
प्रधानमन्त्री बालेन साहप्रति टिप्पणी गर्ने बेला भइसकेको छैन । उनले जे काम गर्न खोजिरहेका छन्, त्यसले केही आशा जगाएको छ । उनले आँटेका कामलाई राजनीतिक दलका नेताहरूले साथ दिएमा लोकतन्त्रको माध्यमबाट समृद्धि हासिल हुने कुरामा दुईमत छैन ।
लोकतन्त्र भनेको केवल ओठेभक्ति मात्र होइन, त्यो राजनीतिक संस्कार पनि हो । विगतमा लोकतन्त्रका लागि पटकपटक संघर्ष गरेका नेताहरू सत्तामा पुगेपछि गतिछाडा भएकोले लोकतन्त्रप्रति नै आम सचेत नागरिकमा वितृष्णा उत्पन्न भएको हो ।
कुनै पनि शासन व्यवस्था आफैँमा खराब हुँदैन । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराले मुलुकको भविष्य निर्धारण गर्छ । विगत ३५ वर्षदेखि समृद्धिको सपना देखेर नेपाली युवाहरूले पटकपटक बलिदानी दिए । यो बीचमा धेरै व्यवस्था फेरियो, अवस्था फेरिएन, जसका कारण जेनजी विद्रोह भयो । जेनजीको बलिदानी पनि खेर नजाओस् भन्नेतिर सजग हुनुपर्छ ।
जेनजी आन्दोलनको एजेन्डा राजनीतिक थिएन, राजनीतिले भित्र्याएको भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने थियो । जुन काममा बालेन सरकार अगाडि बढिरहेको छ, त्यसमा सबैको साथ आवश्यक पर्छ । विगतमा जस्तो विरोधका लागि विरोध होइन, रचनात्मक कामको लागि समर्थन र आलोचनात्मक कामको लागि विरोध गने संस्कार हामीभित्र हुर्काउन सक्यौँ भने त्यसले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । कुनै पनि देश एकैरातमा बनेको इतिहास छैन । असल शासक र सचेत नागरिककै कारण देश बन्दै जाने हो । तर दुर्भाग्य नेपालमा लोकतन्त्र स्थापनापछि केही आशा देखिए पनि अन्ततः दलभित्रको किचलोले कुनै एउटा दलले पूरा कार्यकाल काम गर्न पाएन ।
बहुदलीय व्यवस्था पुनस्र्थापनाको ३५ वर्षमा ३५ वर्ष उमेरकै प्रधानमन्त्री हामीले पाएका छौँ । विगतमा बालेन साह कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नेता वा कार्यकर्ता होइनन् । बहुदलीय व्यवस्था सँगसँगै जन्मिएका साहको राजनीति यात्रा काठमाडौं महानगरको मेयरदेखि सुरु भएको हो । यति छोटो समयमै उनी प्रधानमन्त्री बन्लान् भन्ने कुराको स्वयं उनलाई विश्वास नहुन सक्छ । तर तिनै पुराना दलहरूले थुपारेको फोहोरमैला सफा गर्न मेयरदेखि प्रधानमन्त्रीको कुर्चीसम्म उनी पुग्न सफल भए ।
आमनागरिकलाई छिटो डेलिभरी चाहिएको छ । त्यो पुरा गर्न पनि उनले दिनरात नभनी काम गरेर देखाउनुपर्ने छ । उनीप्रतिको युवाहरूको आशा निराशामा परिणत भयो भने त्यसले अर्को विद्रोह निम्त्याउँछ । त्यसका लागि पनि बालेनले राजनीतिक दलसँग संवाद र सहकार्य गर्नु आवश्यक छ ।
यति हुँदाहुँदै पनि उनमा केही कमजोरी पनि छन् । प्रधानमन्त्रीजस्तो व्यक्तिले कसैसँग नभेट्ने भन्ने हुँदैन । कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा कस्तो पोसाक लगाउनुपर्छ भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । ‘टाइम’ म्याजिनले सय शक्तिशाली व्यक्तिको सूचीमा चढाएको बालेनको शाख कतै आफ्नै कारणले कमजोर नबनोस् भन्नेतिर उनको ध्यान जानुपर्छ ।
यो भन्दा पनि महत्त्वपूर्ण कुरा उनी कस्तो भूराजनीति परिस्थितिमा प्रधानमन्त्री बनेका छन् भन्ने हो । भदौ २३ र २४ को घटना आफैँमा रहस्यमय छ । बाहिरबाट हेर्दा सामान्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको कारण जेनजी विद्रोह भएजस्तो लागे पनि त्यसको भोलिपल्ट जे जस्ता घटना भए त्यो एकै क्षणको आक्रोशले हुने घटना होइन । त्यसको पछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने कुरा ढिलोचाँडो खुल्दै जानेछ ।
बालेन साह आज जुन जगमा उभिएका छन्, त्यसको धरातल उनले बिर्सिए भने देश अर्को भड्खालोमा पर्न सक्छ । त्यसैले उनले भू–राजनीतिक सन्तुलनलाई ख्याल गर्नुपर्ने हुन्छ । जेनजी विद्रोह सँगसँगै उदय भएका बालेनसँग दुवै छिमेकी सशंकित छन् भने, अमेरिका उत्साहित बनेको अवस्था छ ।
नेपालमा अमेरिकी उपस्थिति दुवै छिमेकका लागि त्यति सह्य होला जस्तो लाग्दैन । त्यसैले दुईतिहाइको जगमा उभिएका शक्तिशाली प्रधानमन्त्रीले राजनीतिक रूपमा आन्तरिक समस्या समाधान गर्दै, कूटनीतिक रूपमा बाह्य सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने देखिन्छ ।











