काठमाडौं । बङ्गलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले बिहीबार भएको निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ ।

बङ्गलादेशमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक देखाइएको छ ।
‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म सो पार्टीले ४ सिट मात्रै जितेको छ र एक सिटमा अग्रता लिएको छ । सीएनएन र रोयटर्सले भने ५ सिट जितेको उल्लेख गरेका छन् । एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवारहरू खडा गरेको थियो ।
निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाएको छ । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्याच्युत भएकी थिइन् । त्यसपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।
एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प भएको बताउँदै आएका थिए । पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।
बङ्गलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरु भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरुवाती दिनमा प्रदर्शन गरेका थिए ।
विद्यार्थी आन्दोलन बिस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भएको थियो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरुद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मारिनेमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।
आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बङ्गलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले बिहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् ।
यो पनि पढ्नुहोस्












