
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लामो समयदेखिको पार्टी एकतासम्बन्धी गृहकार्यले मूर्तरुप लिन थालेको छ ।
समाजवादी मोर्चामा आबद्ध यी दुई दलले विगतदेखि नै सहकार्य गर्दै आएका थिए । मोर्चाका अन्य घटकसँग पनि एकताका विषयमा छलफल चलिरहे पनि अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता प्रक्रिया सन्निकट पुगेको नेताहरूले बताएका छन् ।
यद्यपि दुई पार्टीका शीर्ष नेतृत्व तदारुकताका साथ पार्टी एकताको गृहकार्यमा लागे पनि पार्टीभित्र भने असन्तुष्टि मौलाएको छ । एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकता प्रक्रियाप्रति सकारात्मक देखिएका छैनन् । खनालले सार्वजनिक रुपमै एकता प्रक्रियालाई कुबेलाको सहनाइको संज्ञा दिएका छन् भने महासचिव भुसाल पनि पूर्णतया उत्साहित देखिएका छैनन् ।
माओवादीमा पनि नेता जनार्दन शर्माले रुपान्तरणसहितको एकतामा जोड दिएका छन् । दुई नेताहरूको मिलापले मात्रै ठोस परिणाम नदिने उनको निष्कर्ष छ । शर्माले लामो समयदेखि पार्टीभित्र लोकतान्त्रिकरणको पक्षमा बहस गर्दै आएका छन् ।
यी दुई पार्टीको एकता वाम आन्दोलनका लागि सकारात्मक कदम भए पनि पहिले आफ्नो दलभित्र आन्तरिक एकता सुदृढ नगरे पार्टी एकता दीर्घकालीन नहुने र समयक्रममै विग्रह ल्याउने खतरा कायमै रहन्छ । रणनीतिक र कार्यनीतिगत एजेण्डामा मतैक्यता कायम गर्दै क्षमताअनुसारको सांगठनिक व्यवस्थापन गर्न नसके पार्टी एकता दिगो हुन सक्दैन ।
माओवादी केन्द्रले आफ्नो दार्शनिक आधार माओवाद मान्दै आएको छ भने नेकपा एसले माक्र्सवाद, लेनिनवाद मान्दै आएको छ । पार्टी एकताका लागि मध्यमार्गी मार्ग पहिल्याउँदै माओवादीले माओवाद छाड्न तयार रहेको बताइएको छ । यद्यपि, अझै सैद्धान्तिकरुपमा दुवै पार्टीबीच यस विषयमा सहमति भएको बारेमा भने सार्वजनिक धारणा बाहिरिएको छैन । तर पार्टी एकताको घनिभूत गृहकार्य भइरहेको र निकट समयमै एकता घोषणाको तयारीमा रहेको दुवै पार्टीका नेताहरूले सार्वजनिक रुपमै स्वीकारेका छन् ।
यसले कम्युनिष्ट आन्दोलनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा वाम वृत्तमा गरिए पनि एकतासँगै यी दुई पार्टीमा व्याप्त आन्तरिक किचलोले भने विगत नेकपाकै नियति दोहोरिने संशय पैदा गरेको छ । त्यसैले पहिले आन्तरिक समस्या निरुपण गरेरमात्रै पार्टी एकतामा जोड दिनु नै बुद्धिमतापूर्ण हुने देखिन्छ ।
माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयदेखि निकट रहेर सहकार्य गरेका वामपन्थी नेता हुन् ।
माओवादी सशस्त्र संघर्षको कठिन समयमा समेत नेपालले प्रचण्डसँग भेटवार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसयताका केही अपवादबाहेक अधिकांश राजनीतिक परिघटनामा प्रचण्ड र माधव सँगै रहेका छन् ।
तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपामा व्याप्त अन्तरसंघर्षमा समेत यी नेताद्वय एकै ठाउँमा उभिएर केपी ओलीको एकाधिकारविरुद्ध लडेका थिए । नेकपा विभाजनले क्षत विक्षत भएको वाम जनमत जोगाउन फेरि यी दुई नेता एकताका लागि प्रयासरत रहनु सकारात्मक नै हो । तर, आफ्नो पार्टीको आन्तरिक संकट टार्न मात्रै एकता गर्न लागिएको हो भने कालान्तरमा दुबैका लागि यो थप क्षतिप्रद अखडा बन्ने निश्चित छ । विगतमा नेकपा विभाजनबाट त्यो पाठ सिक्दै कार्यकर्ताको मनोभावना बुझेर पार्टी एकताका निम्ति अघि बढ्न आवश्यक छ ।
एमाले र माओवादी एकतापछिको तत्कालीन नेकपा आम कार्यकर्ताको मनोभावनाभन्दा पनि शीर्ष नेताहरूको निहीत स्वार्थ प्रेरित थियो । केपी ओली र प्रचण्डको आ–आफ्ना स्वार्थले एकताबद्ध भएको दुई वर्षमै विभाजित भएपछि नेपालको वाम आन्दोलनले ठूलै मूल्य चुकाउनुप¥यो ।
त्यसकै उपज नेपाली वाम जनमत क्षतविक्षत हुँदै पार्टीसमेत तीन टुक्रामा विभाजित भएर वाम आन्दोलनले ठूलो धक्का व्यहो¥यो । जनताको राजनीतिक स्थायित्व र समृद्धिको अपेक्षामाथि कुठाराघात गर्दै ओलीको हठ र प्रचण्डको मौकापरस्त अवसरवादी चरित्रले पार्टी तीन टुक्रामा विभाजित भयो । त्यही विभाजनले नेपालको राजनीतिमा अस्थिरता र असन्तुष्टि थप बढोत्तरी भयो ।
अहिले त्यही एकता प्रक्रियामा सामेल भएर विभाजित भएका दुई दल फेरि समाहित हुन प्रयत्नशील छन् । तथापि, उनीहरुको मनोविज्ञान भने अझै पनि परम्परागत नै छ । माओवादी युद्धकालीन विरासतबाट आएको हो । उसमा अझै पनि पुरानै युद्धकालकै धङधङी अनुरुपका नेता कार्यकर्ता र पार्टीको संरचना रहेको छ । चार दशकदेखि नेतृत्वमा रहेका प्रचण्डको आफ्नै राजनीतिक चरित्र पनि मौकारपरस्त अवसरवाद हो ।
प्रचण्ड आफू शक्तिमा रहन जेसुकै हथकण्डा समेत प्रयोग गर्न तयार रहेको विगतदेखिका उनका सत्ता केन्द्रित क्रियाकलापले प्रष्ट पारेको छ । यसविपरीत माधव नेपाल एक सादगी, सरल र नेपाली राजनीतिका एक बेदाग कम्युनिष्ट नेता हुन् ।
एमालेमा ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर अलग पार्टी निर्माण गरेका नेपालको राजनीतिक आस्थाप्रति असहमति राख्नेहरुले पनि उनको निष्कलंक छवि र सरलताको उच्च प्रशंसा गर्ने गर्छन् । यद्यपि, पछिल्लो समय उनै नेपालमाथि प्रधानमन्त्री हुँदा पतञ्जली जग्गा हिनामिना गरेको आरोपमा अदालतमा भ्रष्टाचार मुद्दा चलेको छ । अदालती प्रक्रियामै रहेकाले यसको न्यायिक निरुपण हुन बाँकी छ ।
यिनै माधव र प्रचण्डको एकताले समग्र वाम आन्दोलनलाई एकताबद्ध गर्न सक्छ या यो दुई नेतामै सीमित अस्तित्व रक्षाका लागि मात्रै लिइएको पहलकदमी हो भन्ने विषयमा भने आम कार्यकर्तापंक्ति अझै अन्योलमै छन् ।
पछिल्लो जेनजी विद्रोहको मूल मर्म आत्मसात गर्दै पार्टी एकता प्रक्रियामा अघि बढ्ने हो भने पूर्णतया रुपान्तरित भएर नयाँ शिराबाट एकता गर्न जरुरी छ । जेनजी विद्रोहले वर्तमान दल र त्यसको नेतृत्वप्रति अविश्वास व्यक्त गरेको छ ।
कतिपयले त्यसलाई देशीविदेशी षड्यन्त्र देखे पनि नवयुवा (२८वर्ष मुनिका)लाई विद्यमान दलहरूले आश्वस्त पारेर संगठित गर्न नसक्दाको दुष्परिणाम हो, जेनजी विद्रोह । विद्यमान दल र तिनका भातृ संगठनले नवयुवालाई आफ्नो संगठनमा समाहित गर्न नसक्दा नै उनीहरूले आफ्नो पक्षधर नदेखेरै विद्रोह रोजेका हुन् ।
यसबाट पाठ नसिके कम्युनिष्ट पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउन मुस्किल पर्नेछ । जेनजी पुस्ताको भावना सम्बोधन गरेर प्रचण्ड–माधव पनि रुपान्तरित हुँदै पुस्तान्तरणसहित एकताबद्ध भएमात्रै उनीहरूको आकर्षणको केन्द्र बन्नेछ । सोही अनुरुप आम कार्यकर्तासहित नवयुवा पिँढीलाई आश्वस्त बनाउँदै संगठितरुपमा अघि बढ्न सकेमात्रै पार्टी एकता सार्थक हुन्छ । होइन भने दुई ठूला नेतामात्रै मिलेर आफ्नो शक्ति सञ्चय र अस्तित्व रक्षाका लागि मात्रै एकता गरिए विगत नेकपाकै हविगत नदोहोरिएला भन्न सकिन्न्न ।











