Logo
Logo

समाजका प्रतिनिधि घटनाहरु ‘चश्मा र आँखाको वार्ता’


छविरमण सिलवाल

378
Shares


नेपाली साहित्यमा तीसको दशकदेखि अनवरत सिर्जनशील व्यक्तित्व स्नेह साय्मि चर्चित कवि हुनुहुन्छ । मुख्यतः कवितासँगै नेपाली साहित्यमा प्रगतिशिल तथा सामाजिक विषयवस्तुमा उहाँको कलम चलिरहेको छ । उहाँका लेखनका विषयहरुमा समाजका सामान्य मानिसको जीवन, संघर्ष, प्रेम, समयको परिवर्तन र सामाजिक यथार्थ नै हुन्

नेपाली समाजसँग प्रत्यक्ष जोडिएका सामाजिक सम्बन्धहरुलाई उहाँले कवितामा प्रस्तुत गर्नुहुन्छ । साहित्यसँगै व्यवस्थापन, सङ्गीत, नाटक, नेपाल भाषा, पत्रकारिता, तथा सांस्कृतिक गतिविधिमा पनि सक्रिय हुनुहुन्छ ।

‘स्नेह साय्मि कवितामात्र लेख्दैनन् कवितामा उनेर विचार लेख्छन् । उनी सरल भाषामा ठूलाठूला सिद्धान्त वा दर्शन पनि थाहै नपाइकन पाठकका मस्तिष्कमा घुसाइदिन्छन् । कवितामा पढेझँै लाग्छ, तर एउटा छोटो कविता पढिसक्दा नसक्दै टाउको झनन्न पारिदिन्छन् । अरु नै केही भन्न खोजेको जस्तो लाग्छ कविताले, तर त्यसको लक्षण कतै अन्तै हुन्छ ।’ स्नेह साय्मिको कवितासङ्ग्रह ‘चश्मा र आँखाको वार्ता’मा साहित्यकार विधान आचार्यज्यूले लेख्नु भएका यी हरफहरुमा वास्तविक चित्र प्रस्तुत भएका छन् । कविताको वास्तविक सौन्दर्य भने कै यही हो ।

सायमिका नेपाली भाषासँगै नेपालभाषामा पनि पुस्तकहरु प्रकाशन भएका छन् । उहाँको पछिल्लो चर्चित कवितासङ्ग्रह ‘चश्मा र आँखाको वार्ता’ कवितामार्फत समाजलाई शुष्म अध्ययनका साथै समाजसँग उठबस गर्दै सिर्जना गरिरहनु भएको छ । त्यसैले त उहाँको सिर्जना सामाजिक यथार्थलाई शब्दको माध्यमबाट सरल तर गहिरो भाव भएको भाषा, मानव सम्बन्ध, समय र संघर्षका विषयहरुमा केन्द्रित भएको पाइन्छ ।

सायमिका कवितामा पाइने मुख्य विशेषताहरुमा समाजका वास्तविक समस्या र जीवनका अनुभवलाई कवितामा उतार्नु हो । पढ्दा सजिलो तर अर्थमा गहिराइ भएको शैली निर्माण गर्नु, प्रेम, पीडा, आशा, संघर्ष जस्ता मानवीय संवेदनालाई कवितामार्फत पोख्दै, संस्कृति र जीवनशैलीको झल्को दिने सांस्कृतिक चेतना भएका कविताहरु ‘चश्मा र आँखाको वार्ता’मा पढ्न सकिन्छ ।
‘चश्मा र आँखाको वार्ता’कवितासङ्ग्रहभित्र छयालिस ओटा कविताहरु रहेका छन् । समाजसँगै जोडिएका यथार्थ चित्रहरु कवितामार्फत प्रस्तुत भएका छन् ।

हरेक कविताहरु पढ्दा हामीले भोगेका कुनै न कुनै घटनाक्रमहरु ताजा बन्छन् । ‘स्कुले नानी’ शिर्षक कविताले ७२ सालको भूकम्पको त्रासद समयको झल्को दिन्छ । हामी सबैले भोगेको त्यो समयमा बालबालिकाहरुका साझा पीडा कवितामार्फत पोखिएको छ । भोग्नेले त्यो दिन सम्झन्छन् नै, नभोग्नेले इतिहासको त्यो क्रुर दिनलाई मनन गर्न सक्छन् । त्यसैले पनि यी कविताहरु यथार्थ चित्र भएर इतिहासमा उभिएका छन् ।

‘हिजोआज अधिकांश आँखाहरु आफ्नै दृष्टिसँग अनभिज्ञ छन् । आफूले देखेको, आफ्नो नजरले गरेको महसुसलाई अविश्वास गर्छन् । बरु चश्मा लगाएपछि आँखाहरुले शीतल अनुभव गर्छन् । चश्मा लगाएपछि जे देखिन्छ, त्यसमा विश्वास गर्छन । आँखाहरुले चश्माबिना पनि हेर्न सकिन्छ भन्ने विश्वास गुमाउँदै गएका छन् ।

दृष्टि नै चश्मामा निर्भर भएपछि चश्माहरुको बजार बढ्दो छ । चश्माहरु आँखाहरुलाई चुनौती दिनसक्ने भएका छन् । चश्मा र आँखाबिचको वार्ता पनि हुने गर्छ । आँखाले सोध्ने गर्छ कि ‘ए चश्मा, तिमीले त्यही देखाइरहेका छौ जो तिमी चाहन्छौ, वा त्यही देखाइरहेका छौ जो म हेर्न चाहन्छु, या जे वास्तविकतामा जस्तो छ, त्यो देखाइरहेको छौ ?’ कवि स्नेह सायमिका यी विचारहरु जस्तै ‘चश्मा र आँखाको वार्ता’कृतिले सास्वत सत्यको उजागर गरेको छ । समाजका घटनाले सिकाएको अभिव्यक्तिको सानो स्वरुप हो ‘चश्मा र आँखाको वार्ता’ भन्न चाहन्छन् कवि सायमि । हरेक पलहरु आफैले देखेर पनि विश्वास गर्न कठिन पर्ने समयमा हामी उभिएका छौ अहिले । यस्तो समयलाई शब्दमा कैद गरेर ‘चश्मा र आँखाको वार्ता’मार्फत कविले एउटा समयको दस्तावेज बनाउनु भएको छ ।

‘चश्मा र आँखाको वार्ता’भित्रका कविताहरुले धेरै प्रश्न उब्जाएका छन् । समाधानका उपायहरुको पनि खोजी गरेका छन् । मान्छेका अहम्लाई सन्तुलनमा ल्याउन खोजेका छन् । देश भन्दा माथि मै छु भन्ने अहमकारीहरुलाई चेतावनी दिन खोजिरहेका छन् ।

जनताभन्दा उच्च
झण्डाभन्दा सुन्दर
आमाको अनुहारभन्दा प्रेममय
के अर्को शक्ति छ ?
के यो देशमा अतिरिक्त शक्ति छ ? पृ.१३


वास्तवमा कविता मान्छे र समाज भन्दा पर हुनै सत्तैmन । अनेकन बिम्बप्रतिकहरुले अल्झन पनि चाहदैनन्, अल्झन्छन् त केवल समाजका यथार्थ बिम्बहरुले जहाँ सत्यको उद्घोष गरिरहेका हुन्छन् । ‘चश्मा र आँखाको वार्ता’ भित्रका कविताहरु पनि मान्छे र समाजका पर्यायवाची कविताहरु हुन् । मानवीय संवेदना हराउँदै गएको हाम्रो समाजको कथा हो, ‘वृद्धाश्रम’ शीर्षकको कविता एउटा ज्वलन्त उदाहरण पनि हो । अर्को कुरा वैदेशिक मोहले रित्तिँदै गएको हाम्रो गाउँबस्तीहरुले हामीलाई जिस्काएको भान पनि हुन्छ नै यस्ता कुरामा हामी बेलैमा सर्तक हुनुपर्छ भन्ने चाहना कविको छ । हाम्रोमा सरकारी काम प्रति धेरै वितिष्णा छ, टेबुलमुनिबाट खाने घुस हाकाहाकी टेबुल माथिबाटै चल्न थालकोमा चिन्तित छन् कवि सरकारी फाइल शीर्षकको कवितामार्फत हामीलाई सजग बनाउन खोज्नुभएको छ ।

जो बचे युद्धबाट
नयाँ मृत्यु रोज्न खाडी पुगेका छन्
नयाँ सत्ताका गीत यतै छोडेर
पुरानो सत्ताको राजधानी ए काठमाडौँ
लौ न भनिदेऊ
उनीहरु त्यहाँ के गरिरहेका छन् ।

जनयुद्धको विश्राम भएपश्चात राजधानी पुगेका नेताहरु कता हराएँ भनेर जनयुद्धको मूलथलो थवाङका जनताहरुले खोजिरहेका छन्, त्यही आवाजलाई सायमिले कवितामार्फत खबरदारी गरेका छन् । यस्ता धेरै प्रतिनिधि घटनाक्रमहरुलाई कवितामार्फत समाजलाई खबरदारी गर्नुपर्छ भन्ने मूल मान्यता कविको ‘चश्मा र आँखाको वार्ता’ले बोलिरहेका छन् । जीवनका अनुभव र समाजका सङ्गत–विङ्गत पाटाहरुलाई कवितामार्फत पढ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्