
गत चैत्र ४ गते रास्वपा सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई एउटा सुन्दर अर्ति दिए– ‘अराजक नबन्नू, असहिष्णु नहुनू र विपक्षीमाथि भद्दा कटाक्ष नगर्नू ।’ उनको यो भनाइले रास्वपालाई एउटा ‘सहिष्णु मध्यमार्गी लोकतान्त्रिक शक्ति’ बनाउने सपना थियो ।
तर, यसलाई नियतिको खेल भनूँ या विडम्बनापूर्ण संयोग, सभापतिको ओठबाट उपदेशको कम्पन सेलाउन नपाउँदै बाहिर एउटा यस्तो उग्र र असहिष्णु जत्था सक्रिय भयो, एकातिर शालीनताको मन्त्र जपिँदै थियो, अर्कोतिर ’डिजिटल लिन्चिङ’को खेती सुरू भयो ।
सायद, रास्वपा कार्यकर्ताहरूले सभापतिको आदर्शलाई ‘ऐना’मा हेरे, जहाँ प्रतिविम्ब सधैँ उल्टो देखिन्छ । उनीहरूले सभापतिको वाणीलाई मार्ग निर्देशन ठानेनन्, त्यसको ठ्याक्कै विपरीत र ध्वंसात्मक आदेशका रूपमा ग्रहण गरे । मानौँ, नेतृत्वको ओझपूर्ण भाषण उनीहरूका लागि सुन्नका लागि मात्र थियो, बुझ्न र आफूलाई बदल्नका लागि होइन ।
यही वैचारिक विचलन र उग्रताको निशानामा सञ्चारकर्मी विश्व लिम्बू परे । उनको अपराध केवल यति थियो । उनले पार्टीको ‘अभिमुखीकरण’को आवरणभित्र लुकेको विलासितामाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए– ‘कोहीकोही सांसदहरूले गाडीको ढोका पनि आफैँ खोल्न नसक्ने, कोही करोडौँमा गाडीमा आउने र जुन भेन्यु छानियो, त्यो पाँच तारे होटेल हो । अहिले कुनै पनि दलको कुनै पनि छलफल, अभिमुखीकरण कार्यक्रम, तालिम कार्यक्रमजस्ता कार्यक्रम पाँच तारे होटेलमा गर्नको लागि उपयुक्त समय थियो ? आमजनताले खोजेको परिवर्तन यही थियो ? अहिले पाँच तारे होटेलमा कार्यक्रम गर्नु जरुरी थियो त ?
प्रश्न केवल खर्चको मात्र थिएन, प्रश्न त नैतिकता र समयको सान्दर्भिकताको थियो । एकातिर आमजनता महँगीको मार, बेरोजगारीको दंश र राज्यको चरम उदासीनतासँग जुधिरहेका छन्, अर्कोतिर ‘परिवर्तन’को संवाहक दाबी गर्ने दलले आफ्ना प्रतिनिधिहरूलाई पाँचतारे होटेलमा प्रशिक्षण दिनु के जनभावनाको उपहास होइन ? के जनताले सपना देखेको ‘नयाँ राजनीति’ यही विलासिता हो ? के परिवर्तनको डम्फु बजाउनेहरूका लागि भुइँमान्छेका समस्याभन्दा होटेलका ’लक्जरी’ हलहरू प्रिय हुन थालेका हुन् ?
यो प्रश्न कुनै अपराध थिएन, बरु जनताले सोध्नै पर्ने प्रश्न थियो । लोकतन्त्रमा प्रश्न नै अपराध ठानिन थाल्यो भने त्यहाँ लोकतन्त्र बाँकी रहँदैन, केवल झुन्डको अधिनायकवाद बाँकी रहन्छ । तर, रास्वपाको डिजिटल जत्थाका लागि यो प्रश्न असह्य बन्यो । किनकि, उनीहरूका लागि पार्टी अब राजनीतिक संस्था होइन, एउटा मन्दिर बनिसकेको छ, जहाँ प्रश्न गर्नु भनेको धर्मद्रोह गर्नु हो । नेतृत्वको आलोचना गर्नु भनेको ईश्वरमाथि निन्दा गर्नु हो । यो मानसिकता राजनीतिक होइन, खतरनाक धार्मिक कट्टरताको राजनीतिक संस्करण हो । जहाँ तर्क मर्छ, विवेक सुक्छ र भक्तिभावले सत्यलाई निल्छ ।
रास्वपाको वरिपरि अहिले यस्तै अन्धभक्तिको विषाक्त घेरा बन्दै गएको छ । यो पार्टीको वास्तविक शक्ति होइन, वास्तविक संकट हो । कुनै पनि राजनीतिक दलको सबलता उसको समर्थकको संख्यामा होइन, उसको आलोचना सुन्ने क्षमतामा मापन हुन्छ । आलोचनाले जसलाई तर्साउँछ, त्यो दल लोकतान्त्रिक हुनै सक्दैन । आलोचनालाई षड्यन्त्र र असहमतिलाई शत्रुता ठान्ने दल अन्ततः पार्टी कम, पन्थ बढी बन्छ । रास्वपाले यदि यही बाटो समात्यो भने ऊ पनि छिट्टै त्यही पुरानो रोगले ग्रस्त हुनेछ, जसलाई गाली गरेर ऊ जन्मिएको थियो ।
झन् विडम्बना त के छ भने, यो सबै उग्रता धेरैजसो सिद्धान्तबाट होइन, स्वार्थबाट प्रेरित हुन्छ । यिनै डिजिटल योद्धामध्ये कति जनाको आँखामा अहिले नै स्थानीय तहको टिकटमा गएको छ । कतिले प्रदेशमा ताकिरहेका छन् । कति जनाले बोर्ड, प्राधिकरण, समिति, आयोग वा सरकारी अड्डामा ‘विज्ञ’को खोल ओढेर कुर्सी ताकिरहेका छन् ।
उनीहरूलाई थाहा छ– अहिले सबैभन्दा ठूलो भक्त देखियो भने भोलि केही न केही प्रसाद मिल्छ । त्यसैले उनीहरू आज सामाजिक सञ्जालमा सबैभन्दा ठूलो रक्षक, सबैभन्दा ठूलो जयजयकारे र सबैभन्दा ठूलो जल्लाद बन्ने प्रयासमा छन् । यस्तो भीडलाई लोकतान्त्रिक चेतना होइन, पदको गन्ध चलाइरहेको हुन्छ ।
रास्वपा नेतृत्वले समयमै बुझ्नुपर्छ– यस्ता मानिसहरू सुरुमा निकै उपयोगी देखिन्छन् । किनकि उनीहरूले आलोचकलाई तर्साउँछन्, विरोधीलाई हतोत्साहित गर्छन्, नेतृत्वलाई देवत्वकरण गर्छन् । तर, यिनीहरू नै सबैभन्दा खतरनाक पनि हुन्छन् । आज जसले अरूलाई टोक्न दौडिन्छ, उसले भोलि टिकट नपाए, पद नपाए, पहुँच नपाए आफ्नै नेतृत्वको घाँटी समात्न पनि पछि पर्दैनन् । यस्ता ‘डिजिटल भतुवा’हरूको कुनै सिद्धान्त हुँदैन, कुनै नैतिकता हुँदैन, कुनै स्थायी निष्ठा हुँदैन । यिनको धर्म केवल अवसर हो । आज जयजयकार, भोलि गालीगलौज ।
तर सबैभन्दा दुःखद कुरा के छ भने, यही कोलाहलभित्र रास्वपाका असली, इमानदार, निस्वार्थ र परिवर्तनको साँचो सपना देख्ने कार्यकर्ता हराउँदै गइरहेका छन् । ती मान्छे, जसले साँच्चै पुराना दलहरूबाट वाक्क भएर एउटा नयाँ सम्भावनामा विश्वास गरे । जसले पार्टीको झन्डा बोके । आज तिनीहरू ओझेलमा परेका छन् । किनकि पार्टीको वरिपरि हुर्केका डिजिटल जल्लादहरूको हल्ला धेरै ठूलो छ । असली कार्यकर्ताले पार्टी बनाए, तर अहिले पार्टीको ट्रोल, जल्लाद र अवसरवादीहरूले कब्जा गर्न थालेका छन् ।
रास्वपाका लागि आजको सबैभन्दा ठूलो खतरा एमाले, कांग्रेस वा माओवादी होइनन् । सबैभन्दा ठूलो खतरा त आफ्नै वरिपरि हुर्काइएको यो असहिष्णु, उन्माद र बौद्धिक रूपमा दरिद्र भीड हो । विपक्षीले त पार्टीलाई बाहिरबाट मात्र हान्न सक्छ, तर यस्ता अन्धभक्तहरूले पार्टीलाई भित्रैबाट कुह्याउँछन् । कुनैपनि पार्टी आलोचनाले सकिँदैन । पार्टी सकिन्छ जब उसले आफ्नो वरिपरि सत्य बोल्नेलाई पन्छाएर, जयजयकार गर्ने भीड र डिजिटल जल्लादलाई स्थान दिन थाल्छ । त्यो दिनदेखि पार्टीको पतन सुरु हुन्छ, चाहे बाहिरबाट त्यो जति लोकप्रिय किन नदेखियोस् ।
रास्वपाले यदि साँच्चै आफूलाई नयाँ भन्न चाहन्छ भने, उसले सबैभन्दा पहिले आफ्ना समर्थकभित्र पलाएको यो डिजिटल फाँसीवाद नियन्त्रण गर्नुपर्छ । किनकि, नयाँ राजनीति भनेको केवल नयाँ अनुहार होइन, नयाँ संस्कार हो । यदि, पुराना दलहरूले जस्तै आलोचकलाई गाली गर्ने, प्रश्नकर्तालाई सिध्याउने, नेतृत्वलाई देवता बनाउने र समर्थकलाई डिजिटल लठैतमा रूपान्तरण गर्ने नै हो भने रास्वपा पुरानो पनि नयाँ बोतलकै पुरानै रक्सी हुनेछ । रास्वपाले बुझ्न जरुरी छ– जनताले विकल्प खोजेका हुन्, अर्को झुण्डे अहंकार होइन ।
अन्ततः प्रश्न रास्वपाको मात्र होइन, यो नेपाली लोकतन्त्रको भविष्यसँग जोडिएको प्रश्न हो । हामी विचारको राजनीति बनाउँदै छौँ कि भीडको तानाशाही ? हामी लोकतन्त्रलाई बलियो बनाउँदै छौँ कि डिजिटल भीडलाई न्यायाधीश, जल्लाद र नैतिक प्रहरी बनाउँदै छौँ ? यदि आलोचना सुन्न नसक्ने, प्रश्न पचाउन नसक्ने र असहमति सहन नसक्ने संस्कार नै अबको राजनीति हो भने, यो परिवर्तन होइन– यो केवल पुरानै रोगको अझ कुरूप, अझ हिंस्रक र अझ मूर्ख संस्करण हो । रास्वपा नेतृत्वले समयमै यी ’डिजिटल जल्लाद’ र ‘निस्वार्थ कार्यकर्ता’ बीचको रेखा चिन्न सकेन भने, यो पार्टी ‘नयाँ’ बाट ‘अति पुरानो’ र ‘अति संकीर्ण’ बन्न धेरै समय लाग्ने छैन ।











