
यो निर्वाचन प्रणालीले कुनै एक दलले बहुमत ल्याउन सक्दैन, त्यसैले यो निर्वाचन प्रणाली नै फेर्नुपर्छ भन्ने भ्रमलाई चिर्दै गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ मत ल्याएर सबैलाई आश्चर्यचकित बनायो । यसैगरी २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले पनि करिब दुईतिहाइ मत ल्याएको थियो ।
२०७४ सालमा करिब दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री भएका केपी शर्मा ओलीलाई मैले भनेको थिएँ– ‘राजनीतिमा अंकगणितले मात्र काम गर्दैन, सबभन्दा ठूलो कुरा जनताप्रतिको प्रतिबद्धता हो, त्यसका लागि आफैँप्रति इमानदार हुनु जरुरी छ ।’
सिंहदरबार प्रधानमन्त्री कार्यालयको गोप्य कोठामा करिब एक घण्टा भएको कुराकानीमा मैले भनेको थिएँ– ‘प्रचण्डजस्तो अस्थिर नेतासँग सहकार्य गर्दै हुनुहुन्छ, अलि होस् पु¥याएर काम गर्नु होला । साथै, माधवकुमार नेपाललाई पनि सन्तुलनमा राख्नु होला ।’
मेरो कुरा गम्भीरतापूर्वक सुनिरहेका ओलीलाई थप सुझाव दिँदै भने– ‘यो सरकारलाई ढाल्ने संख्या संसद्मा अरूसँग छैन, यो सरकार ढल्यो भने आन्तरिक कारणले नै ढल्छ । त्यसैले माओवादीसँगको एकता चाँडोभन्दा चाँडो टुङ्ग्याउनु होला ।’
यो सुझावसँगसँगै अर्को महत्त्वपूर्ण सूचना पनि ओलीसँग शेयर गरेको थिएँ– ‘तपाईँको किचेन क्याबिनेटसम्म विदेशी एजेन्टहरूले पहुँच पु¥याइसके, तपाईंका वरपर रहेका व्यक्ति र सल्लाहकारहरूसँग अलि सजग हुनुहोला ।’ यो कुरा सुनेर ओली अलि गम्भीरजस्तो त भए तर आफूलाई सुधार्न सकेनन् । यो कुराकानी हुँदा ओली दोस्रोपटक दुईतिहाइको प्रधानमन्त्री भएको जम्मा ६ महिना बितेको थियो ।
आखिर, राष्ट्रियसभा गृहबाट दुई जना पाइलटले उडाएको गन्तव्यहीन जेट विमान ०७७ पुस ५ गते दुर्घटनाग्रस्त भयो । त्यहीबाट ओरालो यात्रा सुरु भएको एमालेको राजनीति आजको अवस्थामा पुगेको हो । यसमा ओलीको ठूलो कमजोरी रहेको छ । त्यही कमजोरीको फाइदा उठाएर ओलीलाई ‘इम्परर न्यू क्लोथ’को बादशाह बनाउनेदेखि जेल पठाउनेसम्मको काममा अरु कोही नभएर उनका सल्लाहकारहरु जिम्मेवार छन् ।
विगतका राजनीतिक दुर्घटनाबाट शिक्षा लिँदै रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले आफ्नो यात्रा तय गर्नुपर्ने हुन्छ । नेपालको राजनीतिक दुर्घटनामा ‘इगो’ले ठूलो काम गर्छ । २०१५ सालमा राजा महेन्द्र र बिपी कोइरालाबीचको द्वन्द्वले दुईतिहाइको बिपीको सरकार मात्र ढलेन, लोकतन्त्र नै धरापमा प¥यो । २०७४ सालमा ओली र प्रचण्डबीचको द्वन्द्वले दुईतिहाइ अर्थहीन बन्यो ।
कतै अहिले पनि रास्वपाले पाँच वर्षका लागि पाएको दुईतिहाइ बहुमत ‘भुइँ न भाँडो’ बन्ने त होइन भन्ने चिन्ता छ । रास्वपाभित्र लामिछाने र शाहबीच केही समस्या छ भन्ने कुरा सरकार गठन गर्दादेखि उपसभामुखको निर्वाचनसम्म आइपुग्दा केही बाछिटा देखिएको छ ।
कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले भनेझैँ पुच्छरले कुकुर हल्लाउन थाल्यो भने रास्वपाभित्र आन्तरिक द्वन्द्व बढ्ने कुरालाई नकार्न सकिन्न । किनभने, अहिलेको संसदीय राजनीतिमा पार्टी प्रमुख कुरा हो, पार्टीको निर्णयलाई लत्त्याउँदै जाँदा त्यसले दुर्घटना निम्त्याउँछ भन्ने कुरा कांग्रेस, एमालेको अन्तद्र्वन्द्वबाट पनि शिक्षा लिनुपर्छ ।
अन्त्यमा, सरकार भर्खरै गठन भएको छ, सरकारले सय दिन पनि नकटाउँदासम्म आलोचना गरिहाल्नु हुँदैन । तर पनि पार्टी सभापति लामिछानेको महत्वाकांक्षा र प्रधानमन्त्री शाहको एकलकाटे स्वभाव र दम्भबीच त्यति मेल खाएको देखिँदैन । नेपाली जनताले त्यत्रो आशा र भरोसा गरेको रास्वपा नेपालको राजनीतिमा स्थापित हुने हो भने विगतबाट शिक्षा लिँदै यी दुई नेताले आ–आफ्ना कमीकमजोरी सुधार्नुको विकल्प छैन । अन्यथा, यो दुईतिहाइ बहुमत पनि खेर जाने छ ।











