काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक उभारको उर्वर भूमि हो–चितवन । यही भूमिले रवि लामिछानेलाई टेलिभिजन स्टुडियोबाट सिधै संसद्को मञ्चसम्म पु¥यायो ।

रास्वपाको राष्ट्रिय राजनीतिको केन्द्रमा चितवनको भूमिका केवल भोट बैंकको मात्र होइन, ‘राजनीतिक प्रयोगशाला’को समेत हो । चितवनवासीले रवि लामिछानेलाई दुई–दुई पटक प्रतिनिधिसभामा पठाइसकेका छन् । र, अब त्यही चितवनमा अर्को राजनीतिक भिडन्तको घण्टी बजिसकेको छ ।
यतिबेला चितवन–३ को चुनावी सरगर्मीले राष्ट्रिय ध्यान खिचेको छ । एकातिर ‘चितवनकी छोरी’को उपनामले स्थापित, विकासप्रेमी छविकी रेणु दाहाल छन् भने अर्कोतिर रास्वपाकी प्रखर वक्ता एवं ऊर्जाशील नेतृ सोविता गौतम । यो भिडन्त केवल दुई व्यक्तिको मात्र होइन, यो ‘अनुभव र विरासत’ विरुद्ध ‘जोस र विकल्प’ बीचको महासंग्राम हो ।
सुरुमा ‘प्रचण्डकी छोरी’को पहिचानले छायामा परेकी रेणु आज त्यो घेराबाट बाहिर निस्किसकेकी छन् । २०८२ सम्म आइपुग्दा उनी आफ्नो काम र प्रशासनिक अनुभवकै बलमा उभिएकी छन् ।
अर्कातर्फ, ऊर्जाशील, प्रखर र स्पष्ट वक्ता छन्, सोविता गौतम । २०७९ को निर्वाचनमा काठमाडौं– २ बाट पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै संसद प्रवेश गरेसँगै उनी वैकल्पिक राजनीतिका प्रमुख अनुहारमध्ये एक बनिन् । अब उनले राजधानी छोडेर चितवन रोजेकी छन् ।
विगतको चुनावी अंकगणित
२०७९ को आम निर्वाचनको तथ्याङ्कले रास्वपा अघि भएको प्रष्ट देखाउँछ । समानुपातिकतर्फको मत अनुसार रास्वा अन्य दलभन्दा १० हजार मतले अघि छ ।
रास्वपाः २८,४०१ मत (पहिलो)
राप्रपाः १६,७५५
तत्कालीन माओवादीः १६,०९०
एमालेः १४,५२२
कांग्रेसः १०,५२४
तत्कालीन नेकपा एसः १,०८५
आज माओवादी र नेकपा एस एक भई नेकपा बनेका छन् । जोड्दा पनि रास्वपाभन्दा करिब १० हजार मतले पछि नै पर्छन् । अर्थात्, समानुपातिक आधारमा चितवन–३ रास्वपाको गढ हो ।
तर प्रत्यक्षतर्फ फरक थियो । राप्रपाका विक्रम पाण्डे ३५,०६० मतसहित निर्वाचित भए । माओवादीका भोजराज अधिकारी २५,८२४ मतमै सीमित रहे । रास्वपाकी उम्मेदवार गीता बराल १४,८४३ मतसहित तेस्रो भइन् ।
रेणुको प्रभाव
रेणु दाहाल भने २०७४ यता भरतपुर महानगरको नेतृत्वमा छन् । २०७४ र २०७९ दुवै निर्वाचन जितेकी उनीमाथि मतपत्र च्यातिएको आरोप लागे पनि कार्यकालपछि उनको कामले आलोचकभन्दा प्रशंसक बढाएका छन् ।
चितवन–३ मा स्थानीय विकासको श्रेय रेणुलाई बढी जान्छ । तर, प्रतिनिधिसभा चुनाव स्थानीय मात्र हुँदैन । यहाँ राष्ट्रिय राजनीति, प्रधानमन्त्रीको आकांक्षा र राजनीतिक भाष्य निर्णायक हुन्छ ।
रास्वपाले बालेन शाहलाई प्रस्तावित प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी मैदान तताइरहेको छ । बालेन–रवि समीकरणले बनेको राजनीतिक ‘क्रेज’को प्रत्यक्ष फाइदा सोवितालाई पुग्ने देखिन्छ । रविले चितवनबाट दुई पटक जितेकै कारण चितवनमा उनको प्रभाव अझै बलियो छ।
उता, रेणु दाहालको पार्टी नेकपा अब पुरानो जोसमा छैन । २०६४ को माओवादी लहर इतिहासमै सीमित छ । नाम फेर्ने बाहेक जनआकर्षण फर्काउने निर्णायक राजनीतिक एजेन्डा ऊसँग देखिँदैन । धेरै नेता–कार्यकर्ता प्रचण्डबाट टाढिँदै गएका छन् ।
तर, भरतपुरको मुहार नै फेरिकी रेणुको लोकप्रियता भने कम छैन । चितवनलाई वैकल्पिक राजधानीको रूपमा विकास गर्ने सपना पनि उनले अघि सारेकी छन् ।
दुवै उम्मेदवार घरदैलोमा छन् । अब फैसला मतदाताको हातमा छ। नौ वर्ष महानगरको नेतृत्व गरेर अनुभवी बनेकी रेणु रोजिन्छिन् ?
वा वैकल्पिक राजनीतिको प्रतीक बन्दै उभिएकी सोविता ? यसको छिनोफानो आगामी फागुन २१ गतेको मतपरिणामले गर्नेछ। तर, यति निश्चित छ चितवन–३ को नतिजाले नेपालको भावी राजनीतिक दिशा र नयाँ शक्तिको गहिराई मापन गर्नेछ।











