
नेपालका कम्युनिष्ट पार्टीका नेताहरूले एकता र विभाजनका लागि कुनै साइत कुर्नु पर्दैन । सिद्धान्त र विचारको लेपन लगाएर आफ्नो अनकुलतामा एकता र स्वार्थ नमिल्दा विद्रोह गर्ने आम चरित्र नै बनिसकेको छ । महान् एकता र क्रान्तिकारी विद्रोहको उपमा यहाँका कम्युनिष्ट पार्टीका नेताहरूले हरेक मिलाप र विभाजनलाई दिने गर्छन् । सामान्य विषयमा मतभेद भएर विभाजित हुँदा अनेकौं तवरले आरोपित गर्ने र समयक्रममा एकताबद्ध भएपछि महान् एकताको संज्ञा दिने नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य प्रवृत्ति नै हो ।
यही परिवेशमा दर्जनौँ वाम घटक एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको क्रममा आफ्नो पूर्ववत् पार्टीले अङ्गीकार गर्दै आएको ‘माओवाद’ परित्यागको विषयलाई लिएर निकै चर्चा परिचर्चा हुँदै आइरहेको छ । यसअघि पनि प्रचण्डले एमालेसँगको एकतामा पनि ‘माओवाद’लाई छाडेका थिए । सर्वोच्च अदालतले उक्त एकता अलग गरिदिएपछि प्रचण्ड पूर्ववत् पार्टीमा फर्किएका हुन् ।
यसरी यसअघि नै छाडेको माओवाद केही समय अपनाएर फेरि परित्याग गरेपछि प्रचण्डमाथि विपक्षी र उनका सहकर्मीले समेत यसपटक फेरि प्रश्न उठाउन थालेका छन् । अहिले पूर्वमाओवादीभित्र र बाहिर समेत पार्टीको मूल पहिचान ‘माओवाद’ र चुनाव चिन्ह छाडेको आरोप लाग्दै गर्दा यस अघि समेत एकताकै लागि प्रचण्डले अन्य सैद्धान्तिक आधार छाडेका घटनाक्रमहरू पनि प्रशस्तै छन् ।
अहिले प्रचण्ड यस अघि एमालेसँगको एकता गर्दा जस्तै ‘माओवाद’ पूर्णतया परित्याग गर्दै माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्न तयार भएका हुन् । नेपालको राजनीतिमा पछिल्लो समय विचारको बहस गौण बने पनि प्रचण्डले विगतदेखि नै आफूले अङ्गीकार गर्दै आएको सैद्धान्तिक मान्यता र पार्टीको नाम एकताको क्रममा छाड्ने र फेरि अङ्गाल्दै आएपछि त्यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठेको हो ।
२०५१ मा प्रचण्डको नेतृत्वमा गठित नेकपा(माओवादी)ले २०६३ सम्म निरन्तर सोही नाम र मार्गदर्शक सिद्धान्तको आधारमा राजनीतिक गतिविधि गर्दै आएको थियो । शान्तिप्रक्रियामा आए लगत्तै प्रचण्डले जनयुद्धकालमा विकास गरेको ‘प्रचण्डपथ’ एकताकै नाममा परित्याग गरेका थिए । उनले नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र सँग पार्टी एकता गर्दा पार्टीको नाम परिवर्तन गर्दै जनयुद्धकालीन वैचारिक उपलब्धि भनिने ‘प्रचण्डपथ’ परित्याग गरेका थिए । त्यतिबेला माओवाद र माओ विचारधाराको विषयमा समेत एकमत हुन नसक्दा माओवाद र माओविचारधारा दुबैलाई समान ढंगले अङ्गीकार गरिएको थियो ।
विगत जनयुद्धकालमा नयाँ वैचारिक आयामको रूपमा चित्रित गरिएको ‘प्रचण्डपथ’ शान्ति प्रक्रियामा आएको केही वर्षमै पार्टीभित्र सांगठनिक रूपमा चेपुवामा परेपछि प्रचण्डले त्यसबाट जोगिन प्रचण्डपथ परित्याग गरेका थिए ।
माओवादी शान्ति प्रक्रियामा आए लगत्तै पार्टीभित्र अर्का सशक्त नेता मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्थामा प्रवेशको विषयमा प्रश्न उठाउँदै यसमै लिप्त नहुन सचेत गराउँदा उनले आफूमाथि संकट निम्तिएको ठानेर नारायणकाजी श्रेष्ठसँग पार्टी एकताका निम्ति तयार भएका थिए । त्यसयता प्रचण्ड आफ्ना वैचारिक मान्यताहरू छाडेरै भएपनि सांगठनिक रूपमा बलियो बनेर नेतृत्वमा रहन पार्टी एकतामार्फत प्रयासरत देखिन्छन् ।
जब आफूमाथि सांगठनिक संकट उत्पन्न हुन्छ तब हरेक पटक प्रचण्ड पार्टी एकताको नाममा पूर्ववत् वैचारिक मान्यतालाई परित्याग गर्दै आफ्नो नेतृत्वमाथिको संकट टार्दै आएका छन् । ‘प्रचण्डपथ’ हुँदै ‘माओवाद’ परित्याग पनि त्यसकै निरन्तरता हो ।
सुरुमा मशाल, एकता केन्द्र, माओवादी, एमाओवादी, माओवादी केन्द्र हुँदै अर्को नेकपामा पुगेका प्रचण्डले एकपछि अर्को एकतामा विचारधारा र पार्टीको नामलाई तिलाञ्जलि दिँदै आएका छन् । यसकै निरन्तरतास्वरुप प्रचण्ड अहिले आफ्नो नेतृत्व रक्षाका लागि पार्टीको नाम र चुनाव चिन्ह दुवै त्यागेर आफ्नो मूल पहिचान नै गुमाउन पुगे ।
पार्टीको नाम माओवादी र चुनाव चिन्ह हँसिया हथौडा आफ्नै पहिचानको रूपमा स्थापित भएको थियो । यद्यपि, चुनावी प्रतिकात्मक चिन्हका रूपमा मात्रै परिचित त्यसको अरू उपादेयता भने छैन । सोही नामबाट सञ्चालित तत्कालीन माओवादीको दश वर्षे जनयुद्धले मुलुककै राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान पु¥याए पनि प्रचण्डको सत्तामुखी क्रियाकलापले आन्दोलनका एजेण्डा संस्थागत हुन नसक्दा जनताले अपनत्वबोध गर्न पाएनन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता देङ सियाओ पिङले ‘बिरालो कालो होस् या सेतो, त्यसको काम मुसा मार्ने हो’ भनेजस्तै दल सफल हुने भनेको देश र जनता लक्षित कार्यक्रम र योजनाले हो । फगत नाम र आवरणले मात्रै जनताको विश्वास जित्न सकिँदैन भन्ने विगतका प्रयोगले देखाइसकेको छ । जनताको अपेक्षा मुताविक अघि बढे आवरणरुपी नाम र चुनाव चिन्हले कुनै अर्थ राख्दैन । मुख्य कुरा जनताको पक्षमा परिणाममुखी काम गर्ने सामथ्र्य नै देश र जनता पक्षधर दलको परिचय हो ।
अब त्यसकै आधारमा रूपान्तरित भएर प्रचण्ड अघि बढ्ने प्रयत्न गरेका हुन् भने त्यो स्वागतयोग्य छ । तर यस अघि एमाले अध्यक्ष केपी ओलीसँग सत्ता सहकार्यका लागि माओवाद बिसाएर अन्ततः सर्वोच्च अदालतले दुई पार्टी ब्युँताएपछि बाध्यात्मक रूपमा फेरि माओवादको भारी बोके जस्तै बोक्ने दिन आयो भने त्यो सर्वाधिक लज्जास्पद अवस्था हुने छ ।
यसअघि ओलीसँगको एकता र विभाजन पनि कुनै वैचारिक मिलाप र मतभेदको आधारमा नभएर व्यक्तिगत टकराबको उपज रहेको घटनाक्रमबाट पुष्टि भइसकेको छ । त्यही एकता असफल भएपछि मात्रै प्रचण्ड फेरि माओवादतर्फ फर्किएर असली माओवादीका रूपमा आफूलाई चित्रित गर्ने प्रयत्न गरे पनि बाध्यतावश बोकेको माओवादलाई जनता र कार्यकर्ताले स्विकार्न सकेनन् । त्यसैले त्यतिबेलै सान्दर्भिकता सकिएर परित्याग गरिएको र बाध्यतावश अदालती कारणले स्वीकारेको माओवादबारे अहिले फेरि दुखेसो गर्नु व्यर्थ छ । बरु आजको सापेक्षतामा देश र जनताको आवश्यकतालाई गम्भीरतापूर्वक ध्यान दिएर रूपान्तरित हुन सके विगतमा गुमाएको साख फर्किन सक्छ ।
जनताले जनमुखी कार्यक्रम व्यवहारतः कार्यान्वयन गर्ने दलको अपेक्षा गरेका छन् । त्यस विपरीत सत्ता बाहिर हुँदा देश र जनताको पक्षमा कुरा गर्ने तर सत्तामा जाँदा दलाल र बिचौलियाको घेरामा रमाउने द्वैध चरित्र देखेरै जनता रुष्ट भएका हुन् । यसबाट पाठ सिकेर बाह्य आवरणको मोहभन्दा आफ्ना विगतका कमीकमजोरी सच्याउँदै जनमुखी कार्यलार्ई प्राथमिकता दिएर जनताको विश्वास आर्जन गर्नतर्फ लाग्नु नै पार्टी र देशका लागि हितकर हुनेछ ।
अन्त्यमा, अझै पनि माओवादको मोहमै अल्झिनु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ सिद्धान्त र व्यवहारको तादाम्यता नमिलेको अर्को प्रहसन जारी राख्ने कामबाहेक अरू केही हुँदैन । त्यसैले पार्टी फेर्दै हिँड्ने प्रवृत्ति परित्याग गरेर सच्चा कम्युनिष्ट नेताको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समुन्नत बनाउँदै लैजानुमा प्रचण्डको कल्याण छ ।











