
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले बिहीबार इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए ।
गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाईकल चालक भने फरार भएका छन् ।
बरामद गाँजा तथा गाडी र मोटरसाइकलसहित चौधरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ ।











