
काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
ओलीसँगै रमेश लेखक, गोकर्णमणि दुवाडी, हुतराज थापा र छविलाल रिजालको पासपोर्ट रोक्का र स्थान हद तोकेको विरुद्ध अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुको राहदानी रोक्का र स्थान हद तोक्ने निर्णय गरेको थियो ।
मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन् ।
उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै रिट दायर भएको छ । रिटमा उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेश माग गरिएको छ ।














