काठमाडौं । यतिबेला नेकपा एमालेको सूर्यमा ग्रहण मात्रै लागेको छैन, कालो बादल पनि मडारिन थालेको छ । अध्यक्ष केपी शर्मा ओली अहिले हिरातमा छन् ।
जेनजी आन्दोलनमाथि भएको राज्यदमनबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओलीमाथि छानबिन चलिरहेको छ । विडम्बना, ओली हिरासतमा हुँदा बादलकै कारण च्यासलमा ‘भाँडभैलो’ मच्चिएको छ ।
कम्युनिष्ट आन्दोलनमा दशकौँ रगत, पसिना बगाएका इमानदार नेता–कार्यकर्ता पाखा लगाइएका छन् भने अर्को कित्ताबाट आएका रामबहादुर थापा ‘बादल’ले पार्टी नेतृत्व र संसदीय दल दुवैमा कब्जा जमाएका छन् । सोही कारण पार्टी संकटको भुमरीमा छ, नेता–कार्यकर्ता आफ्नै आन्तरिक द्वन्द्वको चक्रव्यूहमा फसेका छन् ।
च्यासलमा संसदीय दलको नेता चयन गर्दा कसलाई बनाउने भन्ने छलफल हुँदा एमालेसँग दुईवटा विकल्प थिए । एक– ३६ वर्षीय युवा नेता सुहाङ नेम्वाङलाई अघि सारेर बदलिँदो राजनीतिक यथार्थ र नयाँ पुस्ताको भावनालाई आत्मसात् गर्ने कि अर्को– ७० वर्षको उमेर नाघिसकेका पूर्वमाओवादी नेता बादललाई अघि सारेर ओलीको विरासत जोगाउने । दुर्भाग्यवश, एमालेले दोस्रो बाटो रोज्यो । यो निर्णयले पार्टीलाई नयाँ ऊर्जा र गति दिनुको साटो झन् गहिरो वैचारिक दलदलमा धकेलिदिएको छ । नेतृत्वको घेराबन्दीका कारण सुहाङले प्रस्तावक र समर्थक समेत नपाउने स्थिति सिर्जना गरियो ।
अन्ततः महासचिव शंकर पोखरेलको दम्भ अगाडि परिवर्तनको एजेन्डा निरीह साबित भयो । जब एक उदीयमान युवा नेतालाई आफ्नै दलभित्र उम्मेदवार बन्ने लोकतान्त्रिक हकबाट वञ्चित गरियो, तब एमालेको युवा पुस्तामा असन्तोषको डढेलो सल्किएको छ । एमाले मुख्यलयमा युवापुस्ताले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
दक्ष र युवा नेता सुहाङलाई निषेध गरिनु केवल एक व्यक्तिको पराजय होइन, यो त बदलिएको जनमत र युवा उभारविरुद्ध एमाले नेतृत्वले गरेको कठोर प्रहार हो । संसदीय दलको नेताको उम्मेदवार नै बन्न नदिइएपछि सुहाङले पनि सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन् ।
आजको राजनीतिक यथार्थ के हो भने पुरानो शैलीको भाषण, पुरानो ढाँचाको संगठन र पुरानै अनुहारको राजनीति अब जनताबाट बहिस्कृत भइसके । यस्तो बेला सुहाङजस्ता युवा नेतालाई अघि सार्नु एमालेका लागि केवल रणनीति होइन, परिमार्जित हुने अवसर पनि थियो । तर, दुभाग्र्य, एमालेले त्यो अवसरलाई लात हान्यो ।
संसदीय दलको नेता चयनलाई लिएर एमालेभित्र आन्तरिक कलह चर्किएकै बेला, चैत १९ को प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता बादलको सम्बोधनले ‘बलेको आगोमा घिउ’ थप्ने काम ग¥यो । दलको नेताका रूपमा रोष्ट्रममा उभिएका बादलको प्रस्तुतिमा न कुनै राजनीतिक गरिमा झल्किन्थ्यो, न त लोकतान्त्रिक परिपक्वता नै । उल्टै, उनको मन्तव्यले एमालेभित्र व्याप्त हताश, पराजयको छटपटी र ’षड्यन्त्र’ देख्ने सङ्कुचित मानसिकतालाई छताछुल्ल पारिदियो । आफ्नो हारको दोष अरूलाई थोपर्ने क्रममा उनले नेपाली सेनादेखि ‘टिओबी ग्रुप’ सम्मलाई दोषारोपण गरे
त्यति मात्रै होइन, उनले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, शान्ति र समृद्धिका पक्षमा उभिएका पात्रहरूलाई ‘खलनायक’ र ‘हत्यारा’ बनाउने षड्यन्त्र भएको र सिंहदरबार जलाउनेहरूलाई ‘महानायक’ बनाइएको भाष्य समेत प्रस्तुत गरे ।
संसद्को रोष्ट्रममा उभिएर गरिएको त्यो सम्बोधन कुनै सन्तुलित राजनीतिक विश्लेषण थिएन, लज्जास्पद पराजयपछि उब्जिएको आक्रोशको विसर्जन मात्र थियो । बादलका ती शब्दहरूले एमालेको गरिमा बढाउनुको साटो पार्टीभित्रै ठूलो भुईँचालो ल्याइदियो ।
बादलको उदय
बादल आज एमालेको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता त बनेका छन्, तर यो उनको राजनीतिक उचाइ वा जनमतको अनुमोदन किमार्थ होइन । बरु, यो ओलीवाद संकटमा पर्दा जन्मिएको एउटा राजनीतिक दुर्घटना हो । विडम्बना के छ भने हिजो जुन संसदीय व्यवस्थाका विरुद्ध बन्दुक बोकेर जङ्गल पसेका थिए, आज तिनै पात्र त्यही संसद्मा एमालेको कमान्डर बनेर उभिएका छन् । बादल एमालेमा कुनै विचारको भारी बोकेर आएका होइनन्, उनी केवल अवसरको झोला बोकेर भित्रिएका हुन् । प्रचण्डको काँध चढेर सत्ताको स्वाद चाख्ने, ओलीको ओत लागेर पद जोगाउने र अहिले ओलीकै संकटलाई भ¥याङ बनाएर शीर्षस्थानमा उक्लिने उनको यो यात्रा निष्ठाको राजनीति भन्दा पनि लाभको व्यापार मात्र हो ।
एमालेका इमानदार नेता कार्यकर्ताको लागि आजको सबैभन्दा पीडादायी भनेको दशकौँदेखि झन्डा बोकेका, जेल बसेका, संगठन बनाएका, पसिना बगाएकाहरू किनारामा हुन हो । हिजो अर्को कित्ताबाट आएका नेताले आज शक्ति र पद कब्ज गर्नु भनेको एमाले वैचारिक रुपमा समाप्त भएको संकेत पनि हो । यो केवल सङ्गठनात्मक फेरबदल होइन, यो पुराना निष्ठावान् कार्यकर्तामाथिको राजनीतिक अपमान पनि हो । एमालेभित्र आज धेरैले प्रश्न गरिरहेका छन्– हामीले यत्रो वर्ष संघर्ष किन ग¥यौँ ? अन्ततः नेतृत्व त संकटको बेला अर्को कित्ताबाट आएकै पात्रलाई दिनु थियो भने हाम्रो निष्ठाको मूल्य के ? यही प्रश्नले एमालेको भित्री जग हल्लाइरहेको छ ।
ओली गुटबाट बादललाई अघि सार्नु एमालेका लागि तत्कालीन व्यवस्थापन हुन सक्छ । तर यसले पार्टीकै भविष्य अन्धकारमा धकेलिदिएको छ । च्यासलले बादललाई नेता त बनायो, तर एमालेकै भविष्यमा कालो बादल मडारिन थालेको छ । आज एमालेभित्र सुरेन्द्र पाण्डे, विष्णु पौडेल, योगेश भट्टराईहरूको असन्तुष्टि चुलिएको छ, सुहाङहरूको मौन विद्रोह छ, युवा पुस्ताको वितृष्णा छ र कार्यकर्ता निराशा छन् । यी सबै कुरा अहिले सतहमुनि देखिए पनि भोलि यिनै असन्तुष्टिहरू ठूलो राजनीतिक भूकम्पमा बदलिन सक्छन् ।
अध्यक्ष ओली हिरासतमा हुनु र पार्टीको नेतृत्व पूर्वमाओवादीलाई सुम्पनुले पार्टीभित्र अन्योल थपेको छ । युवा पुस्ता निरुत्साहित छन् भने नेतृत्वको अभिव्यक्ति रक्षात्मक देखिन्छ । जनविश्वास क्रमशः क्षय भइरहेको यो अवस्थामा एउटा गम्भीर प्रश्न उब्जिएको छ– निरन्तर क्षयीकरण भइरहेको एमालेको यो पतनको यात्रा कहाँ पुगेर टुङ्गिएला ? यस विषयमा एमालेका दोस्रो पुस्ताका इमानदार नेता–कार्यकर्ताहरू गम्भीर बन्नैपर्छ । ०००











