
काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताले बैंकिङ प्रणालीलाई नकारात्मक असर पार्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको वित्तीय विवरणमा अर्थतन्त्रको समस्या बैंकभित्र सरेको स्पष्ट देखिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा १८.४७ प्रतिशतले घटेको छ । पहिलो त्रैमासमा सबै वाणिज्य बैंकले जम्म १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत वर्षको १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफाको तुलनामा उल्लेखनीय गिरावट हो । यसले बैंकिङ प्रणाली अर्थतन्त्रको सुस्त गतिसँगै दबाबमा पुगेको देखाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनाले निजी क्षेत्रको मनोबल कमजोर बनाएको बैंकरहरू बताउँछन् । जसको प्रत्यक्ष असर बैंकहरूमा पुगेको छ ।
आन्दोलनले व्यवसायिक वातावरणमा अनिश्चितता बढाउँदा लगानीकर्ताको आत्मविश्वास घटेको छ । जसको प्रत्यक्ष असर बैंकहरूको कर्जा प्रवाह र नाफामा देखिएको हो । कर्जा असुलीमा समस्या देखिँदा र ब्याज नआउँदा प्रोभिजन बढेको र नाफा घटेको उनीहरूको भनाइ छ ।
अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेपनि आन्दोलनपछि बजारको गतिशीलता फेरि घटेको छ । अहिले कर्जाको माग न्यून छ भने निक्षेप वृद्धि तीव्र गतिमा भइरहेको छ । यसले ब्याजदरमा दबाब सिर्जना गरेको र बैंकहरूको आम्दानी घटाएको छ ।
अघिल्ला वर्षमा उच्च ब्याजदरका कारण राम्रो रिटर्न पाउने बैंकहरूले अहिले न्यून ब्याजदरका कारण नाफा घटेको अनुभव गरेका छन् । सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि बैंकहरूले यस वर्ष दोब्बर रकम छुट्याएका छन् ।
सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि बैंकहरूले यस वर्ष दोब्बर रकम छुट्याएका छन् । पहिलो त्रैमासमै वाणिज्य बैंकहरुले २० अर्ब १४ करोड रुपैयाँ प्रोभिजन राखेका छन् । जबकि, गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ४४ करोड रुपैयाँ मात्रै थियो । यसले अधिकांश बैंकहरूको नाफा घटाएको छ ।
केही बैंकहरूको नाफा हेर्दा, ग्लोबल आईएमई बैंकले सर्वाधिक १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थानमा रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो ।
यस्तै, नबिल बैंकको भने नाफा १४.५७ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ ।
खुद ब्याज आम्दानी केही बढेपनि प्रोभिजन पनि बढ्दा प्राइम कमर्सियल बैंकको नाफा २.२० प्रतिशतले घटेर १ अर्ब २८ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कर्जा नोक्सानी व्यवस्था बढेपनि बैंकको खुद ब्याज आम्दानीसँगै सबै आम्दानीमा वृद्धि हुँदा नाफा सामान्य बढेको हो ।
कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था सतप्रतिशतले बढेर १ अर्ब २६ करोड ४१ लाख पुग्दा नाफा २.०१ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
पहिलो त्रैमासमा सबैभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४ लाख रुपैयाँ गरेको छ भने नाफा ४ करोड ५१ लाख रुपैयाँ मात्रै छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंकले १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । सिटिजन्स बैंकले १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाएको छ ।
कृषि विकास बैंकले १ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्दा ५७ लाख नाफा कमााएको छ । सिद्धार्थ बैंकले १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।
कुमारी बैंकले १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो ।
एनआईसी एशिया बैंकले कर्जा नोक्सानी व्यवस्थामा १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ अर्ब १ करोड १० लाख र प्रभु बैंकले १ अर्ब ३८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।
यता ग्लोबल आईएमईको नाफा सबैभन्दा धेरै हुँदा एनआईसी एशियाको १२ करोड २२ लाख र प्रभु बैंकको ५५ करोड ८५ लाख रुपैयाँ नाफा छ ।
निष्क्रिय कर्जामा पनि भएन सुधार
निष्क्रिय कर्जाको दर पनि निरन्तर बढिरहेको छ । पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको खराब कर्जा उच्च विन्दुमा पुगेको छ । औसतमा यस्तो खराब कर्जा ४.५९ प्रतिशत रहेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.८९ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको खराब कर्जा करिब ०.७० प्रतिशत बढेको छ ।
निष्क्रिय कर्जा ५ प्रतिशत वा सोभन्दा माथि हुनेमा हिमालयन र एनआईसी एशियापछि कुमारी बैंकको ६.९८ प्रतिशत, सिटिजन्स बैंकको ६.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशत छ । त्यस्तै प्राइमको ५.८६ प्रतिशत, प्रभुको ५.७८ प्रतिशत, नेपाल बैंकको ५.४९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।
असोजमा १ प्रतिशतभन्दा तल निष्क्रिय कर्जा हुनेमा एभरेष्ट बैंक मात्रै छ, जसको निष्क्रिय कर्जा ०.७४ प्रतिशत छ । यस्तै, स्ट्यान्डर्ड चार्टर्डको १.७१ प्रतिशत र नेपाल एसबीआई बैंकको ३.०८ प्रतिशत पुगेको छ ।
एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको गत आवको पहिलो त्रैमासको तुलनामा निष्क्रिय कर्जा अनुपात सामान्य घट्दा नेपाल एसबीआईको भने १.८४ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको हो ।
सिद्धार्थको पनि ३.९१ प्रतिशतबाट ३.८० प्रतिशतमा झरेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ४.२३ बाट ३.८३ मा झर्दा सानिमाको २.९४ प्रतिशतबाट बढेर ३.९१ प्रतिशत पुगेको हो ।
माछापुच्छ्रे बैंकको ४.१३ प्रतिशत, नबिलको ४.३१ प्रतिशत, एनएमबीको ४.५८ प्रतिशत र कृषि विकास बैंकको निष्क्रिय कर्जा ४.७८ प्रतिशत छ ।
जानकारहरूका अनुसार, अर्थतन्त्रको सुस्त गतिले लगानी, उत्पादन र उपभोग सबै क्षेत्रमा असर पारेको छ, जसको प्रभाव अहिले बैंकिङ क्षेत्रमा देखिन थालेको हो । उनीहरू भन्छन्, ‘बैंक अर्थतन्त्रको मेरुदण्ड हुन्, त्यसैले यसको कमजोरी देशको समग्र वित्तीय स्थायित्वका लागि चिन्ताजनक संकेत हो ।’
बैंकहरूका अनुसार नाफा घट्नुका कारणहरूमा अर्थतन्त्रको सुस्तता, बजार माग कम हुनु, कर्जा असुलीमा समस्या, ब्याजदर घट्नु र प्रोभिजन रकम बढ्नु मुख्य हुन् । अहिले उद्यमीहरूमा स्रोत अभाव छ, लगानीको वातावरण कमजोर छ र बजारमा माग घटेको छ । यही कारण बैंकहरूमा निष्क्रिय पूँजी बढ्दै गएको हो ।
वाणिज्य बैंकहरूको पहिलो त्रैमासको वित्तीय विवरणले अर्थतन्त्रको वास्तविक अवस्था प्रष्ट देखाएको छ भने बैंकको वित्तीय स्वास्थ्य पनि कमजोर बन्दै गएको देखाएको छ । यदि समयमै नीति सुधार र बजारमा विश्वास जगाउने पहल भएन भने अर्थतन्त्रको सुस्तता निकट भविष्यमा बैंकिङ संकटमा रूपान्तरण हुन सक्ने विज्ञहरूको चेतावनी छ ।
अहिलेको अवस्थालाई समाधान गर्नका लागि सबै क्षेत्र मिलेर निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा उनीहरू जोड दिन्छन् । सरकारले निजी क्षेत्रलाई भौतिक तथा लगानी सुरक्षाको सुनिश्चितता दिनुपर्नेमा उनीहरूको जोड छ ।











