिति छ, यसले एकातिर नेतृत्वमा रहेका व्यक्तिले शारीरिक आराम गर्न नपाउने, आफ्नो ज्ञान बुद्धिमा अपडेट भएर रुपान्तरण हुन नपाउने स्थिति हुन्छ । यसले गर्दा नेतृत्व अपडेटेट नहुने र नेतृत्व आउटडेटेट हुनु अवस्यंभावी हुन्छ । यसले गर्दा संगठनभित्र नयाँ विचारको निर्माण र नेतृत्व गर्ने विषयमा खाडल नै देखा पर्दछ । साथै पहिलो पुस्ताको नेतृत्वले नै जीवनभर राजनीतिक नेतृत्वमा रहनुपर्ने वा रहिरहने अवस्था र लालसा रहिरहन्छ ।

यस विचमा नेतृत्व केवल आफ्नो पदकै सुरक्षा गर्न, अनेक गठबन्धन गरेर प्रधानमन्त्री वा मन्त्री वा अन्य राजनीतिक पदहरुको प्राप्तिमा नै ध्यान केन्द्रीत गर्न अभ्यस्त बन्यो । तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट २०६२/०६३ को युगान्तकारी परिवर्तनबाट पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी क्रान्तिको कार्यदिशाका साथ अगाडि बढने निष्कर्ष निकालेको थियोे । तर, महाधिवेशनमा विचार प्रस्तुत गर्ने नेतृत्वको सट्टामा महाधिवेशनमा प्रस्तुत विचार तथा प्रतिवेदनप्रति नै महाअधिवेशन हलभित्रै असहमति राख्ने केपी ओली नेतृत्वमा निर्वाचित भएपछि एमालेमा समस्या उत्पन्न भयो । कम्युनिस्ट पार्टीभित्र नीति र नेतृृृत्वका बिचमा तालमेल भएन भने क्रान्ति अगाडि बढदैन ।

यस सम्बन्धमा घनश्याम भूषालको तर्क छ– व्यक्ति नै पार्टीको वा क्रान्तिको सर्वेसर्वा भएपछि त्यस्तो क्रान्तिले समाजमाथि व्यक्तिगत महात्वाकांक्षाको डरलाग्दो खेल खेल्छ । क्रान्तिलाई पथच्यूत हुन नदिनका लागि पहिलो सर्त केवल घटनामा आधारित क्रान्ति देख्ने कुराबाट पार्टीलाई मुक्त गर्नु हो ।

व्यक्ति–पूजा माक्र्सवादी विचारधाराको विपरीत छ र यसले वामपन्थी आन्दोलनलाई ठूलो नोक्सान पुयाउँछ ।
असल नेताले आफ्नो गुणगान गाउने समर्थक मात्रै होईन, आफू जस्तै नेतृत्व गर्न सक्ने नेताहरु विकास गरिरहेको हुन्छ । खासगरी पार्टीका नीति निर्माणमा समुहमा (टिम) छलफल गर्ने, आफूसँग अन्तर्निहित अधिकार आफ्ना समकालीनहरुलाई वा मातहतकाहरुलाई हस्तान्तरण गरेर आफूले अविभावकत्वको भूमिका निर्वाह गरेर उनीहरूलाई नेतृत्व गर्न सक्षम बनाएर भावी नेतृत्वका लागि ‘ग्रुमिङ’ गरिरहेका हुन्छन् ।

असल नेताले परिस्थितिमा भएको परिवर्तनसँगै क्रान्तिको बाटो वा कार्यदिशाका बारेमा स्पष्ट ज्ञान हासिल गरेको हुन्छ । र सिंगो टिमलाई बाटो देखाउने काम गर्नु पर्दछ र त्यतिमात्रै होइन असल नेताले बाटोमै पुगेर आफ्नो टिमलाई कार्यदिशाअनुरुप काममा परिचालन गर्ने सामथ्र्यता राखेको हुनुपर्छ । परिस्थितिमा आएको परिवर्तन र नेतृत्व शैलीविच तालमेल हुनुपर्छ । त्यसो भएन भने या त नेतालाई परिवर्तन गर्नु पर्दछ या त वातावरणलाई नै परिवर्तन गर्नु पर्दछ । अहिले जेनजी पुस्ताको जागरण र विद्रोह भनेको पनि नेतृत्वले सहि ढंगबाट काम गर्न नसकेको भन्ने नै हो ।

समाजवादी क्रान्तिको कार्यदिशाका साथ जनचाहनाअनुसार शासकीय प्रणालीमा सुधारसहित नयाँ नेतृत्व, सत्ता र सरकारभन्दा पनि वर्ग संघर्षको आन्दोलनको अगुवाई गर्न सक्ने, जनवादी अभ्यासको सुनिश्चिततासहितको संगठन निर्माण, सर्वहाराकृत क्रान्तिकारी र जीवनशैलीको अवलम्बन गर्ने अठोटका साथ नेतृत्वमा पनि पुनर्गठन गरिनुपर्छ । वामपन्थी आन्दोलनमा पुनर्गठन भनेको वुर्जुवा पार्टीहरुभन्दा भिन्न क्रान्तिकारी विचार, कार्यशैली र जीवनशैली अवलम्बन गर्ने पार्टी निर्माण हुनुपर्छ । सुशासनलाई वामपन्थीहरूले जीवन पद्धतिको रुपमा अनुशरण गर्नु पर्दछ । सादा जीवन उच्च विचारको आदर्श भावनाबाट निर्देशीत हुनुपर्छ । हिजो राज्य सत्तामा पुगेर भए गरेका काम कारबाहीको निर्मम समीक्षा हुनुपर्छ ।

वामपन्थी आन्दोलनभित्र नेतृत्वको पुनर्गठन भनेको विगत लामो समयदेखि नेतृत्व गरिसकेका व्यक्तिहरुले नेतृत्व हस्तान्तरण गरेर वाम आन्दोलनमा नयाँ पन र नयाँ उत्साह दिएर जनताको विश्वास पुनः आर्जन गर्नु पर्दछ । वास्तवमा नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण आन्दोलनको दीर्घकालीन स्थायित्वसँग सम्बन्धित छ । यसमा पहिलो पुस्ताकोे ज्ञान, अनुभव समयमै नयाँ पुस्तामा हस्तान्तरण हुँदा विचार, ज्ञान र अनुभवको अन्तरघुलनले आन्दोलन दीर्घकालीन ढंगबाट अगाडि बढदछ । फेरि नयाँ पुस्ता नयाँ प्रविधि, सामाजिक सम्बन्ध संघ अभिन्न रुपमा जोडिएको हुन्छ ।

यतिमात्रै होइन नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले आलोचनात्मक चेतको विकासका साथै र बैचारिक बहसलाई पनि संगसंगै अगाडि बढाउन मद्दत पुर्याउदछ । कम्युनिस्ट आन्दोलनको सफलता केवल पुराना नेताहरूको करिश्मा र संघर्षको इतिहासमा निर्भर हुँदैन । नयाँ पुस्तालाई सक्षम वैचारिक र संगठनात्मक रूपमा तयार पारेर नेतृत्व हस्तान्तरण गर्न सकियो भने मात्र आन्दोलनले समयअनुकूल रूपमा जनताको आशा सम्बोधन गर्न मद्धत पुर्याउदछ ।

जहाँसम्म पहिलो पुुस्ताकोे नेतृत्वले शान्तिपूर्ण तवरबाट दोश्रो तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि उनीहरुको स्थान कहाँ हुन्छ ? भन्ने सवाल उठदछ । यसमा पहिलो पुस्ताको नेतृत्वले स्वेच्छिक अवकाश लिएर संरक्षक बन्ने र दोश्रो, तेस्रो पुस्ताले दैनिक सांगठनिक एवंं कार्यकारी कामको नेतृत्व गर्ने र विचार दिन सक्ने अनुभवी पहिलो पुस्ताको नेतृत्वलाई भने संगठनभित्र संरक्षक रुपमा वैचारिक, प्राज्ञिक भूमिका निर्वाह गर्ने गरि काममा केन्द्रित गर्नु पर्दछ ।

अन्त्यमा, मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्नुपर्ने युगिन अभिभारा वामपन्थीहरू सामु रहेको छ । तसर्थ, नेपालको वाम आन्दोलनभित्र सबै पार्टीहरुमा विचार, संगठन, नेतृत्व, कार्यशैली र जीवनशैलीमा व्यापकताका साथ पुनर्गठन गरेर यसैको जगमा बृहत् वाम एकताको अभियानलाई अगाडि बढाउनुपर्छ ।

(लेखक नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्