Logo
Logo

स्वार्थमा टेकेको एकता, विचार र संगठन ओझेलमा


शरद् रिजाल

819
Shares

मुलुकका दुई वामपन्थी दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको एकता संस्थागत नभएर शीर्ष नेतृत्वको मात्रै मिलाप हुने देखिएको छ । एकीकृत समाजवादीले केन्द्रीय समितिको बैठकबाटै माओवादीसँग एकताको निर्णय गरेसँगै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल बाहिरिएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको एकता प्रक्रियामा अन्य स–साना ६ वाम घटकहरू पनि समाहित हुने भएका छन् । उनीहरूबिच पार्टी एकता गर्ने १८ बुँदे सहमति भइसकेको छ । यद्यपि यी घटकका मुख्य वामपन्थी दल माओवादी र एकीकृत समाजवादीबीच संस्थागत रूपमै एकअर्कामा पार्टी समाहित हुन नसकेर दुवै दलका प्रभावशाली नेताहरू बाहिरिँदा एकता भने सर्वसम्मत हुन सकेन ।

माओवादीमा एकता प्रक्रियाप्रति असहमति जनाउँदै नेता जनार्दन शर्माले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । यथास्थितिमै गरिने एकता स्वीकार्य नहुने बताउँदै उनले त्यसमा सहभागी नहुने निर्णय गर्दै अलग भएका हुन् ।

यसले मुख्य दुई पार्टीको एकता ‘भुइँको टिप्न खोज्दा खल्तीको पोखिए’ जस्तै भएको छ । आफैँभित्र आन्तरिक किचलो बढाउँदै झनै विग्रह ल्याएपछि पार्टी एकताको औचित्यमाथि नै प्रश्न उठेको छ ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी एकता गर्न निकै हतारिएका छन् । आफ्ना सहकर्मीलाई समेत लत्त्याएर पार्टी एकताका लागि हतारिएका यी दुवै नेता आफूमाथि निम्तिएको आन्तरिक संकट पार्टी एकतामार्फत टार्न प्रयासरत छन् ।

पार्टीभित्रै चरम संकटोन्मुख अवस्थामा रहेका प्रचण्ड पार्टीको आन्तरिक एकता कायम गर्न नसकेर विगतदेखि निरन्तर आफ्ना प्रमुख सारथि गुमाउँदै आएका थिए । चार दशकदेखि नेतृत्वमा रहेका उनलाई नेतृत्व रूपान्तरण र पुस्तान्तरणको माग राखेर पछिल्लो समय नेता जनार्दन शर्माले चुनौती दिँदै आइरहेका थिए ।

पछिल्लो जेनजी विद्रोहपछि उनै शर्माको माग साम्य पार्न मंसिरमा विशेष महाधिवेशनको घोषणा गरेका थिए । तर त्यही महाधिवेशनबाट आफूमाथि आन्तरिक संकट झनै बढ्ने देखेर अहिले पार्टी एकताको अस्त्र फ्याँकेका छन् ।

माक्र्सवादी दृष्टिकोणले हरेक घटनाको प्रमुख कारण आन्तरिक र त्यसमा बाह्य पक्षको भूमिका सहायकमात्रै हुने मान्यता राख्दछ । तर, आफूलाई माक्र्सवादी दावा गर्ने माओवादी र एकीकृत समाजवादीका मूल नेतृत्वले भने पार्टी एकताको बाह्य पहलमार्फत आन्तरिक संकट समाधानतर्फ उद्यत छन् ।

त्यसो त माओवादीमा आन्तरिक संकट टार्ने बाह्य प्रयत्न नै प्रचण्डको विगतदेखिकै कार्यशैली हो । पार्टीमा मोहन वैद्य समूहद्वारा व्याप्त आन्तरिक संकट टार्न उनले नारायणकाजी श्रेष्ठसँग पार्टी एकता गरेका थिए । पार्टीभित्र आफू अंकगणितीय रूपमा अल्पमतमा परेपछि श्रेष्ठको समूह भित्र्याएर उनी बलियो बनेका थिए । अन्ततः त्यसकै उपज युद्धकालीन सारथि मोहन वैद्य पार्टीबाटै बाहिरिए । अहिले फेरि जनार्दन शर्माले राखेको नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणसम्बन्धी सैद्धान्तिक मतले आफ्नो नेतृत्वमाथि संकट आएको भयले त्यसको रक्षार्थ पार्टी एकतातर्फ अघि बढेका हुन् ।

उता, माधव नेपालको पीडा पनि उस्तै छ । एमालेमा रहेर करिब १४ वर्ष एकछत्र नेतृत्व गरेका उनी विभाजित भएयता पार्टीले आशातीत प्रगति गर्न सकेन । एमालेको नवौँ महाधिवेशनबाट नेतृत्वमा आएका केपी ओलीको निरकुंश कार्यशैलीप्रति असहमत रहेर अलग भए । तर, एमालेसँग विद्रोहको करिब चार वर्ष बित्दा पनि नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न र सांगठनिक उभार ल्याउन नसक्दा नेता कार्यकर्ताहरू लाखापाखा लाग्न थालिसकेका थिए ।

पार्टीबाट निर्वाचित नेपालसहित १० सांसदमध्ये केही अवसरका लागि यताउति भौतारिरहनु र उनीमाथि समेत भ्रष्टाचारको मुद्दा लागेपछि थप राजनीतिक संकट निम्तियो । ओलीप्रति विगतदेखिकै कटुता यथावतै रहेकाले उनको एमालेभन्दा बढी माओवादीतर्फ नै मोह बढेर प्रचण्डसँगै एकतामा होमिएका छन् । यसरी रक्षात्मक अवस्थामा पुगेका नेपालले आफू र आफ्ना नेता कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने एकमात्रै विकल्प पार्टी एकता नै ठानेका छन् । त्यसका लागि उपयुक्त आश्रयस्थल माओवादीसँगको एकता नै भएको उनको निष्कर्ष छ ।

पछिल्लो समय उनको पार्टीभित्रै समेत नेताहरूले एमालेबाट विभाजनको औचित्य पुष्टि गर्न नसकेको आरोपसमेत नेतृत्वमाथि लगाउन थालेपछि त्यसलाई थामथुम पार्न समेत माओवादीसँग एकताबद्ध भएर शक्ति सञ्चय गर्न उनी लालायित भएको देखिन्छ ।

यसरी एउटै संकटबाट गुज्रिएका प्रचण्ड–माधव आगामी दिनमा पार्टीको सांगठनिक आकार नबढेर झनै क्षयीकरण हुने र राजनीतिक अस्तित्वमै संकट आउने खतरा देखेरै आन्तरिक विग्रहको जोखिम मोलेरै भए पनि एक अर्कामा समाहित हुन तयार भएका हुन् ।

यी दुवैको सामु आन्तरिक रूपमा खडा भएको राजनीतिक संकट टार्ने बाह्य प्रयत्नस्वरुप पार्टी एकतामा जोड दिए पनि आगामी यात्रा उत्साहप्रद हुनेमा सन्देह छ । आफ्नै पार्टीभित्र विग्रहको जोखिम मोलेरै पार्टी एकताका निम्ति हतारिएका नेताद्वयले अन्य ससाना ६ वाम घटकसमेत समेटेका छन् ।

यसले सांगठनिक रूपमा सुव्यवस्थित पार्टी निर्माणभन्दा पनि नेताहरूको भीड मात्रै जम्मा हुने देखिन्छ । आजको परिवेशमा नगठित पार्टीले आर्थिक, सामाजिक एजेण्डा र युगसापेक्ष राजनीतिक कार्यक्रममार्फत जनताको भावना मुखरित गर्न नसके नेताहरूको भीडले मात्रै कुनै परिणाम दिन सक्दैन ।

सर्वप्रथम आफ्नो आन्तरिक समस्या समाधान गर्दै सांगठनिक अवस्था सुदृढ गरेर जनपक्षीय नीति, कार्यक्रमसहितको पार्टी एकता मात्रै कामयाबी हुन्छ । र, त्यसले आमजनता र नयाँ पुस्तालेसमेत आफ्नो भविष्य देख्ने विश्वासिलो आधार तयार हुन्छ । नेताहरूको निहित स्वार्थको गठजोडले मात्रै आम जनता र कार्यकर्ताको भावना समेट्न सक्दैन । यसले सीमित नेताहरूको पदीय व्यवस्थापन र राजनीतिक भविष्य सुरक्षित भए पनि सांगठनिक अराजकता निम्त्याउँछ ।

आजको नेपाली समाजमा परम्परागत तौरतरिकाको पार्टी चल्न नसक्ने पछिल्लो जेन–जी विद्रोहले प्रमाणित गरिसकेको छ । सबैको भावना सम्बोधन गर्ने र नेपाली समाजमा देखापरेको संकट निवारण गर्ने रूपान्तरित पार्टीको अपेक्षा जनताले गरेका छन् । त्यस विपरीत ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै आफ्नै पुरानो नेतृत्व नछाड्ने हठ बोकेर गरिने नेतृत्वमुखी एकता असान्दर्भिक र जनताबाटै अस्वीकृत हुने खतरा छ ।

एकीकृत समाजवादी र माओवादी दुवैले आफ्नो आन्तरिक एकता सुदृढ गर्दै पार्टी एकताका लागि राजनीतिक, वैचारिक आधार तयार पारेर आजको नेपाली समाजलाई सम्बोधन गर्ने राजनीतिक कार्यक्रमसहित एकताबद्ध भए मात्रै देश र पार्टी दुबैलाई दीर्घकालीनरुपमा लाभ हुन्छ । अन्यथा, नेताहरूको भीड बटुलेर गरिने गठजोडले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात!’ भने जस्तै मुलुक र जनतालाई कुनै सरोकार नहुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्