Logo
Logo

जेनजी विद्रोह र माओवादी जनयुद्धको समीक्षा


शरद् रिजाल

819
Shares

नेपालका हरेक राजनीतिक आन्दोलनले राजनीतिक परिवर्तन गरे पनि त्यसले एजेन्डालाई सम्बोधन गर्न नसक्दा राजनीतिक पार्टीहरू जसरी असफल भयो र जेनजी विद्रोहसम्म आइपुग्यो विगतको तीतो यथार्थलाई हेर्दा जेनजी विद्रोहको पनि सोही नियति दोहोरिने संशय बढेको छ ।

यो विद्रोह दलीयताको आवरणमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र लुटतन्त्रको विरुद्धमा केन्द्रित थियो । तत्कालीन परिस्थितिमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा जेनजीहरुले सडकमा आवाज बुलन्द गरेपनि यसको मूल कारण भने वर्षौँदेखि व्याप्त दलतन्त्रको आडमा लादिएको कुशासन नै हो । त्यसबाट आजित नवयुवाहरूको प्रतिरोध नै जेनजी विद्रोह थियो ।

यसमा तत्कालीन केपी ओली सरकारको बर्बर दमनले भदौ २३ गते एकै दिन १९ जना युवाले ज्यान गुमाएपछि परिस्थिति भड्किएर २४ गते अकल्पनीय विध्वंस निम्तियो । यसले प्रधानमन्त्री ओली विस्थापन हुन पुगे भने समकालीन दल र त्यसका नेताहरू पनि रक्षात्मक भएका थिए । त्यसपछि जेनजी विद्रोहमा मुखरित एजेन्डा संस्थागत हुने अपेक्षा गरिएको थियो । तर, त्यसयताका घटनाक्रम केलाउँदा जेनजी आन्दोलनको बलिदानी कसैको सत्तारोहणको साधनका रूपमा मात्रै चित्रित गर्न थालिएको छ ।

यो आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री भएको पनि तीन महिना नाघ्यो । तथापि, आन्दोलनका एजेन्डा कार्यान्वयन गर्ने कुनै सुरसार छैन । मूलरुपमा भ्रष्टाचारमुक्त मूलक बनाउने अभिप्रायले नै नवयुवाहरू आन्दोलित भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको कुनै कदम चालेको छैन ।

बरु जेनजी आन्दोलनबाट विस्थापित शक्तिहरू नै पुनःहाबी हुँदै त्यसलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको छ । एमालेमा ओली खेमाका नेताहरू यसलाई आन्दोलनका रूपमा स्विकार्न तयार भएका छैनन् । उनीहरू जेनजी विद्रोहलाई विदेशी प्रतिगामी षड्यन्त्रको संज्ञा दिँदै संसद् पुनः स्थापनामार्फत सत्तामा पुनरागमनको सपना देखिरहेका छन् ।

जेनजीहरुको स्वतस्फूर्त असंगठित विद्रोहले जुन गतिमा पुराना दललाई विस्थापन ग¥यो, तर सोही अनुपातमा शासन सत्तामा आफ्नो पहुँच स्थापित गर्न सकेन । आन्दोलनको प्रकृति र क्षति हेरेर यसलाई जसले जसरी व्याख्या गरे पनि यो जनआक्रोशको उच्चतम रूप भएकोमा दुई मत हुन सक्दैन । तर यसको उपलब्धि गुम्ने खतरा बढेकोतर्फ भने बेलैमा ध्यान दिन जरुरी छ ।

जसरी यो देशमा सबैभन्दा लामो र ठूलो अनुपातमा मानवीय क्षति सहितको माओवादी जनयुद्धका उपलब्धि एक पछि अर्को गरी संस्थागत हुन नसक्दा नेपाली समाजले जुन मूल्य चुकाइरहेको छ, सोही परिणति यो जेनजी विद्रोहको हुने हो कि भन्ने सर्वत्र चासो र चिन्ता छ ।

भुइँमान्छेका एजेन्डा उठान गर्दै सुरु गरिएको दश वर्षे जनयुद्धबाट स्थापित दल माओवादीले आफ्नो मूल्य, मान्यता र जनताको अपेक्षामाथि कुठाराघात गर्दै जाँदा निराशाजन्य परिस्थिति उत्पन्न भएर आजको दुर्दशायुक्त परिस्थिति सिर्जित भएको हो । किनभने, माओवादीको आश्वासन, त्यसप्रतिको अधिक जनअपेक्षा र त्यसले स्थापित गरेका मानकहरू एकपछि अर्को गर्दै च्यूत हुँदै जाँदा जनतामा निराशा बढेर विकल्प खोज्न थालेका हुन् ।

नो भोट, नो नट अगेन, रास्वपा, रवि र बालेनको उदय त्यसकै उपज हो । यस्तो नैराश्य राजनीतिक वातावरण विगतदेखि तयार पार्नेमा मुख्य जिम्मेवार माओवादी हो भने तत्कालीन उपज सत्तासीन ओलीको गैरजिम्मेवारपन र शासकीय उन्माद नै हो ।

जसरी पुराना दल र संसदीय व्यवस्था विरुद्ध सुरु गरिएको दश वर्षे जनयुद्ध अन्ततः रूप फेरिएको तर सारतः उही व्यवस्थामा डुबुल्की मार्दै जनताका मुद्दा छाड्दा नै निराशाले जरा गाड्यो । र, अहिले त्यसकै परिणतिस्वरुप माओवादी पार्टी क्षत विक्षत हुँदै अनेकौँ घटकमा विभाजित भयो भने, संसदीय व्यवस्था समेत थप विकृत बन्न पुग्यो । अहिलेको जेनजी आन्दोलनपछिका परिदृश्य पनि माओवादी जस्तै विभाजित देखिन्छ ।

विगतमा माओवादी जनयुद्धको पृष्ठभूमि, सत्ताधारी दल कांग्रेस, एमालेको भ्रष्टाचार र बेथितिको उपज थियो भने जेनजी विद्रोह पनि हालका सत्तासीनहरूको कुशासनको परिणति हो । तत्कालीन प्रजातान्त्रिक आवरणको सरकारका अनेकौँ भ्रष्टाचारका काण्डले जनता आक्रान्त भएर त्यस विरुद्ध सशस्त्र संघर्ष गरेको माओवादीप्रति जनताले साथ दिएर नै निर्वाचनमा पहिलो दल बनाएका थिए । तर ‘बाँदरको हातमा नरिवल’ भनेझैं माओवादीले त्यो जनमतको कदर गर्दै जनपक्षीय काम गर्न सकेन । बरु उल्टै अनावश्यक बखेडा निम्त्याउने कार्य गर्दा त्यो आफ्नै लागि प्रत्यूत्पादक बन्न पुग्यो ।

अझै पछिल्लो समय माओवादीले जुन सत्तासीन दल विरुद्ध विद्रोहको शंखघोष गरेको थियो तिनैैसँग अस्वस्थ सत्ता साझेदारीमै लहसिएर सरकार बाहेक अरू सबै भ्रम हो भन्ने निष्कर्षमा पार्टी अध्यक्ष प्रचण्डले आफूलाई प्रस्तुत गरे ।

यसले जनतामा माओवादीप्रतिको अपेक्षा पूर्णतया धूलिसाथ बनायो र पुरानै दल कांग्रेस एमाले भन्दा पृथक् चरित्र कायम रहन सकेन । नयाँ अवतारका प्रचण्डको पुरानै सत्तामुखी यस प्रवृत्ति चरम निराशा सिर्जना गर्ने एक प्रमुख कारण हो ।

अहिले फेरि जेनजी विद्रोह पनि यस्तै लोकतन्त्रको आवरणमा तिनै दलको सत्ताकेन्द्रित अस्थिरता र लुटतन्त्र हाबी भएपछि जन्मिएको हो । जेनजी कुनै वैचारिक रुझान भएको संगठित राजनीतिक शक्ति होइन, यो त सचेत र आजको प्रविधिमैत्री निश्चित उमेर समूह मात्रै हो । त्यही भएर नै आन्दोलनबाट सत्ता कब्जाको परिस्थिति निर्माण हुँदा पनि त्यसतर्फ पहलकदमी लिन नसक्दा केही दिन अन्योलपूर्ण राजनीतिक अवस्था सिर्जना भएर अन्ततः सत्तारोहण अर्कैको भयो ।

दुई दिनमै सत्ता पलट गराउने सामथ्र्य हुँदा पनि जेनजी विशुद्ध उमेर समूह मात्रै भएकाले एउटै एजेन्डामा गोलबन्द हुन नसक्दा शासन सत्तामा आफ्नो स्वामित्व कायम गर्न सकेनन् । यद्यपि, प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहकै बलमा सरकारको नेतृत्व गरेको बताउँदै त्यसको प्रतिनिधित्व आफूले गरेको बताइरहेकी छिन् । तर परिणामतः जेनजी विद्रोहको एजेन्डा र भावना प्रस्फुटित भएको देखिँदैन ।

विगतको माओवादी जनयुद्धका उपलब्धि सबैले अपनत्व गर्ने अवस्था सिर्जना गरेको भए आज मुलुकमा यो विद्रोहको आवश्यकता पर्दैन थियो । तर त्यस विपरीत ठूलो संघर्ष, बलिदानी र जनताको विश्वासलाई नजरअन्दाज गरेर आफ्नै सत्तास्वार्थमा लिप्त हुँदा माओवादी आन्दोलन कमजोर बन्दै गयो र त्यसले जेनजी विद्रोह निम्त्यायो ।

प्रचण्डकै पदलोलुप प्रवृत्तिले जनताको अविश्वाससँगै जनयुद्धकालीन नेताहरुले उनको साथ लगालग छाडेर एक्लिएपछि उनी माओवादी पहिचान छाडेर एकता गर्नुपर्ने बाध्यतात्मक अवस्थामा पुगेका छन् । यसरी त्यत्रो बलिदानीपूर्ण संघर्षबाट उदय भएको माओवादी आज आफ्नै एजेन्डाबाट विमुख भएर सत्ता स्वार्थमा लिप्त हुँदा अस्तित्व रक्षाको संकटले थलिएको छ । नवयुवाहरूको बलिदानीको जगमा उठेको जेनजी विद्रोहले पनि आफ्ना उपलब्धि बेलैमा संस्थागत गर्न नसके विभाजित भएर सोही नियति नदोहोरिएला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्