Logo
Logo

चुनावी चटक र ‘सेन्टिमेन्ट’को राजनीति


डा. दीपेश केसी

378
Shares

नेपाली समाजले फरक फरक कालखण्डमा फरक फरक व्यक्तिलाई नायक या खलनायक बनाउँदै आएको इतिहास छ । २००७ सालयता त्यो क्रम झन् रोचक रूपमा चल्दै आएको छ ।

२०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई नायक जसरी उदाए, सिंह लौहपुरुषका रूपमा चिनिए भने भट्टराई सन्तनेता । गणेशमान सिंहले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर त्यागको उदाहरण बने । सन्तनेता कृष्णप्रसाद भट्टराईले चौतर्फी दबाब थेगेर छोटो समयमै अन्तरिम संविधान जारी गरेर देखाए ।

तर, गणेशमान र किशुनजी जस्ता नेताहरु जीवनको अन्तिम समयमा आफैले मलजल गरेको नेपाली कांग्रेसभित्रको हेपाईं सहन नसकेर पार्टी नै छाडेर जान वाध्य भए । गणेशमान कांग्रेस नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट थिए । भट्टराईको असन्तुष्टि कांग्रेस राजसंस्था छाडेर गणतन्त्र पक्षधर भएकोमा थियो ।

२०४६ सालको जनआन्दोलन पछि मदन भण्डारी करिश्मामयी नेताको रूपमा उदाए । उनको भाषणको क्यासेट घर घरमा बज्थ्यो । जनताको बहुदलीय जनवाद विचार निर्माण गरेर उनले एमाले मजबुत बनाए । भण्डारीको रहस्यमय दुर्घटनामा निधन भयो । त्यसपछि देशले धेरै आरोह अवरोह भोग्यो ।

माओवादीको १० वर्ष लामो हिंसापछि शान्तिको मार्गमा आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नायक जस्तै गरी प्रस्तुत गरिए । उनी गणतन्त्र र धर्मनिरपेक्षका कट्टर पक्षपाती थिए । प्रचण्डको विचारसँग कसैको सहमति वा विमति होला तर उनी विचारको राजनीतिमा दृढ थिए । पहिलो संविधानसभाको चुनावमा तत्कालीन माओवादीले ठूलो विजय नै हासिल गरेको थियो । तर, जुन आशा दिलाएर प्रचण्ड सत्तामा पुगे त्यो पूरा गर्न सकेनन् । उनी झमेलाहरूमा पर्दै गए । प्रचण्डको लोकप्रियता यति खस्कियो कि उनको रणनीतिक चार्तुयताले मात्र उनी राजनीतिमा टिके । गणतन्त्र र धर्मनिरपेक्षता आफूले नै ल्याएको जस लिँदै प्रचण्ड राजनीतिक आरोह अवरोहबीच शक्तिको केन्द्रमा छन् ।

२०७२ सालको संविधान निर्माणमा केपी शर्मा ओलीले लिएको अडानले उनलाई नायक जस्तै बनायो । जनस्तरमा ओलीको लोकप्रियता निकै बढ्यो । नाकाबन्दीमा उनले लिएको अडान होस् या चुच्चे नक्सा बनाउने कदम नै किन नहोस् ओली इतिहासकै प्रभावशाली नेता जसरी प्रस्तुत गरिए । तर, सत्ताको झमेलामा ओली नराम्ररी फसे । पार्टीभित्रकै आफ्ना विरोधीलाई पेल्ने र तह लगाउनमा माहिर देखिए । २०८२ सालमा आइपुग्दा जेनजी विद्रोहले सत्ताबाट हट्नुपर्दा ओली राजनीतिक जीवनकै अलोकप्रिय बन्न पुगेका छन् । एमालेका लागि पनि उनी आवश्यकता भन्दा पनि बाध्यता बन्न पुगिसके ।

यतिबेला चर्चामा छन् बालेन साह । कानमा टप, कालो गग र भात गाउँले टोपीको ठाँटबाटमा देखिने कुनैबेलाका ¥यापर बालेन लोकप्रियताको शिखरमा छन् । मूलधारका मिडियाहरू उनको बायोग्राफीलाई महत्त्वपूर्ण स्थान दिइरहेका छन् । सामाजिक सञ्जालमा उनकै चर्चा छ । घर घर चुलो चुलो, सडकमा उनकै विषयले ठाउँ पाइरहेको छ । लाग्छ, उनी अर्कै लोकबाट झरेर डुब्न लागेको देशलाई उतार्न लाग्दै छन् । काठमाडौं महानगरपालिकाको मेयरका रूपमा परीक्षण भइसकेका बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका छन् । उनी झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी मैदानमा छन् ।

अहिले देशमा दुई वटा भाष्य खडा गर्न खोजिएको छ । एउटा हो बालेन जिते के के नै हुने, बालेन हारे आकाशै खस्ने । ओली हारे देश नै डुब्ने, ओली जिते देश कायापलट हुने भाष्य बनाउनेहरू पनि नभएका होइनन् । राजनीतिमा यस्ता भाष्य बनाइन्छन् । राजनीतिमा व्यक्ति नै सब थोक हो भन्ने बतास चलाइएपछि विचार शून्य बन्छ । देशको राजनीतिमा अहिले यस्तै हुरी बतास चलिरहेको छ । विचारलाई ओझेलमा पार्दै व्यक्तिलाई नायक बनाएर छद्म तरिकाले राज्यसत्तामा निहित उद्देश्यका साथ पकड बनाउने खेलहरू चलिरहेका छन् । यो खेलमा पुराना भनिएका दल र तिनका नेता लागे लागे नयाँ भनिएकाहरू झन् अगाडि देखिन थालिसके ।

देशमा चुनाव आउन एक महिना बाँकी छ । तैपनि मुख्य भनिएका दलहरूको घोषणापत्र नै सार्वजनिक हुँदैन । यो किन ? जनतासामु दलहरू दर्शन र विचार बोकेर होइन व्यक्ति बोकेर गइरहेका छन् । त्यसैले दलहरूमा आफ्ना नेतालाई प्रधानमन्त्री देखाएर जाने तँछाडमछाड चलिरहेको छ । काँग्रेसले गगन थापालाई, एमालेले केपी ओलीलाई अनि रास्वपाले बालेन्द्र साहलाई घोषित रूपमै भावी प्रधानमन्त्री भन्दै चुनावी प्रतिस्पर्धामा गइरहेको छ । नेकपाबाट पुष्पकमल दाहाल नै प्रधानमन्त्री जसरी प्रस्तुत गरिएका छन् । ती दलहरूको दर्शन के हो ? विचार के हो ? घोषणापत्र के हो ? कहीँ कतै विचार विमर्शमा छैन । विचारहीनताको राजनीतिले देशलाई पक्कै पनि ठिक बाटोमा लाँदैन ।

राजनीतिमा विचार भनेको चराको पुच्छर जस्तै हो । पुच्छर विनाको चराले गति त लिनसक्ला तर दिशाहीन हुन्छ । जसरी पुच्छरविनाको चरा उडेर क्षणभरमै ठोक्किन्छ विचार विनाको राजनीतिक शक्ति चाँडै दुर्घटनामा पर्छ । दर्शन विना राजनीति चल्दैन । जनतामा व्याप्त असन्तुष्टिमा क्षणभर लाभ लिन सकिएला तर दर्शन विनाको राजनीति लामो समय जान सक्दैन । लोकप्रियताले क्षणिक उचाइ दिन सक्ला तर त्यसले यति छिट्टै तल झारिदिन्छ कि चालै पाइँदैन । विचारको भन्दा व्यक्तिवादी वाक्युद्ध र तँछाडमछाडको अहिलेको राजनीतिलाई गम्भीर रूपमा लिनुपर्छ ।

राजनीतिक दर्शन र विचार नहुँदा भीडको भावना अनुसार नेता बन्छु भन्नेहरू चलिरहेका छन् । खगेन्द्र सुनारको गाईकाण्ड होस् या स्वर्णिम वाग्लेको हिन्दूराष्ट्र र राजसंस्था पक्षधर रास्वपा छाडे हुन्छ भन्ने अभिव्यक्ति पुनः चर्चामा छ अहिले । यसले जुन क्रिया प्रतिक्रिया ल्यायो त्यसले उनीहरू ठिक विपरीत रूपमा प्रस्तुत हुन थाले । वाग्ले त मन्दिर गएको तस्बिर र भिडियो भाइरल बनाइरहेका छन् । बालेनको तीर्थाटन चुनावको मुखमा चलिरहेको छ । बालेन उनै हुन् जो काठमाडौँको मेयर हुँदा मधेसी समुदायले छठ मनाउने पोखरीबाट वञ्चित हुनुपरेको थियो । मतदाताको सेन्टिमेन्ट जित्नमा सीमित राजनीतिमा यस्तै तिकडम हुन्छ । यसले समाजलाई कुनै मार्गदर्शन गर्दैन ।

दलहरू कस्तो विचार, नीति र कार्यक्रम लिएर आइरहेका छन् भन्ने नै बेवास्तामा पारिएको छ । भविष्यको नेपाल कस्तो बनाउने, नेपालीलाई कसरी समृद्ध र सुखी बनाउने दृष्टिकोणमा कुनै चर्चा नै छैन । कुन उम्मेदवारको अनुहार कस्तो, कपाल कस्तो, लगाएको लुगा कस्तो सामाजिक सञ्जालमा यस्ता विमर्शले बढी ठाउँ पाइरहेका छन् । भाइरल बन्ने होडबाजी नै चलेको छ । एआईको दुरुपयोगबाट कुनैपनि गतिविधिको बढाइचढाइ चलाइएको छ । उम्मेदवारहरू नेता कम सेलिब्रिटी बढी हुन थालेका छन् ।

विचार शून्य राजनीतिमा यस्ता चटकहरू चलिरहन्छन् । तडगभडग र चटकको राजनीतिले देश चल्दैन । देश चलाउने सिद्धान्त, विचार, नीति, निष्ठा र प्रतिबद्धता चाहिन्छ । पुरानाहरूले त्यस्तो आवश्यकतालाई बेवास्ता गरिदिँदा देशको यो हालत भयो । नयाँ त झन् विचारहीन राजनीतिको दौडमा छन् । यसले उनीहरू सत्तामा त पुग्लान् तर सही नेतृत्व गर्न सक्दैनन् । जति छिटो उचाइमा पुग्छन् उति छिटो झर्छन् ।

प्रतिक्रिया दिनुहोस्