Logo
Logo

क्रोधको बारुदमाथि उभिएको शासक


भुपेन्द्र थापा ‘माधव’

189
Shares


सत्ताको अहंमतामा उभिएको क्रोधित पहाड
घमन्डको ज्वालाले पग्लिँदै सकिने छ ।
तिरस्कारले बाँधिएको बाँध
परिवर्तनको भेलले भत्किने छ ।
दुख,पीडा र असमानताले उठेका पर्खालहरू
चेतनाको बाढीले ढलाउने छ ।

घमन्ड त्यो आगो हो, जसले आफैलाई खरानी बनाउँछ।
बारुदको थुप्रो माथि उभिएर
जसले असमानताको आगो फुक्छ ।
उसले तिरस्कार जन्माउँछ,अहंकारलाई हुर्काउँछ ।
आफूलाई आकाशमा उड्ने बाज
अरूलाई जमिनमा चर्ने चल्छ सम्झन्छ ।
क्रूरताको शिखरबाट निर्धाहरू माथि झम्टन्छ ।
नरसंहारको ताण्डव देखाउँदै
दोष आमाको पखेटालाई लगाउँछ ।

घमन्डको शिखरमा मौसम बदलिएको छ ।
परिवर्तनको मेघ गर्जिएको छ ।
चेतनाको खडेरी माथि मुसलधारे पानी बर्सिएको छ ।
तानासाही आकाशको बाज विलीनताको
जमिनमा पछारिएको छ ।
घमन्ड र अहङ्कारको पखेटा चकनाचुर भएको छ ।
सुन्यतामा हराएको त्यो अहंकारी शरीर
सास फुरी सके तर तिम्रा निरङ्कुश नग्नाले घोचेका बेथा
इतिहासले लेख्ने छ ।
ढलेको तिम्रो अहङ्कारको कथा
सत्य र निष्ठाका जीवित कलमहरूले ।

बिचार,सिद्धान्त र आदर्श विहीन तिम्रो लास
आज बेवारिस सिनो भएको छ ।
छल,कपट र पटक पटक चलाखीले जीतेका
शकुनि र तिम्रो बेवारिसे हालत एउटै भएको छ ।
तिम्रो सिनो माथि भन्किएका दूषित झिँगाहरू
तिम्रो दुर्गन्धित सिनो उठ्दा समेत सहरका सडकहरूमा
तिम्रो दुर्गन्ध पछ्याउँदै यत्रतत्र भनभनै रहेछन् ।
तिमीले अहङ्कार र घमन्ड फैलायौ ।

तिम्रा दूषित झिँगाहरू विध्वंसको हैजा फैलाउंदैछन् ।
खबरदार दूषित झिँगाहरू जनताले तिम्रो शरीरमा
सत्यानाशको विष छर्न नपरोस् ।
शक्तिशालीको घमन्ड कुनै शासकले नगरोस्
हिट्लर र नेपोलियन झै आफ्नै शक्तिको
बारुदले आफै जल्न नपरोस् ।
शासकको ताज होइन, जनताको राज होस्।

प्रतिक्रिया दिनुहोस्