
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको विरासत बोकेको नेकपा एमाले अहिलेजस्तो दयनीय अवस्थामा कहिले पनि पुगेको थिएन ।
नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, लोकतान्त्रिक आन्दोलनमा समेत विगतमा एमालेले ठूलो भूमिका खेलेको छ । त्यसैको जगमा आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गरिरहेका छौं । यही अभ्यासको क्रममा पनि एमालेका तीन–तीन जना नेताहरू देशकै प्रधानमन्त्री बनिसके ।
०४८ सालदेखियता पटकपटक सत्ताको स्वाद चाखेका एमालेका मन्त्री, प्रधानमन्त्रीले देश र जनताका लागि के काम गरे भन्ने कुरा आजका युवाहरूले मूल्यांकन गरिरहेका छन् र त्यसको परिणाम सिंगो एमालेले भोगिरहेको छ ।
कम्युनिष्ट पार्टीको नेतृत्व सही नेताको हातमा पुग्यो भने देशले कसरी आर्थिक समृद्धि हासिल गर्छ भन्ने कुराको उदाहरण चीनका राष्ट्रपति सी जिनपिङ हुन् भने, गलत व्यक्तिको हातमा नेतृत्व पुग्दा देशको अस्तित्व कसरी समाप्त हुन्छ भन्ने कुराको उदाहरण सोभियत संघका राष्ट्रपति गोर्वाचोभ हुन् ।
यी दुवै देशको सफलता र असफलताबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्ने बेला जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका थिए । जुन जगमा आजसम्म एमाले टिकेको छ । तर एमालेको नवौँ महाधिवेशनले गलत नेतृत्व चयन गर्दा सिंगो एमाले आज अस्तित्वको संकटमा छ ।
‘जसको नीति उसैको नेतृत्व’ भनिए पनि दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष पदमा बस्न नपाइने र ७० वर्ष उमेर कटेपछि नेतृत्वबाट बिदा हुनुपर्ने आफैँले बनाएको विधान कुल्चेर अगाडि बढ्न खोज्दा सिंगो कम्युनिष्ट आन्दोलनको भविष्य पश्चिम बंगालको यात्रामा छ ।
यति हुँदा पनि नेतृत्वको चेत अझै खुलेको छैन । पशुपतिनाथको ब्रम्हनालमा नपुग्दासम्म पदीय भोकले ढाडिएको नेतृत्वले पद त्याग नगर्ने हो भने एमालेका इमानदार कार्यकर्ताहरूसँग रामराम… भन्नेबाहेक समवेदनाको अर्को शब्द छैन । ठिक यही मोडमा अहिले एमालेभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।
नेपालको लोकतान्त्रिक इतिहासमा एमालेले जति योगदान पु¥यायो, त्यति बदनामी पनि कमायो । त्यसै कारण एमालेका कार्यकर्ताहरू गाउँ, सहरमा मुख देखाएर हिँड्न त के भोट माग्न पनि लाज मान्छन् भन्ने कुरा फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले देखाइदिएको छ । केही वर्षदेखि युवाहरूले एमाले काँग्रेसलाई सच्चिने कि सक्किने ? भनेर सामाजिक सञ्जालमार्फत चेतावनी पनि नदिएको होइन, तर एमाले सक्किन तयार भयो, सच्चिन तयार भएन । जसको परिणाम एमाले जीवनमरणको दोसाँधमा छ ।
एमाले नेतृत्व सच्चिन तयार नहुनुको पछिल्लो कारण जेनजी विद्रोहलाई लिन सकिन्छ । युवाहरूको आक्रोश दबाउन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने जुन काम भयो, त्यसैले भदौ २३ र २४ गतेको घटना निम्त्यायो । त्यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नैतिकरुपमा जिम्मेवार छन् । त्यही दिनको घटनाका कारण भदौ २३ गते १९ जना स्कुले विद्यार्थीहरूको हत्या भयो ।
ओली अहिले त्यही क्रुर दमन र हत्याका कारण प्रहरी हिरासतमा छन् र उनको बयान जारी छ । आफ्नो बयानमा उनले अझै पनि नैतिकरुपमा उक्त घटनाको जिम्मेवारी लिन मानिरहेका छैनन् र उल्टै बयानमा ‘घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्ममाथि निष्पक्ष कारबाही’को माग गरेका छन् ।
उनको यो वयानले उनी आफू उम्कन खोजे पनि आफ्नै कारणले त्यत्रो निहत्था नागरिकको ज्यान गएको र त्यसको भोलिपल्ट सिंहदरबार, संसद् भवन, शीतल निवास, सर्वोच्च अदालतलगायतका ठाउँ खरानी भएको अन्तरमनले नस्वीकार्नु भनेको उनले आफ्नो अपराध लुकाउन खोज्नु हो । किनभने, कार्की आयोगले उक्त घटनामा ओलीलाई दोषी ठहर गर्दै १० वर्ष जेल सजायको सिफारिस गरेको छ । कार्की आयोगको प्रतिवेदनबाट पनि ओली उम्कने ठाउँ छैन ।










