Logo
Logo

गगन-विश्वको विद्रोहः पुराना नेतामाथि नयाँ पुस्ताको चुनौती


252
Shares

यतिबेला नेपाली कांग्रेस विशेष महाधिवेशनमा होमिएको छ । सभापति शेरबहादुर देउवाको स्वेच्छाचारी निर्णयका विरुद्ध महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरू सहभागी भएबाट यसले वैधानिकता पाएको छ ।

लामो समयदेखि जाम भएको नेतृत्व हस्तान्तरणको प्रक्रिया विशेष महाधिवेशनबाट सुरु भएको छ । नेपाली राजनीतिमा यसलाई सबैले स्वागत गरेका छन् । जेनजी विद्रोहमा कुटिएका देउवाले समयको माग र चाहानालाई बुझ्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । यो सँगसँगै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा जाने ढोका खुलेको छ ।

लोकतान्त्रिक विधिबाट सम्पन्न विशेष महाधिवेशनको पाठ नेतृत्वमा बसेर जथाभावी गर्नेविरुद्धको प्रहारसमेत हो । गगन–विश्वप्रकाशको यो आँटबाट अन्य पार्टीका युवाहरूले शिक्षा लिन सके अवश्य पनि लोकतन्त्रको सुदृढीकरण र नयाँ नेपाल निर्माणमा योगदान पुग्नेछ ।

कांग्रेसभित्रको विग्रह कुनै एक दिनमा सुरु भएको होइन । नेतृत्व हस्तान्तरणको असहज प्रक्रिया, पुस्तान्तरणको असफलता, सत्तामुखी राजनीति र वैचारिक शिथिलताले यो समस्या क्रमशः गहिरिँदै गएको कारण यो विद्रोह जन्मिएको हो ।

एकातिर पुराना नेताहरू शक्ति केन्द्रबाट हट्न अनिच्छुक देखिए भने अर्कोतिर नयाँ पुस्ता निर्णायक भूमिकामा पुग्न संघर्ष गर्दा पार्टीलाई विशेष महाधिवेशनको संघारमा उभिन बाध्य बनेको छ । विगतदेखि नै गुट–उपगुटको राजनीतिले कांग्रेसलाई सबैभन्दा बढी कमजोर बनाएको थियो । नीति र विचारभन्दा व्यक्तिको वरिपरि राजनीति घुम्दा संगठनभन्दा गुट बलियो बन्दै गयो ।

विगतमा ३६से र ७४रे बाट झाँगिँदै गएपछि २०५८ सालमा पार्टी विभाजन भयो । विभाजनको पाठबाट जोडिएको पार्टी अहिलेको अवस्थामा पुगेर निष्ठा र योगदानभन्दा निकटता र स्वार्थ हाबी भयो । विग्रहको असर केवल पार्टीभित्र सीमित छैन । देउवाको नेतृत्व पूर्णरुपमा असफल भएको छ । उनको कार्यकाल व्यक्तिकेन्द्रित राजनीति, गुटगत व्यवहार र सत्तामुखी भएका कारण पुस्तान्तरणलाई स्वाभाविक र सम्मानजनक बनाउन कांग्रेस चुकेको देखिन्छ ।

कांग्रेसको सबैभन्दा ठूलो समस्या नेतृत्व संकट हो । नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता स्वीकार गरिए पनि व्यवहारमा त्यो कुरा लागू भएन । यसले पार्टीभित्र सम्भावना भन्दा निराशा बढेको छ । सबैभन्दा निराशाजनक कुरा, कांग्रेस जनताबाट टाढिँदै जान सक्ने अवस्था देखिएको छ । किसान, श्रमिक, युवा र मध्यम वर्गका पीडाहरू कांग्रेसको प्राथमिकतामा नपरेको र जनतासँग प्रत्यक्ष संवादभन्दा चुनावी अंकगणित बढी हाबी भएका कारण अहिले पनि चुनावमा एमालेसँग गठबन्धन गर्ने चर्चा कांग्रेसमा चलिरहेको छ ।

बलियो पक्षले गठबन्धन गर्नु हुँदैन भनिरहेको छ भने कमजोर पक्ष गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा रहेको छ । विशेष महाधिवेशन पक्षधरहरू आगामी निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भनिरहेका छन् । यसले एमालेलाई ठुलो झट्का लागेको छ । विचार र सिद्धान्तप्रति अडिग कांग्रेसजन एक्लै निर्वाचनमा होमिन चाहन्छन् ।

विगतमा कांग्रेस र एमाले विचार मिलेर गठबन्धनमा अघि बढेका होइनन्, त्यो त नक्कली भुटानी शरणार्थी काण्डको आरोपबाट आरजुलाई जोगाउन गठबन्धन हो । कुशासन चलाउने षडयन्त्र मात्रै हो । कांग्रेस–एमाले गठबन्धनको सिण्डिकेटले गत भदौ २३ र २४ गते ठुलो जनधनको क्षति भयो ।

अब फेरि दलीय सिण्डिकेटका लागि ओली र देउवाले गठबन्धनको तयारी गर्दै छन् । त्यसको सुरुवात राष्ट्रिय सभाबाट भएको छ । गठबन्धन गर्ने ओली–देउवाको निर्णयप्रति कांग्रेसभित्रै ठुलो असन्तुष्टि छ । तर, पनि ओली र देउवाले आफूमाथि आइलागेको संकटलाई लोकतन्त्र र व्यवस्थामाथिकै संकटका रूपमा परिभाषित गर्न खोजेका छन् । यो मुलुककै लागि दुर्भाग्य हो । देशलाई पुनः दलीय सिण्डिकेटमा धकेलेर अर्को मुठभेडको खतरामा पु¥याउन खोजिँदै छ ।

जेनजी आन्दोलनको भावना भ्रष्टाचार अन्त्य, सुशासन कायम होस्, दलहरू पुनर्गठित होऊन् र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण होस् भन्ने नै हो । तर, ओली र देउवा उल्टो बाटोमा हिँडिरहेका छन् । उनीहरूकै कारण व्यवस्थामाथि प्रश्न उठेको छ । लोकतन्त्रमा दल बलियो हुनुपर्छ तर, ओली र देउवाले दल, दलीय आस्था र दलप्रतिको अपनत्वलाई कमजोर बनाइरहेका छन् । यसले समग्रमा लोकतन्त्र र व्यवस्थालाई नै कमजोर बनाएको बेला आयोजित विशेष महाधिवेशनले विशेष अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्