Logo
Logo

देउवाको सत्तामोह र गगन-विश्वप्रकाशको विद्रोह


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा कठिन अवस्थामा विशेष महाधिवेशन बोलाउने प्रावधान छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देशमा देखापरेको विषम परिस्थिति र सरकारले तोकेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलगायतका विषयमा केन्द्रित रही महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आह्वान भएको हो । जसमा बहुमत सदस्यको उपस्थितिले विशेष महाधिवेशनलाई वैधानिकता दिएको छ ।

देशमा भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पनि कांग्रेस नेतृत्वले कमजोरी नस्विकारेपछि कांग्रेसभित्रै विद्रोह भएको छ । जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा पुनः प्रधानमन्त्री बन्ने लोभ गरेपछि अपमानित भएर कांग्रेसबाट बाहिरिनुपर्ने स्थिति बनेको छ ।

जेनजी आन्दोलनपछि कार्यवाहक सभापति खड्कालाई दिए पनि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा देउवाले आफै हस्ताक्षर गरेका छन् भने, प्रत्यक्षतर्फको टिकट पनि आफै बाँड्ने तयारी गरिरहेको बेला कांग्रेसको विशेष महाधिवेशनले देउवाको नेतृत्व ‘अस्वीकार’ गरेर कांग्रेस ‘दास’ र ‘लास’को पार्टी नभएको सन्देश दिएको छ ।

कांग्रेसको विधानले बाध्यकारी बनाएको र बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशन गर्नसमेत देउवाले अस्वीकार गरे । विशेष महाधिवेशन असफल बनाउन अनेक हतकण्डा अपनाए । देउवाले गल्ती सच्याउने छाँट नदेखाएपछि ‘यिनीबाट आशा गर्नु बेकार छ’ भन्दै उनलाई साथ दिँदै आएका देशैभरीका नेता कार्यकर्ताले पनि साथ छाड्ने स्थिति बन्यो । देउवालाई साथ दिँदै आएका संस्थापन पक्षमा ३० जना केन्द्रीय सदस्य समेत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा पुगे ।

विगतमा देउवाले कांग्रेस फुटाउदासमेत साथ दिएका गोपालमान श्रेष्ठले समेत देउवालाई छाडे । दलभित्रकै संघर्षले मात्र नेतृत्व फेर्न सकिन्छ, अरू उपाय छैन भनेर देशभरका प्रतिनिधि विशेष महाधिवेशनमा भेला भए । र, उनीहरूले निष्कर्ष निकाले कांग्रेस बिग्रियो, विगतको गल्ती सुधार्छौँ । त्यसका लागि विशेष महाधिवेशनले नीतिसँगै नेतृत्व पनि परिवर्तन गर्ने संकल्प ग¥यो ।

विशेष महाधिवेशनमा देशभरका बहुमत प्रतिनिधिले नेतृत्व हस्तान्तरणको विषय उठाउँदा पनि देउवाले सुनेनन् । उल्टै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा सोमबार एकताको लागि अपिल जारी गर्न लगाए । पार्टी एकतामा असर गर्ने कुनै गतिविधि नगर्न खड्काले अपिल गरेर कांग्रेस कार्यकर्ताको परिवर्तनको चाहनामा कुठाराघात गरे । देउवाले विशेष महाधिवेशनलाई अवैधानिक भनेका छन् । तर, थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने दाबी गरेका छन् ।

‘यो विशेष महाधिवेशन वैधानिक छ कि छैन यसको वैधानिक प्रावधान के छ ? संविधानले के भन्छ ? राजनीतिक दलसम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो । संविधानभन्दा माथि केही पनि छैन’ महामन्त्री थापाले भनेका छन्, ‘हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको विधान हो ।

आज यो विषयबारे कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क भएर बस्नुस् ।’ विधानको धारा १७ (२)अनुसार विशेष महाधिवेशन बोलाइएको हो र बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएर गरिएको निर्णयलाई कसैले पनि अवैधानिक भन्न नसक्ने थापाको दाबी छ ।

विशेष महाधिवेशनले गरेका निर्णय अध्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी छ । दुवै पक्षले आधिकारिक दाबी गरेको अवस्थामा विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने सम्भावना छ । त्यस्तो अवस्थामा कांग्रेसको संस्थापन को भन्ने विवाद उत्पन्न हुनेछ । त्यसको आधिकारिकता निर्वाचन आयोग हुँदै अदालतले दिनेछ ।

कांग्रेसको विधानअनुसार पार्टी सभापतिलगायत सबै पदाधिकारीको गत मंसिरमा चार वर्षे कार्यकाल पूरा भइसकेको थियो । अधिवेशन समयमा नै सम्पन्न गरिनुपर्नेलगायतका विषयमा गत असोज–कार्तिकमा ४९ दिन चलेको केन्द्रीय कार्यसमितिको बैठकबिना निष्कर्ष टुंगिएको थियो । पुनः बसेको बैठकले पुस १६ गतेदेखि मसान्तसम्ममा गाउँदेखि केन्द्रसम्मको महाधिवेशन सम्पन्न गर्ने निर्णय त ग¥यो तर नौ लाख क्रियाशील सदस्यतामध्य झन्डै पाँच लाख क्रियाशील सदस्यताका फारममा सिरियल नम्बर नराखिएका भेटिएपछि त्यहींबाट अर्को लफडा सुरु भएको थियो ।

विशेष महाधिवेशनको वैधानिकतासँगै नेपाली कांग्रेसबाट पुराना पुस्ताका नेताहरू बहिर्गमन हुने भएका छन् । नयाँ नेतृत्वले देश हाँक्ने अवसर पाएको छ । जुन कुरा नेपालको इतिहासमा नौलो घटना हो ।

यता सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति र केन्द्रीय समितिमा बहुमतको आडमा नियमित अधिवेशन गर्ने भन्दै नयाँ कार्यतालिका बाहिर ल्याए । जसअनुसार आगामी २०८३ वैशाख अन्त्यसम्ममा १५ औँ महाधिवेशन सम्पन्न गरिनेछ भनियो तर गगन–विश्वले यसलाई अस्वीकार गरे । अन्ततः कांग्रेसको नेतृत्व गगन थापाको हातमा जाने देखिन्छ । जसको छिनोफानो विशेष महाधिवेशनले गर्ने भएकाले पनि यो ऐतिहासिक विद्रोह बन्नेछ ।

नझुकेका देउवा
जेनजी आन्दोलनपछि पूर्णबहादुुर खड्कालाई कार्यवाहक सभापति दिएर नेतृत्व हस्तान्तरण गर्ने सन्देश दिएका शेरबहादुर देउवा महामन्त्रीद्वयसँग नझुकेकै कारण विशेष महाधिवेशन बोलाउन महामन्त्रीहरू बाध्य भएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उनको विपक्षमा उभिदा पनि उनले पछिल्लो पटक गगन र विश्वलाई बोलाएर कुरा गर्न चाहेनन्  । पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, रमेश लेखकले मात्र समन्वय गरिरहे । चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएपछि यसले वैधानिकता पाएको छ ।

मंसिर ०७८ मा भएको १४औँ महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए, उनका प्रतिस्पर्धी कोइरालाका पक्षमा ४० प्रतिशत मत परेको थियो । विशेष महाधिवेशनमा २ हजार ६ सय ६२ प्रतिनिधि सहभागी छन् । कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ । सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी छ । आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।

चुकेका शेखर
विशेष महाधिवेशन चल्दै गर्दा शेखर कोइरालाले एउटा भिडियो सन्देश जारी गरे । भिडियोको मूल सन्देश थियो– मध्यमार्ग । कांग्रेसमा संक्रमण भएकाले आफूले त्याग र अपमान सहेर पनि भावनात्मक एकताका लागि लडिरहने भन्दै उनले मध्यमार्गी धारणा सार्वजनिक गरे । कांग्रेसभित्र विधि–विधान मान्ने कि विधान मिच्दै अघि बढ्ने भन्नेहरूबीचको निर्णायक संघर्ष चलिरहँदा कोइरालाले मध्यमार्गी धार लिएपछि एकप्रकारले अन्यौल सिर्जना भएको छ । कांग्रेस रुपान्तरणको निर्णायक घडीमा कोइरालाले लिएको यो धारले उनलाई नै औचित्यहीन जस्तो अवस्थामा ल्याइदिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले शेखर कोइरालालाई केवल एक उम्मेदवार मात्र होइन, पार्टीभित्र परिवर्तनको प्रतीकका रूपमा स्थापित गरिदिएको थियो ।

शेरबहादुर देउवाजस्तो व्यक्तिसँगको प्रतिस्पर्धामा उत्रिँदा उनले युवा पुस्ताको अपेक्षा पुरा गर्ने, संगठनभित्रको असन्तुष्टि सम्बोधन गर्ने र कांग्रेस रुपान्तरण गर्ने आकांक्षा बोकेका थिए । तर, महाधिवेशनमा उनी पराजित भएपछि त्यसलाई सगाल्न सकेनन । उनको पक्षबाट महामन्त्री गगन थापा लगायतका नेताहरूले जिते । कोइराला पराजित भए पनि महामधिवेशनबाट उनी वैचारिक नेताको रुपमा विजेता मानिएका थिए । तर गगन थापाले नै कोइरालाको साथ छाडिदिए । उनलाई कांग्रेसभित्रको नयाँ पुस्ताले भरोसायोग्य नेताको रुपमा विश्वास गर्दै आएको थियो ।

त्यसैले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीभित्र सुरू भएको नेतृत्व र नीतिको रुपान्तरणको बहसमा कोइराला पनि जोडिए । त्यही क्रममा कांग्रेसमा विशेष महाधिवेशनको एजेण्डा आयो । यसको सुरुवात उनी र उनको पक्षका नेताहरू नै गरेका थिए । तर उनको एजेण्डा महामन्त्रीद्वयले अपहरण गरेर उनलाई निर्णायक घडीमा स्वामित्वलिनबाट बञ्चित गराए । अर्थात उनी कांग्रेस विभाजन भएको हेर्न सक्दिन भन्दै पन्छिए ।

प्रतिक्रिया दिनुहोस्