काठमाडौं । जेनजी आन्दोलनले देशभरि राजनीतिक मात्र होइन, कर्पोरेट तहमा पनि ठूलो धक्का पु¥यायो । ‘भ्रष्टाचारको विरोध र सुशासनको माग’ भन्दै सडकमा उत्रिएका युवाहरूले शक्तिशाली व्यापारी घरानाहरूको जालोमाथि प्रश्न उठाए ।

नक्कली भ्याट बिल प्रकरणदेखि सहायता रकम हिनामिनासम्मका प्रकरणमा जोडिएको चौधरी ग्रुप (सीजी ग्रुप)को सतुंगलस्थित कारखानामा आगजनी भयो । आन्दोलनका क्रममा भएको यो क्षतिपछि ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले विज्ञप्ति जारी गर्दै ‘जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने’ घोषणा गरे ।
यो घोषणा भावनात्मक लागे पनि यसको ‘समय’ र ‘सन्देश’ दुवैले प्रश्न खडा गरेका छन्– के यो सहानुभूति हो वा केवल इमेज व्यवस्थापनको स्टन्ट ? सीजी ग्रुपले सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख प्रकट गर्दै ‘शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने’ भनिएको छ ।
निर्वाण चौधरीले लेखेका छन्– ‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौं । जेन–जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’
यो भनाइले भावनात्मक पक्ष त छुन सक्छ, तर सामाजिक सञ्जालदेखि कर्पोरेट विश्लेषकहरूबीच यसलाई ‘कम्पनीको इमेज बचाउने रणनीति’को रूपमा हेरिएको छ ।
चौधरी ग्रुपमाथि विगतदेखि नै प्रश्न
सीजी ग्रुप देशकै सबैभन्दा ठूला व्यावसायिक समूहहरूमध्ये एक हो । यसले खाद्य पदार्थदेखि विद्युत्, दूरसञ्चार, बैंकिङ, निर्माण, होटल, इन्धन र गृह उपकरणसम्मको क्षेत्रमा लगानी गरेको छ । यस्तो समूहबाट आउने कुनै पनि वक्तव्य केवल शब्दमा सीमित रहँदैन– त्यसको राजनीतिक, सामाजिक र आर्थिक सन्देश पनि हुन्छ ।
तर, समस्या यहीँ छ– चौधरी ग्रुपमाथि विगतदेखि नै पारदर्शिताको गम्भीर प्रश्न उठ्दै आएको छ । नक्कली भ्याट बिल प्रकरण, विदेशमा लगानी लुकाएको आरोप, बाँसबारी जग्गा विवाद, संस्थापक सेयरधनी बंगलादेशको आइएफआइसी बैंक र नबिल बैंकको सेयर विवाद र भूकम्पपछि पुननिर्माणका लागि बिल गेट्स फाउन्डेनबाट ल्याएको रकम हिनामिना भएको बारेमा समाज कल्याण परिषदले चौधरी ग्रुपसँग स्पष्टीकरण सोधेको थियो । यी सबै घटनाहरूले कम्पनीको छविमा लगातार दाग लगाएका छन् ।
त्यसैले धेरैको बुझाइमा, चौधरी ग्रुपको ‘शहीद परिवार रोजगारी योजना’ कुनै नवीन सामाजिक उत्तरदायित्व होइन– यो आन्दोलनपछि बिग्रिएको प्रतिष्ठा पुनःस्थापनाको रणनीतिक चाल हो ।
जेन–जीको मुख्य माग नै पारदर्शिता, उत्तरदायित्व र अवसरको समान पहुँच हो । उनीहरू पुरानो पुस्ताले बनाएको ‘पावर नेटवर्क’ र ‘गोप्य सम्झौताहरू’विरुद्ध सडकमा उत्रिएका हुन् ।
त्यसै सन्दर्भमा चौधरी ग्रुपजस्ता घरानामाथि उनीहरूको आक्रोश केन्द्रित भयो । ‘जेन–जी आन्दोलनले चौधरी ग्रुपमाथि आक्रमण मात्र गरेन, उसले पुरै कर्पोरेट जगत्मा ‘विश्वसनीयता संकट’ उजागर ग¥यो’, एक विज्ञ भन्छन् । उनका अनुसार, जब जनताले व्यावसायिक घरानालाई ‘राष्ट्रको ठेकेदार’भन्दा बढी ‘राष्ट्रका उत्तरदायी साझेदार’का रूपमा हेर्न छोड्छन्, त्यसबेला कर्पोरेट संसारले आफूलाई सुधार्नैपर्छ ।
चौधरी ग्रुपले विगतमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू चलाएको थियो । सिजी फाउन्डेशनमार्फत शिक्षा, स्वास्थ्य, राहत र पुनर्निर्माणका परियोजना सञ्चालन भएका छन् । तर यी कार्यक्रमहरू पनि कतिपयले ‘पब्लिसिटी–ड्रिभन’ अर्थात् ‘ब्रान्ड इमेजका लागि मात्रै गरिएको’ भनेर व्याख्या गरेका छन् । सार्वजनिक रूपमा गरिने घोषणा र त्यसको कार्यान्वयनबीचको दूरीले पनि शंका बढाउँछ ।
‘रोजगारी दिने वाचा राम्रै हो, तर के त्यहाँ योग्यता, प्रक्रिया र पारदर्शिता हुनेछ ? कि फेरि नातागोता, पावर र प्रचारकै खेल चल्नेछ ?’– यस्ता प्रश्नहरूले सीजी ग्रुपमाथि विश्वास पुनःस्थापित गर्न कठिन बनाएको छ ।
विगतका विवाद, अपारदर्शी लगानी र सत्तासँगको निकट सम्बन्धको इतिहास बोकेको ग्रुपले अब नयाँ पुस्ताको आँखामा विश्वसनीय बन्न चुनौती मोल्नुपर्नेछ । यदि चौधरी ग्रुपले यसपटक साँच्चिकै ‘कर्तव्य र श्रद्धा’लाई व्यवहारमा उता¥यो भने यो आन्दोलनले परिवर्तनको बीउ रोप्नेछ । तर, यदि यो केवल प्रचार र प्रतिष्ठा जोगाउने औजार बन्यो भने झन् नांगिने छ ।











