नेपाल अहिले केवल राजनीतिक संक्रमणबाट होइन, मनोवैज्ञानिक संक्रमणबाट पनि गुज्रिँदैछ । देशमा नेताहरूको बयान, मिडियाको प्रतिस्पर्धा र जनताको प्रतिक्रिया यी सबै अब सत्ता र सोचको युद्ध बनेका छन् । यो युद्ध बन्दुकले होइन, भाषण र सामाजिक सञ्जालका पोस्टले लडिँदैछ– क्रोध, गाली र भ्रमका हतियारले ।

दुई पात्र– दुर्गा प्रसाई र हर्क साङ्पाङ
अहिले यी दुईपात्र यस मनोवैज्ञानिक युद्धका मुख्य खेलाडी बनेका छन् । उनीहरूको बोली, हाउभाउ र रणनीति एउटै दिशामा केन्द्रित छ– जनतालाई सोच्न होइन, रिसाउन प्रेरित गर्ने ।
दुर्गा प्रसाई धर्म, राजा र राष्ट्रको आवरणमा व्यक्तिगत राजनीत
दुर्गा प्रसाई आफैंलाई हिन्दू राष्ट्र, राजसंस्था र राष्ट्रप्रेमको ठूला प्रवक्ता भनेर प्रस्तुत गर्छन् । तर उनको भाषणहरूमा विवेकभन्दा बढी भडकाव, र विचारभन्दा बढी उत्तेजना पाइन्छ । एकताका यो देश मारवाडि र पार्टीहरूले सके भनेर प्रचारमा आउने प्रसाईंको कुरामा विश्वास गर्ने आधारहरू मजवुद थियो । म स्वयं पनि उनको भण्डाफोरशैली हामी पत्रकारहरूको लागि पनि चुनौति लाग्थ्यो । त्यत्रो दशी प्रमाण कहाँबाट ल्याउँछ जस्तो लाग्थ्यो ।
तर, अहिले समयले कोल्टे फेरेको छ । त्यहि भष्टचारको विषयलाई मुल मुद्वा बनाएर जेन्जीहरूले आन्दोलन चलाए । ७२ घण्टामा नै सरकार परिवतेन गरि बिस्तारै भष्टचारका फाईल पल्टाउने र वेतितिका पहाडहरू पल्टाउने कोशिस हुँदैछ । तर, यति नै बेला प्रधानमन्त्री देखि जेनजी आन्दोलनका अगुवाहरूलाई अन्टसन्ट गाली गर्ने होच्याउने । तिहारपछि देशमा फेरि एकपल्ट आँधीतुफान ल्याउँछु । सवैले चामलसातु, पेट्रोल डिजेलको जोहो गर्नु भन्ने सोसियल मिडियामार्फत जनतामा धम्किपूर्ण त्रास फँैलाइरहेका छन् । यो सरासर उनको गुण्डागर्दी शैली देखिन्छ ।
राजा र धर्मजस्ता संवेदनशील विषयलाई व्यक्तिगत प्रचार र सत्ता–आकांक्षाको माध्यम बनाउनु नै उनको मूल रणनीति देखिन्छ । उनले ‘देशबचाऊ आन्दोलन’को नाममा मानिसहरूको आस्था र धार्मिक भावनालाई प्रयोग गरेर समाजमा विभाजन फैलाइरहेका छन् ।
उनका कथनहरूले धर्मको पवित्रता, राजाको मर्यादा र जनताको मानसिक सन्तुलन— तीनै कुरामा आघात पु¥याइरहेको छ । यस्ता प्रवृत्तिले दीर्घकालमा नेपालमा विवेकपूर्ण धार्मिक संवाद होइन, विभाजनको राजनीति जन्माइरहेको छ ।
हर्क साङ्पाङ : श्रम संस्कृतिबाट स्टन्ट संस्कृतितर्फ
धरानका मेयर हर्क साङ्पाङ एक समय श्रम र देशप्रेमको प्रतीक थिए । जनतासँगै काम गर्ने, बाटो बनाउने, फोहर उठाउने उनका दृश्यहरूले आशा जगाएको थियो ।
तर त्यो श्रम संस्कृतिको ठाउँमा अहिले स्टन्ट संस्कृतिले स्थान लिएको छ । अनि स्वतन्त्र नागरिकको अगुवा वाट उहीँ झोले (उनैको शब्द) मा परिणत हुन पाटिे पनि खोलेका छन् । अब उहाँको सबै श्रमदाताहरू पार्टी कार्यकर्तामा रूपान्तरण पनि भएका छन् । यदि उनले साच्चिकै निस्वार्थ भावले श्रम क्रान्ति ल्याउने अभियान चलाएको हो भने ५ बर्षसम्म जनताले दिएको प्रमुखको जिम्मेवारी ईमान्दारपुवेक निभाएको भए उनलाई अर्कोपल्ट राष्ट्रिय जनप्रतिनिधि बन्न कसैले रोक्न सक्दैन थियो ।
जेनजी आन्दोलनमा शहिदको रगत सुक्न पाएको छैन, आफुलाई प्रधानमन्त्री वनायौ भनेर रूवावासी गर्ने । सडकमा जेन्जीको नाममा आफ्ना समर्थकहरूलाई वालुवाटार अगाडि होहल्ला गर्न लगाउनुले उनी कति पदलोलुप र स्वार्थीे स्वभावका रहेछन् भन्ने कुरा संसार बुझे ।
सामाजिक सञ्जालमा दैनिक गालीगलौज, नेताहरूलाई अपमान, पत्रकार र बुद्धिजीवीमाथि व्यक्तिगत आक्रमण– यी सबैले उनको असल छवि आफैँले क्षतिग्रस्त बनाइरहेका छन् । श्रमदानका नाममा उठाइएका करोडौं रुपैयाँको पारदर्शिता उनी दिन तयार छैनन् । उनी भन्छन्– खोलाको कामको पैसा खोलामै गयो ।
त्यो बोलीमा शान्ति छैन, केवल उत्तेजना छ। उनका भाषणमा प्रेम होइन, घृणा छ । उनी जनतालाई सोच्न होइन, प्रतिक्रिया जनाउन सिकाइरहेका छन् । यही मनोवैज्ञानिक विष अहिले धरानदेखि काठमाडौंसम्म फैलिँदैछ ।
जनताको चेतना माथिको आक्रमण
दुर्गा प्रसाई र हर्क साङ्पाङ दुबै जनताको भावनामा खेलिरहेका छन् । एकले धर्म र राजाको नाममा, अर्काले श्रम र राष्ट्रवादको नाममा– दुबै जनतालाई उत्तेजनाको भीडमा बाँध्दैछन् । जब जनता रिसमा निर्णय गर्छ, विवेक मर्छ। यही नै उनीहरूको मुख्य खेल हो । जनताप्रति मनोवैज्ञानिक नियन्त्रण हो ।
विवेकशील नेतृत्व ओझेलमा
यस्तो वातावरणमा सुदन गुरुङ, सुदन किराँती, बालेन साह, रवि लामिछाने, सुमना श्रेष्ठ, तोषिमा कार्कीजस्ता नतिजामुखी र इमानदार नेताहरू ओझेलमा परिरहेका छन् । उनीहरू प्रणाली सुधार, पारदर्शिता र दीर्घकालीन समाधानमा केन्द्रित छन् । तर जनता अहिले नारा र गाली सुन्न चाहन्छन्, नीति र दृष्टिकोण होइन ।
यो नै हाम्रो चेतनाको संकट हो। जब विवेकशील नेतृत्वको आवाज सुन्ने कान हराउँछ, तब देशमा केवल राग, द्वेष र भीडको राजनीति बाँकी रहन्छ ।
अब आवश्यक छ– चेतनाको पुनर्जागरण
नेपाललाई अहिले झूटो राष्ट्रवाद होइन, सत्य र विवेकको पुनर्जागरण चाहिएको छ।राजाले पनि मौनताको पर्दा हटाई सत्य र मर्यादाको पक्षमा स्पष्ट बोल्नुपर्छ।जो धर्म, राजा वा राष्ट्रको नाममा द्वेष फैलाउँछ, ऊ साँचो देशभक्त होइन– स्वार्थी खेलाडी हो ।
नेपालको भविष्य रिसले होइन, चेतनाले बनाउँछ । हामीले रिस होइन, विवेकको राजनीति रोज्न सक्यौं भने मात्र नेपाल शान्त, समृद्ध र स्वाभिमानी बन्न सक्छ ।
बरू देश संकमणकालबाट गुज्रिरहेको घडिमा को मन्त्री बन्ने भन्दा पनि तपाईं दुवै जनाले उठाएको भष्टचारको मुद्वालाई शसक्त ढंगले अगाडि बढाउन जेनजी सरकारलाई सघाउन पहिलो कर्तव्य होइन र ? यसो गर्नु भयो भने हिजो जनताले महावीर पुनलाई घरबाट उठाएर जबरजस्ती मन्त्री वनाए जस्तै तपाइँहरूलाई पनि नबनाउला भन्न सकिन्न । अनि प्रधानमन्त्री बन्न यत्रो राँडो रूवाई र स्टन्टवाजी गर्नै पर्दैन ।











