Logo
Logo

कांग्रेस-एमालेलाई आफ्नैदेखि डर, नयाँ शक्तिले बनाउँदै ‘घर’


लोक राज रुम्दाली

693
Shares

काठमाडौं । ओखलढुंगाको राजनीति भन्नासाथ सबैभन्दा पहिले बलबहादुर राईको नाम आउँछ । १९ पटक देशको कार्यवाहक प्रधानमन्त्री बन्ने राईको जिल्ला भनेर चिनिने ओखलढुंगामा आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन विगतभन्दा पनि बडो रोचक हुने देखिन्छ । चुनावी प्रतिस्पर्धामा ३ स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् ।

नेपाली कांग्रेसको ‘गढ’ भनेर चिनिने ओखलढुंगामा कांग्रेसको एकछत्र राज २०६४ सालको संविधानसभा निर्वाचनबाट तोडिएको थियो । क्षेत्र नम्बर १ बाट माओवादीका केशव राई र क्षेत्र नम्बर २ बाट माओवादीकै बालकृष्ण ढुंगेलले ‘क्लिन स्विप’ गर्दै कांग्रेसको गढमा पहिलोपटक ‘हँसिया हथौडा’को झण्डा फहराएका थिए । त्यसपछि घरि कम्युनिष्ट त घरि कांग्रेसले निर्वाचन जित्दै आइरहेको छ ।

आगामी फागुन २१ गतेको ओखलढुंगाको निर्वाचन भने कांग्रेस–कम्युनिष्टसँगै नयाँ उदाएका दलले पनि कडा टक्कर दिन सक्ने आंकलन गरिएको छ । प्रहरीका पूर्वडीआइजी विश्वराज पोखरेल यतिबेला ओखलढुंगामा चुनाव प्रचार व्यापक रुपमा गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभाको उम्मेदवार पोखरेलले ‘गाउँ र सहरी मत’बाट राम्रै मत ल्याउन सक्ने देखिन्छ ।

२०७० यता कांग्रेसबाट लगातार उम्मेदवार बनेका रामहरी खतिवडाले टिकट नपाएपछि खतिवडा पक्षका कांग्रेसीहरु असन्तुष्ट छन् । खतिवडा उम्मेदवार भएको खण्डमा सजिलै निर्वाचन जित्न सकिने आंकलन गरिएको अवस्थामा कांग्रेसबाट कुमार लुइँटेलले टिकट पाएका छन् । कांग्रेस सभापति गगन थापासँग सम्बन्ध जति प्रगाढ भएपनि लुइँटेल जिल्लामा त्यति परिचित नाम भने होइनन् । निर्वाचनमा मत माग्न हिँडेपनि उनलाई सर्वप्रथम त खतिवडा पक्षका कार्यकर्ता नै रिझाउनु पर्नेछ ।

यता, नेकपा एमालेमा पनि कांग्रेसकै जस्तो आन्तरिक कलह छ । एमालेबाट दुईपटक निर्वाचन जित्दै ‘ह्याट्रिक’ मार्ने दाउमा रहेका यज्ञराज सुनुवारको टिकट खोसेर जेनजी पुस्ताका अस्मिता थापालाई दिइएपछि हलचलै मच्चियो । किनकि टिकटको आशामा यज्ञराजसँगै अम्बिरबाबु गुरुङ, नानीबहादुर बुढाथोकी र ज्ञानबहादुर खड्का थिए । तर, ‘बालकोट’ र ‘बा’ सँग नजिक अस्मिताले चारै जनालाई ‘बाई बाई’ गरिदिइन् । अस्मिता लिखु गाउँपालिकाकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर चुनावी मैदानमा छिन् । उनलाई पनि निर्वाचन जित्नुभन्दा बेसी पार्टीको आन्तरिक कलह नै व्यवस्थापन नै चुनौती देखिन्छ ।

नयाँ पार्टीको उदय र पूराना पार्टीभित्र आन्तरिक कलहबीच ओखलढुंगाको निर्वाचन बडो रोचक हुने देखिन्छ । अर्थात्, पूरानालाई विरासत जोगाउन र नयाँलाई इतिहास लेख्न । त्यसो त नयाँ पार्टीको रुपमा उदाएको श्रम संस्कृति पार्टी अहिले चुनावी प्रचारमा छ । श्रम संस्कृतिका उम्मदेवार डा. उद्धब राईले पनि जिल्लाबाट जनजाति समुदायको मत तान्न सक्ने आँकलन गरिएको छ । र, स्वतन्त्र उम्मेदवारहरुले पनि केही मत काट्ने बताइन्छ ।

त्रिपक्षीय भिडन्त
एमालेले अम्बिरबाबु गुरुङको साटो लिखु गाउँपालिकाकी उपाध्यक्ष थापालाई टिकट दिएपछि गुरुङले विद्रोह गरेका छन् । यदि थापाले टिकट नपाएको भए ओखलढुंगामा कांग्रेस-एमालेबीच नै मुख्य भिडन्त हुन्थ्यो । तर, एमालेले टिकट नदिएपछि ‘देखाउँछु पख’ भन्दै एमाले क्याम्प छाडेका गुरुङको जिल्लामा विशेष पकड छ । यसअघि कोशी प्रदेशको मन्त्रीसमेत भइसकेका उनलाई ‘भोट मेसिन’ पनि भनेर जिल्लामा चिनिन्छ ।

हरेक निर्वाचनमा निर्णायक मानिएका उनी अहिले प्रचण्ड-माधवको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका छन् । जित हार निर्वाचनको नतिजाबाट थाहा हुन्छ, तर एमालेबाट बाहिरिएका अम्बिरबाबुले थापालाई जाने मतमात्र होइन माओवादी, जनता समाजवादी पार्टी (जसपा)लगायतको मत पनि राम्रै पाउने छन् । गुरुङलाई जिताउन जसपाले आफ्नो उम्मेदवार नै उठाएको छैन ।

पहिले एउटै पार्टीमा रहेपनि अहिले थापा र गुरुङ प्रतिस्पर्धी छन् । निर्वाचन जित्न एकले अर्कालाई हराउनैपर्छ । एकले अर्कालाई हराउनुअघि मुख्यगरी कांग्रेस, रास्वपाका उम्मेदवार हराउनुपर्ने हुन्छ । कांग्रेसका उम्मेदवार कुमार लुइँटेल पनि अहिले चुनावी प्रचारमा व्यस्त छन् । कसैले उनलाई नयाँ अनुहार भनेका छन् त कसैले अनुभव नभएको उम्मेदवार ।

विगतमा कांग्रेसको गढ भनेर चिनिएको जिल्लाबाट उनलाई कांग्रेसी शुभचिन्तकबाट मत जाला तर जित हासिलका निम्ति उनले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । रामहरी खतिवडा पक्षको मत तान्न सकस स्थितिमा उनले प्रतिस्पर्धीसँग चुनावी मैदानमा भिड्न त्यति सजिलो छैन । कांग्रेसमा नेतृत्व परिवर्तनसँगै पहिलोपटक निर्वाचनको टिकट पाएका लुइँटेलले पहिलो गाँसमै ढुंगा त भेट्टाउँदैनन् ?

नयाँ शक्तिको उदय
२०७९ को निर्वाचनमा जिल्लामा त्यति राम्रोसँग नफस्टाएको रास्वपा अहिले नयाँ शक्तिको रुपमा उदाएको छ । पूर्व एआइजीपी विश्वराज पोखरेलको ‘इन्ट्री’सँगै चुनावी सरगर्मी तातेको छ । रास्वपामा बालेनको प्रवेशसँगै आमयुवाको मस्तिष्कमा परिवर्तनको एक खालको तरंग पैदा भएको छ । र, ग्रामिण र सहरी क्षेत्रका युवाहरु बालेनप्रति आकर्षित भएको हुनाले युवापुस्ताको भोट पोखरेलले तान्न सक्ने आंकलन गरिएको छ ।

परिवर्तनको वकालत गर्ने रास्वपाबाट पोखरेल उम्मेदवार हुनुले ओखलढुंगाको चुनावी समीकरण झनै जटिल बनेको छ । पोखरेलले विशेषगरी युवा र ‘तटस्थ’ मत काट्ने सम्भावना छ, जुन मत यसअघि कांग्रेस वा एमालेतिर नै जाने गर्दथ्यो । पोखरेलको सशक्त उपस्थितिले लुइँटेल र थापाको युवा मतमा धक्का पुग्न सक्ने बताइन्छ ।

यता, हर्क साम्पाङको सिद्धान्तमा स्थापित श्रम संस्कृतिका उम्मेदवार डा. राईले पनि जनजाति समुदायको भोट राम्रै पाउने देखिन्छ । जिल्लाका विशेषगरी मोली, वाक्सा, उबुँलगायत राई बाहुल्यता रहेका ठाउँबाट डा. राईले भोट पाउने देखिन्छ । यसअघि ती भोट पूराना दललाई जाने गर्दथ्यो । र, त्यहिँ निर्णायक भोटले एमाले र कांग्रेसका उम्मेदवार विजयी हुन्थे । तर, यसपटक पार्टी अध्यक्ष हर्क साम्पाङ आफैँ ओखलढुंगा पुगेर एक खाले जनमत तानेका छन् ।

कांग्रेसमा ‘रामहरी फ्याक्टर’
लुइँटेलका लागि सबैभन्दा कठीन पक्ष भनेको पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नै हो । राज्य व्यवस्था समितिका अध्यक्षसमेत रहेका रामहरि खतिवडा जिल्लाका प्रभावशाली नेता हुन् । उनीसँग जो कोहीलाई आफूमा तान्ने ‘जादूको छडी’ क्षमता छ । खतिवडाले नै टिकट पाउछन् भनेर ढुक्क भएर बसेका समर्थक र कार्यकता अहिले निराशामा छन् । र, अन्तर्घातको जोखिम पनि उत्तिकै छ ।

निर्वाचनमा कांग्रेसको आफ्नै परम्परागत मत जोगाउनु र खतिवडानिकट कार्यकर्तालाई पूर्ण रूपमा परिचालन गर्नु लुइँटेलका लागि ‘फलामे चिउरा चपाउनु’ सरह हुन सक्छ । यदि आन्तरिक रूपमा ‘मौन असहयोग’ भयो भने उनको अवस्था जोखिममा पर्न सक्छ । हुन त लुइँटेलले टिकट पाएपछि खतिवडाले बाहिरी रुपमा आफ्नो पूर्ण समर्थन रहेको र लुइँटेललाई जिताउन सबै लागि पर्नुपर्ने बताएका थिए । तर, वास्तवमा बााहिर देखिएजस्तै संस्थापन खेमाका खतिवडाले लुइँटेललाई दिलो ज्यान दिएर सहयोग गर्लान् त ? यो भने चुनावी नतिजापश्चात् जोड घटाउ हुने छ ।

काठमाडौंबाट मंगलरबार जिल्ला फर्किँदै गरेका खतिवडासँग टिकट विषयमा कुरा गर्दा त्यति खुलेर बोलेनन् । उनले आफूले टिकट नपाएपछि बाहिर जे जति असन्तुष्टिका स्वर सुनिएका छन् त्यो समर्थक र शुभचिन्तकको माया र ममता भएको बताए । ‘यसलाई नकारात्मकभन्दा पनि माया ममताका रुपमा हेर्छु । कांग्रेसलाई निर्वाचन जिताउने नै हो ।’ यद्यपि, उनको बोलाईबाटै प्रष्ट हुन्थ्यो कि टिकट पाउने ढुक्क रहेका उनी अहिले जिल्लामा जबर्जस्ती कांग्रेसको इज्जत बचाउनु नै धर्म हो भन्नेमा छन् ।

एमालेलाई आफ्नैदेखि डर
ओखलढुंगाको आगामी प्रतिनिधिसभा निर्वाचन अस्मिता थापा र अम्बिरबाबु गुरुङबीचको प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण देखिएको छ । अस्मिता थापाका लागि अम्बिरबाबु गुरुङ ‘भारी’ हुने बताइन्छ । एमाले परित्याग गरी नेकपाबाट चुनावी मैदानमा होमिएका उनले यस पटक ‘विद्रोही’ र ‘शक्तिशाली’ दुवै छविलाई सँगै लिएर हिँडेका छन् । गुरुङ लामो समयदेखि एमाले ओखलढुंगाको बलियो खम्बा र पूर्वमन्त्रीसमेत हुन् । तर, पार्टीले उनलाई छाडेर अस्मिता थापा (जो लिखु गाउँपालिकाकी पूर्व उपाध्यक्ष र एमाले केन्द्रीय पनि सदस्य हुन्) लाई टिकट दिएपछि एमालेको परम्परागत मत दुई भागमा बाँडिएको । जस्ले सबैभन्दा प्रत्यक्ष असर थापालाई परेका देखिन्छ । जेनजी पुस्ताको प्रतिनिधि भनेर एमाले अध्यक्ष ओलीले थापालाई टिकट दिए पनि अनुभवी र ‘हेभीवेट’ व्यक्तित्वसँग लडाइ गर्नु थापालाई महाभारतको युद्ध हुने देखिन्छ ।

गुरुङसँग प्रदेश मन्त्री भएको अनुभव र जिल्लाभरि व्यक्तिगत प्रभाव छ । त्यसो त आगामी निर्वाचनमा गुरुङलाई जसपालगायतका अन्य केही दलले पूर्ण समर्थन गर्ने निर्णय गरेकोले गुरुङको शक्ति थप बढेको छ । मुख्य कुरा, एमालेका धेरै पुराना कार्यकर्ताहरू उनीसँग निकट रहेकाले उनले सजिलै एमालेभित्रकै ‘विद्रोही’ मत तान्न सक्छन् । युवा र नयाँ अनुहारको प्रतिनिधि बनेर आएकी थापा पार्टी अध्यक्ष ओलीको रोजाइमा परे पनि जिल्लाका पुराना नेता/कार्यकर्ताहरूमाझ लोकप्रिय छैनन् । धेरैले त उनको नाम नै नसुनेको ओखलढुंगा एमालेमा चर्चा छ ।

थापाका लागि गुरुङ राजनीतिक रूपमा विविध कारणले निकै ‘भारी’ देखिन्छन् किनभने गुरुङसँग एमालेको सांगठनिक मत काट्ने मात्र होइन, कांग्रेसका उम्मेदवार कुमार लुइँटेल र रास्वपाका पोखरेलसँगको प्रतिस्पर्धामा थापाको शक्तिलाई सजिलै कमजोर बनाउन सक्ने क्षमता रहेको देखिन्छ ।

कुन दलबाट कस्ले कुन सालमा निर्वाचन जिते ?
२०४८ देखि २०५६ सम्म कांग्रेसले एकछत्र राज गर्दै सँधै निर्वाचनमा आफ्नो पोल्टामा पारेको थियो । तर, १० वर्षे जनयुद्धबाट हतियार बिसाएर संसदीय प्रणालीमा भाग लिएको माओवादीले २०६४ मा ओखलढुंगामा कांग्रेसको गढ भत्काएर हँसिया हथौँडाको झण्डा गाढ्यो । २०७० को संविधान सभाको निर्वाचनसम्म दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगा २०७४ पछि गाभिएर एउटै निर्वाचन क्षेत्र बन्यो । र, २०७४ यता ओखलढुंगामा कम्युनिष्ट र कांग्रेसले नै निर्वाचन साटफेर गरेको देखिन्छ ।

२०४८ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका बलबहादुर राई र २ मा पनि कांग्रेसकै चन्द्रकान्त दाहालले निर्वाचन जितेका थिए । २०५१ को मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका चन्द्रकान्त दाहाल निर्वाचन जित्दा क्षेत्र नम्बर २ बाट एमालेका हेमराज राईले निर्वाचन जितेका थिए । २०५६ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका होमनाथ दाहाल र क्षेत्र नम्बर २ बाट कांग्रेसकै गोपाल राईले निर्वाचन जिते ।

२०६४ को संविधान सभा निर्वातनमा क्षेत्र नम्बर १ मा माओवादी केशव राई र क्षेत्र नम्बर २ बाट बालकृष्ण ढुंगेलले क्लिन स्वीप गर्दै कांग्रेसको गढ भत्काएका थिए । २०७० को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका यज्ञराज सुनुवार र २ बाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनबाट दुई क्षेत्र गाभिएर एउटै बनेको थियो । र, त्यो निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुनुवार विजयी भएका थिए भने प्रतिस्पर्धी खतिवडाले हार व्यहोरेका थिए । २०७९ को निर्वाचनमा फेरि सुनुवारलाई हराउँदै कांग्रेसका खतिवडाले जित निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्