काठमाडौं । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा निकै आकर्षक थियो । गगन थापाको चमक–धमक र विश्वप्रकाशको शब्दजालले कार्यकर्तामा एकखाले उत्साह पनि सिर्जना ग¥यो, तर जब ब्यालेट बाकस खुल्यो, कांग्रेस यसरी बदली यो कि इतिहासमै सबैभन्दा निरीह बन्यो । ५० वर्षदेखि गुटको जालमा फँसेको पार्टीलाई ५० दिनमै बदल्न खोज्नु गगनको साहस थियो कि दुस्साहस ? विशेष महाधिवेशनको ह्याङ उत्रिन नपाउँदै निर्वाचनको धक्काले थलिएको कांग्रेस अब फेरि कसरी उठ्ला ? प्रश्न पेचिलो बनेको छ ।
फागुन २१ को निर्वाचनअघि नेपाली कांग्रेसको एउटै हुंकार थियो– ‘सुधारिएको कांग्रेस, टु–पोइन्ट–ओ’ । गगन थापाको नेतृत्वमा एउटा आकर्षक नारा घन्काइयो– ‘बदल्यौं कांग्रेस, बदल्छौं देश ।’ कार्यकर्ताले छाती पिटेरै भने– ‘अबकी बार, गगन सरकार ।’
तर, जब परिणाम आयो, कांग्रेस यसरी बदलियो कि इतिहासमै सबैभन्दा निरीह बन्न पुग्यो । २००७ सालको क्रान्तिपछि २०१५ सालमा पहिलो संसदीय निर्वाचन भएको थियो । १०९ सिटका लागि भएको चुनावमा कांग्रेसले ७४ सिट जितेको थियो । करिब ३७ दशमलब २२ प्रतिशत मतसहित कांग्रेस निर्विवाद शक्ति बनेको थियो । त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीले जम्मा ४ सिट जित्दा नेपाली राष्ट्रिय गोरखा परिषद्ले १९ सिट पाएको थियो ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०४८ सालमा भएको दोस्रो संसदीय निर्वाचनमा पनि कांग्रेस पहिलो दल बन्यो । २०५ सिटमध्ये ११० सिट जित्दै उसले ३७ दशमलब ७५ प्रतिशत मत प्राप्त ग¥यो । तर त्यसपछि आन्तरिक कलहले कांग्रेसलाई कमजोर बनायो । २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस ८३ सिटमा सीमित भयो र मत प्रतिशत पनि ३३ दशमलब ३८ मा झ¥यो । यही चुनावमा एमाले पहिलो दल बन्यो र नौ महिना सरकारको नेतृत्व ग¥यो । २०५६ सालको निर्वाचनमा कांग्रेसले फेरि केही सुधार ग¥यो । २०५ मध्ये १११ सिट जित्दै उसले ३६ दशमलब १४ प्रतिशत मत पायो ।
तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ २४० मध्ये ३७ सिटमा सीमित भयो । समानुपातिकतर्फ उसले २१ दशमलब १४ प्रतिशत मत मात्र प्राप्त ग¥यो, जबकि माओवादी पहिलो शक्ति बन्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले केही सुधार ग¥यो । प्रत्यक्षतर्फ १०५ सिट जित्दै समानुपातिकतर्फ २५ दशमलब ५५ प्रतिशत मत ल्यायो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएपछि कांग्रेसले ठूलो हार बेहो¥यो । १६५ प्रत्यक्ष सिटमध्ये उसले जम्मा २३ सिट मात्र जित्यो, यद्यपि समानुपातिक मत भने ३२ दशमलब ७७ प्रतिशत पायो । २०७९ सालको निर्वाचनमा पहिलो दल बनेपनि कांग्रेसको मत प्रतिशत २५ दशमलब ७१ मा झ¥यो । जेनजी विद्रोहपछिको पहिलो निर्वाचनमा त कांग्रेस झै कमजोर देखियो । प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिँदा समानुपातिकतर्फ जम्ममा १६ दशमलब २४ प्रतिशत पायो ।
‘बदल्यौं कांग्रेस’ भन्दाभन्दै गगन थापाको नेतृत्वले कांग्रेसलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पु¥याइदियो । नारामा ‘देश बदल्ने’ सपना बाँडेका सभापति गगन पनि आफै पराजित भए । गगनका लागि यो ‘सुधारिएको कांग्रेस, टु–पोइन्ट–ओ’ भर्सन नभई पार्टी सिध्याउने ‘डिस्ट्रक्सन वान पोइन्ट ओ’ सावित भयो ।
गगन र विश्वप्रकाशहरूले कांग्रेस बदल्ने प्रयास सुरु गरेका थिए, यो सत्य हो । तर आम नागरिकले ‘रूख’ चिन्हमै भरोसा गरेर भोट हाल्ने अवस्था भने बनिसकेको थिएन । गगन–विश्वले विशेष महाधिवेशनमार्फत ‘हामी बदलियौँ’ भन्ने सन्देश दिन खोजे, तर जनता भने त्योभन्दा अगावै आफ्नो मत बदल्ने निष्कर्षमा पुगिसकेका थिए । त्यसको स्पष्ट संकेत निर्वाचन परिणाममै देखियो । सिट संख्या र जनमत दुवै हिसाबले नतिजा कांग्रेसका लागि अपेक्षाभन्दा निकै तल रह्यो ।
‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित चुनावमा गएको पार्टीले लज्जास्पद हारे भोगेपछि पार्टीभित्र र बाहिर दुवैतिर नेतृत्वको नैतिक जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ । निर्वाचन परिणामको समीक्षा भइरहेकै बेला गगानले राजीनामाको संकेत दिएपछि कांग्रेसमा मात्र नभई, नेपाली राजनीतिमै तरंग पैदा भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले पराजयको मुख्य दोष नेतृत्वमै थोपर्दै विशेष महाधिवेशनको औचित्य नै समाप्त भएको दाबी गरिरहेको छ । गगन पक्षले भने विगतमा देउवा नेतृत्वको असफलता, बढ्दो अलोकप्रियता र चुनावी अन्तर्घातका कारण पराजय भएको तर्क गर्दै अफ्नो नेतृत्वको बचाउ गरिरहेका छन् ।
यद्यपि केही विश्लेषकहरूको मत फरक छ । गगन–विश्वले जोखिम मोलेर कांग्रेस बदल्ने प्रयास नगरेको भए २१ फागुनको परिणाम अझ भयावह हुने उनीहरुको दाबी छ । एमाले र माओवादीसँग सत्ताको ‘म्युजिकल चेयर’ खेल्नु तत्कालीन नेतृत्वको गम्भीर भूल थियो । लिक बाहिर निस्किएको पार्टीलाई फेरि लिकमा फर्काउनु अनिवार्य भइसकेको थियो । त्यसैले गगन–विश्वले हस्तक्षेप गर्दै पार्टीलाई ट्र्याकमा ल्याउने प्रयास गरेका हुन् । वर्षौंदेखि गुट र गिरोहतन्त्रमा जकडिएको संगठनलाई ५० दिनमै पुनर्जीवित गरेर चुनाव जिताउने अपेक्षा आफैंमा दुस्साहस थियो । परिणामले पनि त्यही यथार्थ देखायो । देशभर ‘नयाँ कांग्रेस’को माहोल बनाउन गगन–विश्वले मेहनत गरेपनि देउवा पक्षबाट साथ पाउनै सकेनन् ।
उम्मेदवारी दर्ताको दुई दिनअघि मात्र नेतृत्व सम्हालेका गगनसँग न उम्मेदवार छनोटका लागि पर्याप्त समय थियो, न त देशभरका असन्तुष्ट पक्ष मिलाउने अवसर । दशकौँदेखि सत्ता र शक्ति सम्हाल्दै आएको पुरानो पार्टीभित्रको शक्तिशाली समूहका लागि यो परिवर्तन सहज थिएन । अर्कोतर्फ, गगन नेतृत्वमा आउनुअघि नै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक राजनीतिप्रतिको आकर्षण बढिसकेको थियो । जनताको मन परिवर्तन भइसकेको अवस्थामा ५० दिनको प्रयासले मात्रै त्यो जनलहर रोक्नु सम्भव थिएन ।
यसबाहेक कांग्रेस विवादसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहँदै गर्दा पार्टी चुनावमा होमिएको थियो । एउटा हातमा अदालतको फाइल र अर्को हातमा चुनावी घोषणापत्र बोकेर चुनाव लड्नुपर्ने असहज अवस्थाबीच गगनले पार्टीमा केही ऊर्जा भर्न खोजेका थिए । तर संरचनात्मक अवरोध र समय अभावले त्यो ऊर्जा पूर्ण परिणाममा बदलिन सकेन ।
यो हार कुनै एक व्यक्तिको असफलता होइन, यो त परिवर्तनसँग डराउने जडता र समयको संकेत बुझ्न नसक्ने सिंगो संरचनाको पराजय हो । अब यो निर्वाचनको घाउमा समीक्षा भन्ने सामान्य मलम लगाएर पुग्दैन, वडा तहदेखि नै शल्यक्रिया आवश्यक छ । समयसँगै आफूलाई रूपान्तरण गर्न नसक्ने शक्तिहरू अन्ततः इतिहासका पानामा मात्र सीमित हुन्छन् भन्ने कुरा यो निर्वाचनको परिणामले देखाई दिएको छ । जनताले सामाजिक सञ्जालमातर्फन दलहरुलाई सच्चिने कि सक्किने भनेर चेतावनी दिइरहेको थियो, तर पुराना दलहरु सच्चिन तयार भएनन, आखिरी सक्किए ।











