काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सात जना विरुद्ध ‘जोखिमपूर्ण स्थानमा हेलिपोर्ट निर्माण गरी भ्रष्टाचार गरेको’ आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्ट प्रारम्भिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन, सरोकारवाला परामर्श र प्राधिकरणको सञ्चालक समिति छलफलविना अघि बढाइएको उल्लेख छ।
यसै स्थानलाई ‘जोखिमयुक्त’ भन्दै पुनः अध्ययन आवश्यक भनेर राय दिएको भए पनि प्राधिकरण व्यवस्थापनले हचुवामा निर्णय गरी निर्माण प्रक्रिया अगाडि सारेको आयोगको दाबी छ।
आयोगले मुद्दा दायर गर्नुअघि अधिकारीलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको थियो। अदालतले उनलाई शुक्रबारसम्म हिरासतमा राख्ने आदेश दिँदै अख्तियारकै जिम्मामा पठाएको छ।
अख्तियारले अभियुक्त बनाएकाहरूमा क्यानका महानिर्देशक प्रदीपसहित सात जना छन्। तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रवन्धक नलविक्रम थापा पनि प्रतिवादी बनेका छन्। सबै बिरुद्ध १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
अभियोग पत्रमा यो भ्रष्टाचारमा मुख्य योजनाकार महानिर्देशक प्रदीप अधिकारी देखिएका छन्। उनलाई प्रतिवादी बनाएर मुद्दा दायर भएसँगै उनी निलम्बित भए। अधिकारीविरुद्ध यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सिनामंगलस्थित प्राधिकरण भवन निर्माण र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीहरूमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।











