काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ‘टीओबी’ टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरी अनुसन्धानले देखाएको छ । नागरिकता, राहदानी, लिखत बदर र लागुऔषध मुद्दामा थुनामा रहेका तेन्जिङ तिब्बती मूलका भएको प्रहरी निष्कर्ष छ ।

सन् २००७ सम्म उनको पालनपोषण सौतेनी फूपूदिदी कुङ्गा डोल्माले गरेकी थिइन् । २०१७ मा बौद्धमा खोलेको ‘टीओबी ट्याटु हाउस’का लागि डोल्माले ४० हजार लगानी गरिदिएकी थिइन् । पछिल्लो तीन वर्षदेखि डेराको भाडासमेत उनैले बेहोरेकी थिइन् । ट्याटु व्यवसायबाटै तेन्जिङको गुजारा चल्थ्यो। ‘टीओबी’को अर्थ ‘तिब्बतियन ओरिजिनल ब्लड’ हो । २०२४ जुन १० मा स्थापना भएको यो समूहमा ५७ सदस्य छन् ।
र्यापर सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने उनीहरूले सामाजिक सेवा र घुमफिरका नाममा समूह बनाएका थिए । तर भदौ २३-२४ मा जेनजी प्रदर्शनमा बुलेट मोटरसाइकल हुइँक्याउँदै उच्छृङ्खल गतिविधि गरेका थिए । प्रदर्शनमा ३१ जना टीओबी सदस्य संलग्न थिए, जसमध्ये अधिकांश विद्यार्थी थिए । ‘टीओबी ब्लड’ ह्वाट्सएप ग्रुपमा भदौ २२ मा नै प्रदर्शनमा सहभागी हुने सन्देश आदानप्रदान भएको थियो । प्रहरीले १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने चालकहरूलाई तारेखमा छाडिएको छ । तेन्जिङमाथि अभद्र व्यवहारमा ७५ सय धरौटी तिराइएको छ भने उनको जन्मदर्ता र नागरिकतामाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।











