
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको उद्घाटन स्थलका लागि ३ वटा सम्भावित स्थान प्रस्ताव गरेको छ ।
च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले खुलामञ्च, भृकुटीमण्डप र भक्तपुरको सल्लाघारीस्थित खाली जमिन प्रस्ताव गरेको हो ।
यी ३ मध्ये भृकुटीमण्डप सानो हुने, खुलामञ्चमा कार्यक्रम गर्न काठमाडौंका मेयर बालेन साह सकारात्मक नहुने आँकलनसहित सल्लाघारी उपयुक्त विकल्प मानिएको बैठकमा सहभागी एक नेताले बताए ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि काठमाडौंमा सवारी जाम, सर्वसाधारणलाई आवतजावतमा पर्नसक्ने बाधासमेतलाई ध्यानमा राखेर उद्घाटनस्थल सल्लाघारीमा सार्ने सम्भावना बढी रहेको बताए । बन्द सत्र भने भृकुटीमण्डपमै हुनेछ ।
त्यस्तै बैठकले ११औं महाधिवेशनको मूल नारा पनि तय गरेको छ । जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित एमाले महाधिवशेनमा जानेछ । यही मंसिर २७–२९ मा एमालेको महाधिवेशन हुँदैछ ।











