Logo
Logo

प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको परिपत्र


567
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको छ । कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको हो ।

The current image has no alternative text. The file name is: congress.jpg

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देश गर्ने भनी गरेको निर्णयअनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभा लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि परिपत्र गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस प्रक्रिया सम्बन्धमा परिपत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा ३२ (८) (क) बमोजिम प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा सो जिल्ला भित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठक) बस्ने ।’

उक्त बैठकले पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर २३ मङ्सिरभित्र जिल्ला कार्यसमितिमा (एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा) पठाउने भनिएको छ ।

नाम सिफारिस गर्ने बैठकमा सहमति भए सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गर्नु पर्ने परिपत्रमा उल्लेख छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मङ्सिरभित्र प्रदेश कार्यसमितिमा पठाउनु पर्नेछ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्‍याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मङ्सिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने परिपत्रमा भनिएको छ ।

प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मङ्सिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत निर्देशन दिइएको छ ।

प्रदेश कार्यसमितिलाई आगामी ११ माघमा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न विधानबमोजिमको काम गर्न भनिएको छ ।

कांग्रेसको विधानको धारा ३२ को उपधारा (९) (क) बमोजिम- ‘प्रत्येक प्रदेश कार्यसमितिले नेपालको संविधानको धारा ८६ उपधारा २ (क) बमोजिम निर्वाचित हुने राष्ट्रियसभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनेछ’ उल्लेख गरिएको छ ।

विधानको यही व्यवस्थाअनुसार आफ्नो प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने प्रत्येक सिटका लागि ३र३ जनाका दरले योग्यता पुगेका सम्भावित नामको सूची मङ्सिर मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन प्रदेश कार्यसमितिलाई भनिएको छ ।

उम्मेदवारको नाम सिफारिस गर्दा विशेष ध्यान दिनु पर्ने विषयहरू :

१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने ।

२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।

४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरुको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिश गर्न पाइने छैन ।

५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।

६) प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ ।

७) प्रतिनिधिसभा सदस्य पदको उम्मेवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।

प्रतिनिधिसभा समानुपातिक तर्फका सिफारिश भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ ।

९) २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उम्मेदवार सिफारिश गर्न पाइने छैन ।

१०) पार्टी विधानको धारा ६९ वमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरुले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्