नेपालको कम्युनिष्ट आन्दोलन सुरुवाती चरणदेखि नै विभाजन र फुटको पातालमा नराम्रोसँग भासिएको इतिहास छरपस्ट छन् । एकातिर संगठित हुँदै गर्दा चारतिर विभाजित बन्ने परिपाटीले आजसम्म नेपालमा गठन भएका कम्युनिष्ट पार्टी र संगठनहरूलाई बदनामीको भारी बोकाउन सफल भएको छ ।

यिनीहरू सैद्धान्तिक रुपमा एकता, संघर्ष र रुपान्तरणको मन्त्र जपेर राजनीति गर्छन्, तर दुःखद कुरा व्यवहारिक रुपमा आ–आफ्नो स्वार्थको डम्फु बजाएर छुट्टाछुट्टै आँगनमा नाच्न रुचाउँछन् । यावत कारणले पछिल्लो समय जनतामा कम्युनिष्टप्रति तीव्र वितृष्णा पैदा हुँदै गएको छ ।
एकातिर यिनीहरूको फुटले पुरातनवादी शक्तिलाई लाभ मिलिरहेको छ भने अर्कोतिर जनताले पटकपटक यिनीहरूको सिद्धान्तका लागि चढाएको बलिदान फगत सत्ता लुछाचुँडीको भ¥याङमा सीमित बनेको छ । थोरै इतिहासलाई फर्किएर हेर्ने हो भने, पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको बीउ रोप्दा उनको चेतनामा राष्ट्रिय स्वाधीनता, वर्गीय समानता र जनताको शासन स्थापनाको अथाह सपना थियो । तर त्यो सपना संगठनात्मक आन्तरिक लडाइँ र वैचारिक टकरावको दलदलमा प¥यो ।
सात सालको परिवर्तनपछि राजनीतिक खुलापनको क्षणिक अवसर आएको थियो, तर तत्कालीन शासक वर्गले कम्युनिष्ट आन्दोलनलाई ‘विदेशी विचारको आयात’ भन्दै दमनको नीति लिएपछि संगठन भूमिगत बन्न बाध्य भयो । यही भूमिगत यात्राकै क्रममा कम्युनिष्टहरूबीच ‘क्रान्तिको बाटो के हो ?’ भन्ने वैचारिक प्रश्नले विभाजनको पहिलो ढोका खोलेको देखिन्छ ।
माओवादी जनयुद्धले १० वर्षसम्म देशलाई हल्लायो । राजतन्त्र उखेल्ने, गणतन्त्र ल्याउने, संघीयता र समावेशीताको प्रश्नलाई राष्ट्रिय एजेण्डा बनाउने काममा माओवादीको भूमिका ऐतिहासिक रह्यो । तर युद्ध समाप्त भएपछि शान्ति प्रक्रिया ‘सिंहदरबार प्रवेशको रणनीति’ मा सीमित हुँदै गयो । जंगलका कमाण्डरहरू काठमाडौंका दरबार पस्न थालेपछि जनताको त्यागको मूल्य ‘सत्ता साझेदारी’ मा रूपान्तरण भयो । त्यतिबेला नै फुटको बीउ फेरि रोपियो । कसले पार्टीको नेतृत्व लिने ? कसको हस्ताक्षरमा शान्ति सम्झौता हुने ? कसको अनुहार टेलिभिजनमा देखिने ? भन्ने प्रश्नले संगठनलाई फेरि खुम्च्यायो ।
प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा र देव गुरुङ सबै नेता एउटै जंगलबाट फर्किएका थिए । तर शहरमा आइपुग्दा हरेकको सपना फरक भयो । नतिजा, माओवादी पनि एमालेकै मार्गमा हिँड्न थाल्यो, एकता, फुट र पुनःफुटको अन्तहीन चक्रमा ।
यता, एमालेभित्र पनि एकता र फुटको नाटक चल्दै रह्यो । केपी ओली र माधवकुमार नेपालबीचको द्वन्द्व र असहमति, पार्टीको गुटबन्दी लगायतका घटनाले नेपालका कम्युनिष्टहरू केवल नाममा एकतावादी तर कर्ममा आत्मघाती भएको पुष्टि गर्छ । पछिल्लो समय विशेषगरी ओलीको ‘व्यक्तिपूजक राजनीति’ ले कम्युनिष्ट आन्दोलनको अनुशासन र सिद्धान्त दुवैलाई क्षय ग¥यो ।
ओलीले ‘कम्युनिष्ट एकता’ को नारा दिएर माओवादीसँग पार्टी मिलाए । तर त्यो एकता पनि दुई वर्षमै व्यक्तिगत स्वार्थको चपेटामा प¥यो । सत्ताको सिँढी ओर्लन नचाहेका दुई नेतृत्वबीचको प्रतिस्पर्धाले नेपाली कम्युनिष्ट इतिहासको सबैभन्दा ठूलो विफलता लेखिदियो । दुईतिहाइ बहुमतसहितको ‘नेकपा’ नामको स्वप्न पार्टी सर्वोच्च अदालतको एउटा फैसलामा धुलोपिठो बन्यो ।
आज फेरि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच ‘एकता वार्ताको’ चर्चा चलिरहेको छ । माओवादी संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विगतमा बाटो अलग–अलग थियो । यिनीहरू अहिले फेरि एकताको गीत गाउँदै छन् । तर यस्ता तमासा धेरै पटक देखेर आजित भएका जनताले अझै कति पटक एकता गर्ने र कति पटक फुट्ने हो ? भन्ने प्रश्न गर्न थालेका छन् ।
साँचिकै विचारको मेलका लागि एकता हो वा सत्ताको बाँकी टुक्रा बाँड्ने खेल ? यो गम्भीर प्रश्न खडा भएको छ । विगतको अनुभवले यस्ता खालका एकता कार्यक्रमहरूलाई ‘सिद्धान्तको पुनर्मिलन’ भन्दा ‘साझा अस्तित्व जोगाउने रणनीति’का रुपमा बढी देखाउँछ । किनभने, माओवादी र समाजवादी दुवैसँग विचारभन्दा बढी समस्या ‘भविष्यको अस्तित्व’ हो ।
जनतामाझ दुवै पार्टीको लोकप्रियता खस्किँदै गएको छ । यही पारामा नयाँ पुस्ताले यिनीहरूलाई विश्वास गर्न सक्ने अवस्था छैन । साथै चुनावी सन्दर्भमा दुवैका परिणामहरू निराशाजनक छन् । त्यसैले एकता अब विचारको होइन, अस्तित्वको लडाइँजस्तै बनेको छ ।
आज माओवादी र समाजवादी एकताको चर्चा चलिरहेको बेला नेपाली जनताले ती नेताहरूलाई सायद अझ गम्भीर रूपमा हेर्दैछन् । जनयुद्धको सपना बोकेका माओवादी र एमालेमा दशकौँ बिताएका समाजवादी नेताहरू अहिले जनताभन्दा बढी सत्ताको चौरमा लडिरहेका देखिन्छन् । न जनताको आन्दोलनको आत्मा बाँकी छ, न विचारको गरिमा ।
वाम एकताको पुराना नारा– सर्वहारा वर्गको सत्ता, वर्गसंघर्ष, शोषणको अन्त्यलगायतका सबै शब्द अब केवल भाषणका आभूषण बनेका छन् । जनता भोकै छन्, किसान ऋणमा छन्, मजदुर विदेशी भूमिमा पसिना बगाइरहेका छन् । तर यी कम्युनिष्ट भनिने नेताहरू आज सानमान र अभिमान देखाउँदै क्रान्तिका कुरा गर्छन् । यही विरोधाभासले नै कम्युनिष्ट आन्दोलनलाई जनताबाट टाढा पु¥याएको छ ।
वास्तविक अर्थमा अहिलेको एकताको अर्थ पनि झट्ट हेर्दा वैचारिक शुद्धीकरण होइन, उही सत्ताको गणित जस्तै देखिन्छ । जसरी एकातिर नेपाली कांग्रेस आफ्ना गुटहरूलाई व्यवस्थापन गर्दै सत्ता सन्तुलनमा टिक्न खोज्दैछ, त्यसरी नै माओवादी र समाजवादी पनि बाँकी अवसरहरू सँगाल्न खोजिरहेका छन् ।
यिनीहरूलाई डर लागेको छ आगामी निर्वाचनले इतिहासको ग्रन्थीमा सीमित पारिदेला । त्यसैले एकता अब अस्तित्वको सवाल बनेको छ, सिद्धान्तको होइन । तर जनताले के फेरि पनि यिनै पुराना खेलाडीहरूलाई विश्वास गर्ने ? के कम्युनिष्ट नामको आवरणमा फेरि सत्ताको सौदा गर्न पाइने छ ? यी प्रश्नहरूको उत्तर इतिहासको न्यायालयमा बाँकी छ । तर एउटा कुरा स्पष्ट छ कि, नेपालको कम्युनिष्ट आन्दोलनले अब पुनर्जन्म पाउने हो भने, एकतासहितको आत्मालोचनाले मात्रै सम्भव हुनेछ । पार्टीभित्रको नेतृत्व पूजालाई अन्त्य गरेर जनताको आन्दोलनसँग पुनः आत्मसात गरेर वर्गीय मुद्दा पुनः जगाएर मात्रै कम्युनिष्ट आन्दोलन बाँच्न सक्छ ।
हुनत नेपालको कम्युनिष्ट आन्दोलनले यतिका दशकको यात्रामा धेरै उपलब्धिहरू हासिल गरेको छ । राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको स्थापना, वर्गीय चेतनाको प्रसार आदि सबै यथार्थ हुन् । तर यिनै उपलब्धिहरूको रक्षा गर्न नसक्नु, आन्दोलनलाई संगठनगत दाँतबाट चपाएर नेताहरूले खाएको दृश्यले कम्युनिष्ट आन्दोलनलाई भूतपूर्व गौरवको कथा बनाउँदैछ । अबको उत्तराधिकार नयाँ पुस्ताको हातमा जानुपर्नेछ । त्यो पुस्ता जसले विचारभन्दा पनि व्यवहारमा समाजवाद देख्न चाहन्छ, जसले भाषण होइन, नीति चाहन्छ, जसले नारा होइन, चरित्र खोज्छ ।
यदि, माओवादी र समाजवादीहरूको हालको एकता वास्तवमै विचारको आत्मशुद्धीकरणमा आधारित भयो भने नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्जीवनको संकेत हुनेछ । तर यो पनि सत्ताको अंकगणितमा सीमित रह्यो भने, नेपालमा कम्युनिष्ट एकता कहिल्यै स्थायी हुँदैन भनेर इतिहासमै लेखिने छ । किनभने यहाँ धेरैजसो एकता विचारको होइन, स्वार्थको हुन्छ । अन्ततः प्रश्न यहीँ आइपुग्छ कि नेपालका कम्युनिष्टहरू एकै पटक किन एकताबद्ध हुन सक्दैनन् ?
यसको उत्तर सरल छ, किनभने यहाँ विचार होइन, व्यक्तित्व प्रधान छ । जब व्यक्तित्व विचारभन्दा ठूलो बन्छ, आन्दोलन फुट्छ । जब हामीभन्दा ठूलो म बन्छ, तब सिद्धान्त हराउँछ र संघर्षभन्दा सत्ता ठूलो बन्न थालेपछि क्रान्ति मर्छ ।
जब नेताहरू जनतालाई होइन, आफूलाई मुक्ति दिन खोज्छन्, आन्दोलन समाप्त हुन्छ । त्यसैले अहिले माओवादी–समाजवादी एकताको प्रयास सफल होस् वा असफल, तर यसले एउटा प्रश्नलाई फेरि जगाएको छ, अब नेपालको कम्युनिष्ट आन्दोलन पुनः उठ्ने हो कि इतिहासमा हराउने हो ?
लमही दाङ, हालः साउदी अरेबिया











