
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
शाक्यले आफुलाई विद्युत प्राधिकरणबाट हटाएपछि सरकारको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।
शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै सर्वोच्च रिट दायर गरेका छन् । आज दोस्रो सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो ।
आज हुने बहसमा सर्वोच्चले अन्तरिम आदेश जारी हुने कि नहुनेबारे निर्णय दिनेछ । सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उनी पुनः प्राधिकरण फर्कनेछन् । सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो । कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि शाक्यलाई सरकारले हटाएको थियो ।











