काठमाडौं । बैङ्किङ कसुरको आरोपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) विवादमा तानिएको छ ।

राष्ट्र बैंकले अनुसन्धान गरिसकेको र कुनै पनि विषयहरूमा खोट फेला नपारेको अवस्थामा सिआईबीका प्रमुख मनोज केसीले बैंक तथा वित्तीय संस्थाको अनुसन्धान गर्ने क्रममा राष्ट्र बैंकलाई ‘बाइपास’गरेपछि विवादमा तानिएका हुन् ।
बैंंक तथा वित्तीय संस्थाहरूको अनुसन्धान गर्ने निकाय राष्ट्र बैंककाले सिआईबीबाट सिँधै हस्तक्षेप गरेर अनुसन्धानमा हात हाल्न मिल्दैन तर सिआईबी प्रमुख केसीले आइजिपीलाई समेत जानकारी नदिई प्रभु बैकका कार्यकारी अधिकृत (सिइओ)लाई पक्राउ गरेका छन् ।
‘राष्ट्र बैक नियामक निकाय हो, तर सिआईबीले बैङ्किङ कसुरको मुद्दा भन्दै हस्तक्षेप गरेको छ’, राष्ट्र बैकका एक कर्मचारीले भने ।
शेरचन पक्राउ पर्नुमा मुख्य हात सिआईबीका एसएसपी शिवकमार श्रेष्ठको रहेको दाबी गरिएको छ । सेन्चुरी बैकका नातेदार रहेका राजेश श्रेष्ठका कारण प्रभु बैकका सिइओलाई पक्राउ परेको स्रोतको दाबी छ ।
श्रेष्ठ सिआईबीका प्रवक्ता हुन । सिआर्ईबी प्रहरी महानिरीक्षक मातहत हुन्छ । तर, यो विषयमा आइजिपी दानबहादुर कार्कीलाई समेत जानकारी दिइएको छैन ।
सेन्चुरी बैंक र प्रभु बैंकको मर्जपछि सेञ्चुरीका घोटाला फाइलमा सिआईबी प्रवेश गरेको थियो । स्रोतका अनुसार त्यसै प्रकरणलाई आधार बनाएर शेरचनलाई लक्षित गरी सेन्चुरीका पूर्व सञ्चालकहरूले सिआईबीलाई प्रयोग गरेको स्रोतले जनाएको छ ।
त्यसमा प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कार्यरत आदर्श श्रेष्ठको समेत हात रहेको बताइएको छ । सिआईबीले पूर्वाग्रह, दबाब र अस्वाभाविक सक्रियताका कारण वित्तीय क्षेत्रभित्रै चासो आतङ्क समेत फैलिएको छ ।
सिआईबीले १४ मंसिरमा शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गर्नका लागि राष्ट्र बैंकको अनुमति आवश्यक रहेपनि सिआईबीको ध्यान त्यता नदेखिएको स्रोतको दाबी छ ।
‘बैंक तथा वित्तीय संस्थाको सबै नियमन तथा अनुगमन अधिकार नेपाल राष्ट्र बैंकसँग निहित छ । तर, यसपटक राष्ट्र बैंकलाई पूर्णरूपमा बाइपास गर्दै सिआईबीले शेरचनसहित उच्च व्यवस्थापन स्तरका अधिकारीमाथि पक्राउ गरेर नियामक निकायलाई निकम्मा बनाउन खोजेको हो’, राष्ट्र बैकका अधिकारीको दाबी छ ।
यही प्रकरणलाई जोडेर बुधवार सिआईबीले गुण एयरलाइन्सका पूर्व अध्यक्ष राजेश शाक्यलाई पनि पक्राउ गरेको छ ।











