
लुटको स्वर्गमा आफ्नै नातिनातिनाले विद्रोहको अगुल्टो झोसेपछि छिन्नभिन्न बनेका अघोरी शासनका पहरेदारहरू अहिले फेरि विभिन्न स्वरूपमा आफूभित्रको छटपटी प्रकट गरिरहेका छन् । हिजो संघर्ष र बलिदानको बखत राजाको बार्दलीमा बसेर जनयुद्ध र जनआन्दोलनलाई सराप्नेहरूले आज फेरि जेनजी पुस्ताको विद्रोहको उपहास गरिरहेका छन् ।
जनयुद्ध र जनआन्दोलनलाई सधैँ धारे हात लगाउने तर त्यसका उपलब्धि जति सबै आफ्नै भकारीमा भर्नेहरूले इतिहासका संघर्ष र गौरवपूर्ण बलिदानका गाथाहरूलाई खेलबाड ठान्नु उनीहरूको एउटा नमिठो भूल हो ।
यिनका नाममा राजनीतिक जीवनको प्रारम्भदेखि जीवनकै उत्तराद्र्धसम्म आइपुग्दा पनि छलकारी नीतिको फसल, आत्म मुग्ध अहंकार र जनतालाई भ्रमको खेतमा जोत्न खोज्ने प्रवृत्तिबाहेक अरू उपलब्धि देखिँदैन । नपत्याए एकपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले भुईँमै झरेर देखाइरहेको तमासा हेरौँ छर्लङ्ग हुन्छ ।
उनका अहंकारयुक्त वचनको तातोपना हेर्दा कहिलेकाहीँ लाग्छ, उनी ७६ जनाको बलिदानले मात्रै सन्तुष्ट छैनन्, अझ केही बलिदानहरूको भोक लिएर हिँडिरहेका छन् । उनी नाति पुस्ताको विद्रोहको डरले बालुवाटारबाट भागेर ज्यान जोगाउन ब्यारेक छिरेका थिए । सैन्य बंकरबाट निस्किएर लोकतन्त्रको व्याख्या गर्दै हिँड्ने उनै ओलीले आज तुच्छ भाषामा जनताको आँसु, रगत र बलिदानलाई आफ्नो निजी टिप्पणीको कचौरामा घोलेर हरेक दिन उपहास गरिरहेका छन् ।
उनकै अहंकारको भुंग्रोमा परेर ओलीको आफ्नै घर डढ्यो । घर मात्रै होइन, त्यो आगोले उनको राजनीतिक जीवन, आदर्शका बखान र एउटा पुस्ताको विश्वाससमेत खरानी बनायो । उनले सत्ताको महल भुइँका ढुङ्गामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ भन्ने कुरो बुझ्न नसक्दा आज यो परिणाम भोग्नुपरेको सत्य हो । उनीप्रति अलिकति रहेको लोकप्रियताको हरियाली पनि आफ्नै अहंकारको तापले जल्दै गयो । विपक्षीलाई मात्र होइन, आफ्नै पार्टी र सहकर्मीहरूलाई पनि उनले चाकरी र शत्रुताबीचको नापमा तौलिँदै जानथाले ।
जो विरोधमा बोल्यो त्यो देशद्रोही, जो चुप बस्यो त्यो चाकरीबाज र जसले प्रशंसा ग¥यो, त्यो योग्य कम्युनिष्ट । यस्तो मनोविज्ञानले कुनै पार्टी होइन, व्यक्तिपूजक मठ बनाउँछ । जहाँ विचार होइन व्यक्तिवादी आदेश र उर्दी चल्न थाल्छ । अचेल ओलीका भाषणहरूमा जनताको समस्याभन्दा बढी व्यक्तिगत गुनासो हुन्छ ।
उनलाई आफ्ना आलोचकभन्दा बढी आफ्नै छायादेखि डर लाग्छ । उनी जसलाई राजनीतिक मित्र भन्थे, ती सबै अब उनको भ्रमको सिकार बनेका छन् । किनभने ओलीले सधैँ मित्रतालाई उपयोगको वस्तु र विरोधलाई विनाशको लक्ष्य माने । उनी जनताको सेवक होइन, सत्ताको स्वामी बन्न खोजे र यही घमन्डले उनीबाट जनता टाढा भए ।
बाहिर जतिसुकै घमन्डको मादल बजाए पनि भित्रभित्रै आफू खस्कँदै गएको अनुभूति केपी ओलीलाई राम्रोसँग भएको छ । जसलाई उनले अहिले ‘घर फर्क’ अभियानको नामकरण गरेका छन् । हुन त यो अभियान पनि जालझेलकै नयाँ शृङ्खला हो । जहाँ आस्था होइन, आत्मसमर्पण मागिन्छ ।
हिजो उनले जसलाई पार्टीभित्रकै कचहरीमा अपराधी ठहर गरे, आज तिनैलाई ‘घर फर्क’ भनी बोलाइरहेका छन् । यो राजनीतिक पुनर्मिलन होइन, बरु लाज ढाक्ने कपडाको खोज हो । जब एकजना नेता आफ्नै कमण्डलुमा राजनीतिलाई समेट्न खोज्छ, तब जनताले त्यो अभिनय चिर्न लामो समय कुर्नु पर्दैन ।
ओलीको ‘घर फर्क’ अभियान पनि यही अभिनयको अर्को अंक हो, जहाँ पार्टीको ब्यानरमा व्यक्तिगत स्वार्थको पर्दा टाँगिएको छ । आज उनले जुन भाषामा आफ्ना पूर्वसहकर्मीलाई घरमा बोलाइरहेका छन्, त्यही घरबाटै हिजो पेटभरि गाली गरेर गलहत्त्याएका थिए ।
पार्टीलाई आफ्नो पेवा सम्झिएर वर्षौँदेखि त्याग र समर्पण गरेका सहकर्मीहरूलाई धारे हात लगाएका थिए । एकातिर विगतमा उनकै चपेटामा पारेर एमाले छाड्नेहरूलाई उनले ‘घर फर्क’ अभियानको थालनी गरेका छन् भने अर्कोतिर आउँदै गरेको महाधिवेशनमा आफूबाहेक अर्को कसैले पनि बोल्न र छलफल गर्न नपाउने उर्दी जारी गरेका छन् । हेरौँ, हातखुट्टा बाँधेर नदीमा धकेल्दिने ओलीको यो अभियानमा कतिजना पूर्वएमालेहरु सामेल हुन्छन् ?
अस्ति भर्खरै उनको शासनको बन्दुकले ढलेका बालबालिकाहरूको रगतले अझै पनि स्कुलका झ्यालहरू रातो छायामा डुबिरहेका छन् । एउटा देश जहाँ नागरिकले आफ्नो आवाज उठाउँदा राज्यसत्ता गोलीले जवाफ दिन्छ, त्यहाँ लोकतन्त्रको फूल फुल्न सक्दैन, बरु खरानीमुनि सुकेका जराहरू मात्र बाँकी रहन्छन् । तर ओलीको राजनीतिक दर्शनमा यो सत्ताको स्थायित्वको सूत्र हो । जब जनता डराउँछन् र नेता अमर हुन्छन् भन्ने सोच हुन्छ त्यहाँ न त आदर्श बाँच्न सक्छ, न त नैतिकता ।
खासमा जेनजी पुस्ताको विद्रोहले पुरानो पिँढीको निद्रा भंग गरिदिएको छ । जो पुस्ता अब ठगी, नाटक, र प्रचारमा विश्वस्त हुँदैन । यो पुस्ताले अब ओलीका उत्तेजक भाषणमा ताली बजाउने होइन बरु ती भ्रमपूर्ण अफवाहको प्रतिरोधमा उत्रनेछ र आफ्नै ढंगमा प्रतिरोध गर्नेछ ।
आजको पुस्ताले नेताहरूको सुसार होइन, यथोचित प्रश्न गर्छ । त्यसैले ओलीका प्रत्येक सम्बोधनमा अहिले युवाप्रति तुच्छ व्यङ्ग्य छ, जनआन्दोलनप्रति तिरस्कार छ र प्रचण्ड–माधव एकताप्रति भय छ । यही भयले उनलाई फेरि पुरानै राजनीतिक भेषमा फर्काइरहेको छ । जब देशमा वाम एकताको चर्चा बलियो भयो, जब सानाठूला वाम घटकहरू पुनः प्रचण्ड र माधव नेपालको नेतृत्वमा एकताबद्ध हुन थाले, ओलीका नशामा लुकेको पुरानो एकाधिकारको बानी पुनः फनफनी बिउँझिएको छ ।
यदि, वामपन्थी विचार पुनः संयुक्त आवाजमा बोल्न थाले भने आफ्नो ‘स्वघोषित सर्वोच्चता’ समाप्त हुने त्रासले ओलीलाई चिन्तित बनाएको छ । त्यसैले उनले यो ‘घर फर्क’ अभियानलाई ‘एकताको वैकल्पिक दृश्य’ बनाएको नाटक गरिरहेका छन् । समग्रमा भन्दा यो घर फर्क अभियान राजनीतिक पुनर्संरचना होइन, बरु पुनः आफ्नो छाया फैलाउने अन्तिम प्रयास हो ।
राजनीतिक आन्दोलनको हरेक विद्रोहले आफ्नो युगको अहंकारलाई भत्काउँछ । जनआन्दोलनले पञ्चायतको घमण्ड भत्कायो, जनयुद्धले राजतन्त्रको भ्रम भत्कायो, अब नयाँ पुस्ताले ओलीजस्ता अहंकारी प्रवृत्ति भत्काइरहेछ । इतिहासले हरेक पटक पुरानो स्वर्ग जलाउँछ र नयाँ चेतनाको फूल फुलाउँछ ।
अन्ततः ओलीजस्ता पात्रहरू राजनीतिक इतिहासका उदाहरणीय चेतावनी हुन् । सत्ता कहिल्यै स्थायी हुँदैन र जनताको धैर्य कहिल्यै अनन्त हुँदैन । केपी ओलीको ‘घर फर्क’ अभियान केवल दलको आह्वान होइन, आफ्नो अस्तित्व जोगाउने चेष्टा हो । उनको घर फर्क अभियानले विचार फर्किँदैन । किनकि, विचार त्यही दिन मरेको थियो, जब ओलीले संविधानको आत्मा मारेर ‘संविधानको शव’ संसद् अगाडि राखेका थिए ।
ओलीको बोलीमा अहिले पनि मजाक मिसिएको हुन्छ । उनी भन्छन्, ‘जो गए, उनीहरूलाई पनि स्वागत गर्छौँ ।’ तर त्यो स्वागतमा आत्मा छैन, केवल रणनीति छ । जो फर्कन्छ, उसले ओलीको अगाडि नतमस्तक हुनैपर्छ । फर्किएपछि ऊ जनता र पार्टीप्रति होइन, ओलीप्रति बफादार बन्नुपर्ने हुन्छ । नपत्याए पहिले माधवकुमार नेपालको साथ छाडेर एमाले फर्किएका १० भाइको हरिबिजोग हेर्दा पुग्छ । ओलीको राजनीतिमा अब उनका साथीहरू छैनन्, मात्रै सजावटका मानिसहरू छन् । जसले उनको दासत्व रामकुमारी झाँक्रीहरूले जस्तै सहज रूपमा स्वीकार गर्छन्, उनीहरू मात्रै ओली क्लबमा अटाउन सक्छन् । जे होस् घर फिर्तीको नाउँमा ओली ग्याङमा फर्किन चाहनेहरूले आफ्नो स्वतन्त्र राजनीतिक जीवनको चाहाना अधुरो सपनाको चिहानमा पुरेर फर्किन सके कम्तीमा आफ्नो आत्माको सम्मान भने हुनेछ ।
– लमही दाङ, हालः साउदी अरेबिया











