Logo
Logo

भेप तस्करी प्रकरणः विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियार


1.5k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियार स्रोतका अनुसार आजै (बिहीबार) मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन छ । सो मुद्दामा केही अभियुक्तहरू धरौटीमा रिहा भइसकेका छन् भने केही पुर्पक्षका लागि थुनामा छन्।

के थियो घटना ?
२०७९ पुस १० गते फ्लाई दुबईको उडान (एफजेड ०५८७) बाट चिनियाँ नागरिक ली हानसोङले दुईवटा सुटकेसमा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। भन्सार जाँचका क्रममा ती भेपभित्र सुनका प्लेट लुकाएर ल्याएको खुलासा भएको थियो । प्रारम्भिक अनुसन्धानका अनुसार सो प्रकरणमा करिब ९ किलो सुन तस्करी भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले भन्सार गोदाममा राखिएका सक्कली भेपलाई नक्कलीले साटेर सुन निकालिएको र त्यसमा भन्सारका नायब सुब्बासहितका कर्मचारीको मिलेमतो रहेको देखाएको थियो । यस कार्यमा चिनियाँ गिरोहको संगठित संलग्नता पुष्टि भएको थियो ।

सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०८० असारमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको थियो।

यसै प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पनि पक्राउ परेका थिए । तर, पक्राउ परेको पाँच दिनमै उनी छुटेका थिए । सीआईबीले महरालाई भेप तस्करी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ व्यक्तिहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएको भन्दै क्लिन चिट दिएको थियो । महरासँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा पूर्वमाओवादी विद्यार्थी नेता दीपेश पुनलाई पनि अनुसन्धानबाट सफाइ दिइएको थियो ।

भेप लिलामीमार्फत किन्न खोजेको आरोपमा पाँच जना अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो । न्यायाधीश दीपक ढकालको इजलासले नौ आरोपीमध्ये भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्का, काठमाडौं भोटेबहालका वेदप्रकाश अग्रवाल, कागेश्वरी मनहराका दिनेश बस्नेत र पोखरा गैह्रापाटनका निर्मलकुमार विकलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सरकारी अनुसन्धानले भेप तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन सम्पर्क भएको तथ्य पनि देखाएको थियो । अनुसन्धानअनुसार चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेका थिए । तर, त्यति धेरै सम्पर्क देखिए पनि कृष्णबहादुर महरा प्रतिवादी भने बनेनन् ।

यो जालोमा पूर्वसभामुख तथा पूर्वमाओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन तथा परराष्ट्र विज्ञ जीवन गुरुङसमेतको नाम सार्वजनिक बहसमा आएको थियो ।

राहुल महराको हकमा चिनियाँ तस्करसँगको बाक्लो सम्बन्ध र भन्सारका अधिकारीहरूसँगको सम्पर्कलाई अनुसन्धानको आधार बनाइएको थियो । कृष्णबहादुर महराको हकमा पनि तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँग बाक्लो फोन सम्पर्क र भन्सारका अधिकारीलाई फोन गरेर भेप छुटाउन दबाब दिएको आरोप बाहिरिएको थियो ।

यहीँनेर अनुसन्धानको निष्कर्षमाथि गम्भीर प्रश्न उठेको थियो । एकै प्रकृतिका प्रमाणमा छोरा राहुल अभियुक्त बन्दै पुर्पक्षका लागि थुनामा जानुपर्ने, तर बाबु कृष्णबहादुर महरा प्रतिवादीसमेत नबन्ने अवस्था आफैंमा विरोधाभासपूर्ण देखिएको थियो । यद्यपि, राहुल महरा १४ महिना जेल सजाय काटेर छुटिसकेका छन् ।

तिब्बती मूलका बेल्जियन नागरिक दावा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन तथा पूर्वसभामुख ओनसरी घर्तीसँग चिनजानमा रहेका व्यक्ति भएको सार्वजनिक रूपमा चर्चा भएको थियो । नन्दबहादुर पुन र वर्षमान पुनको परिवारसँग दावाको पारिवारिक जमघट र भेटघाटका तस्बिरसमेत सार्वजनिक भएका थिए।

अनुसन्धान अधिकारीहरूका अनुसार दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर नेपालमै तस्करीका लागि ‘सेल्टर’ निर्माण गरेको देखिन्छ । यही सम्बन्धका आधारमा उनले नेपालमा अपराधको जालो विस्तार गरेको र तस्करीको धन्दा सञ्चालन गर्न फर्जी विवरण पेस गरेर दोहोरो नागरिकता र राहदानीसमेत लिएको आशंका छ।

अमला रोकालाई तस्करीमा संलग्न दावाको सम्पत्ति व्यवस्थापनका लागि प्रयोग गरिएको अनुसन्धान अधिकारीहरूको दाबी छ। अमलामार्फत दावाले पूर्वउपराष्ट्रपति पुन र पूर्वमाओवादी नेता वर्षमान पुन दम्पतीसँग सम्बन्ध विस्तार गरेको पनि अनुसन्धानमा औँल्याइएको छ।

यता, अख्तियारले भ्रष्टाचारबारे छुट्टै अनुसन्धान अघि बढाएको थियो । २०८२ असोजमा अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महराको बयानसमेत लिएको थियो ।

भन्सार कर्मचारीको मिलेमतो, सुन तस्करीमा संस्थागत संरक्षण र राजनीतिक पहुँचको सम्भावित दुरुपयोगबारे परेका उजुरीका आधारमा आयोगले अनुसन्धानलाई तीव्र बनाएको थियो । अब अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेसँगै यो प्रकरण केवल भन्सार छली वा तस्करीको मुद्दामै सीमित नरही, राजनीतिक संरक्षण, प्रशासनिक मिलेमतो र राज्य संयन्त्रको दुरुपयोगसम्म पुगेको गम्भीर भ्रष्टाचार प्रकरणका रूपमा पुनः बहसमा आएको छ।

प्रतिक्रिया दिनुहोस्