
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् हेरफेरको तयारी गरेकी छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकी हुन् ।
शर्माले आजै २ बजे परराष्ट्रमन्त्रीका रूपमा सपथ लिने तयारी भइरहेको स्रोत बताउँछ । निर्वाचन आउन ६९ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले आफूले सम्हाल्दै आएको परराष्ट्रमन्त्रालयको जिम्मा शर्मालाई दिन लागेकी हुन् ।
शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघमा फोर्स कमाण्डर थिए । त्यसैगरी, उनी सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन् । उनी कूटनीतिक क्षेत्रमा समेत विशेष दख्खल राख्ने पूर्वसैनिक अधिकृत मानिन्छन् ।












