Logo
Logo

मतदानमा ‘जेनजी’ क्रेज : रोजगारी र स्थिरताको खोजी


630
Shares

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् ।

तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किइन् । डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि उनले मतदान गर्न पाउँदा यत्साहित भएको प्रतिक्रिया दिइन् ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिइन् ।

‘यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खंरै नेपाल फर्किएको हुँ’, उनले भनिन्, ‘अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता, सुशासन पर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचार बढी हुनाले युवाहरू विदेशिन बाध्य छन् । देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सृजना भएमा अधिकांश युवा स्वदेशमा बस्नेछन् । अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ ।’

मैतीदेवी घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेकी छन् । तर यस पटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको बताइन् । श्रेष्ठले यस पटक परिवारभित्रै पनि फरकफरक राजनीतिक धारणा देखिएको उल्लेख गरिन् ।‘हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल गर्यौं । मैले मतदानमा स्वविवेक प्रयोग गरेको छु,’ उनले भनिन् ।

पहिलो पटक निर्वाचनमा सहभागी भई मतदान गगरेका १९ वर्षीया सार्थक सङ्ग्रौलाले पनि आफू मतदान गर्न पाउँदा उत्साहित हुनुका साथै आफूलाई थप जिम्मेवार बनाएको धारणा राखे । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि उनले आफ्नो अनुभव सुनाए ।

उनले भने, ‘पहिलोपटक भोट हाल्दा केही अफ्ठयारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो । मेरो मतको कदर हुन्छ, देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ ।’

उनले बाबुआमासँग छलफल गरे पनि अन्तिम निर्णय भने आफ्नै विवेकबाट गरेको बताए ।

यस्तै, २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देखिइन । ‘अनुहारमा देखिन्छ होला, म एकदम उत्साहित छु’, उनले हाँस्दै भनिन्। उनको अपेक्षा छ, अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ ।

‘पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन् । अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ,’ उनले भनिन् ।

पराजुलीले युवापुस्ताका जायज माग पूरा हुनुपर्नेमा जोड दिइन् । सोही मतदान केन्द्रमा मतदान गरेका २४ वर्षीया आकृति सापकोटाले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताइन् ।

‘यस पटकका उम्मेदवार सक्षम देखिन्छन् । के सही र के गलत भन्ने अनुभव पनि सबैले गरिसकेका छन्’, उनले भनिन्, ‘पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ ।’

उनको यो दोस्रो मतदानको अनुभव हो । पहिलोपटक मतदान गर्दा परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यस पटक भने दलका एजेण्डा अध्ययन गरेर आफूले निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्