विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजीको आकर्षण आफ्नो पार्टीमा बढ्दै गइरहेको दाबी गरेका छन् । सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले काठमाडौंसहित विभिन्न स्थानबाट जेनजी युवाहरू पार्टीमा भित्रिने क्रम जारी रहेको बताएका हुन् ।

उनले भने, ‘जेनजीहरु पनि यो पार्टीप्रति आकर्षित छन् । वार्तामा बसेका जेनजी योद्धाहरू समेत हाम्रो पार्टीमा आउनुभएको छ । त्यसैले यो पार्टी युवा, महिला, दलित, आदिवासी र जनजातिको साझा पार्टी हो ।’
नेता नेपालले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, माफियागिरी र दलाली प्रवृत्तिको अन्त्य गर्न नेकपाले नयाँ सोच अघि सारेको बताए । उनले पार्टीमाथि कसैले प्रश्न उठाए डटेर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हामीले असम्भव भनिएका कुरालाई सम्भव तुल्याएका छौं । अब अपराधीकरणको प्रवृत्तिलाई अन्त्य गर्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ ।’
विराटनगरको ऐतिहासिक महत्वलाई स्मरण गर्दै नेता नेपालले मनमोहन अधिकारी, भरतमोहन अधिकारी र कमल कोइरालाजस्ता योद्धाहरू यहीँको उत्पादन भएको बताए । उनले विगतमा धेरै पार्टीलाई एकताबद्ध बनाएर २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन गरेको र काम गरेर देखाएको इतिहास साटे ।
‘हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूले गरेका राम्रा कामको प्रचार गरौँ, कमजोरी भए स्वीकार गरौँ,’ नेपालले भने । नेता नेपालले आफ्नो पार्टीमा कमजोर मानिसहरू नभई ‘एक से एक’ सक्षम व्यक्तिहरू रहेको जिकिर गरे । उनले आगामी निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर पहिलो शक्ति बन्ने गरी तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘अरू पार्टीभन्दा कमजोर मानिसहरू यो पार्टीमा छैनन्, आउने चुनावमा सबैभन्दा धेरै मत पाएर अघि बढ्ने ढङ्गले सबै लागौँ,’ उनले भने ।











