
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको कन्टेनर बिग्रिएर सडकमा रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राति नै मृत्यु भएको हो । सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् ।
उनको बायाँ खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली रामलाई थप अनुसन्धानका लागि मकवान प्रहरीले नियन्त्रणमा लिएको छ ।











