
काठमाडौं । नेकपा एमालेले ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि पुनः छनोट गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालयले पत्र पठाउँदै ओखलढुङ्गा सदरमुकाममा गरिएको प्रतिनिधि छनौट प्रक्रिया अस्वीकार्य भएको भन्दै ११औं राष्ट्रिय महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट गर्न भनेको हो ।
प्रतिनिधि छनौटका सम्बन्धमा अपानी–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीहरूको माग, बहुसंख्यक इच्छुक उम्मेदवारहरूको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको पत्रमा उल्लेख छ ।
पुनः हुने निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको छ ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार ओखलढुंगामा भएको निर्वाचनमा १५१८ मत खसेको थियो । जसमा ईश्वर पोखरेलको समूहले ‘क्लीन स्वीप’ गरेको थियो ।
जसमा अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल, केदारबाबु बस्नेत, इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ, रमिला मगर श्रेष्ठ, टिकाराम धमला र ज्यानु कालिकोटे प्रतिनिधि निर्वाचित भएका थिए ।
अब भने केन्द्रले दिएको निर्देशनअनुसार पाँच दिनभित्र ओखलढुङ्गामा पुनः प्रतिनिधि छनोट प्रक्रिया सञ्चालन हुने भएको छ ।












