
नेकपा(एमाले)भित्र नेतृत्व परिवर्तनको बहस चलेको छ । फागुन २१ को निर्वाचनमा गम्भीर पराजय व्यहारेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसको नैतिक जिम्मेवारी लिएका छैनन् । अहिले एघारौँ महाधिवेशनबाट निर्वाचित भएका ओलीको विकल्प खोज्न थालिएको छ । योसँगै एमालेमा ओली हटाउन विशेष महाधिवेशनको माग समेत बढ्दो छ ।
यसैबीच वाम एकताको पनि चर्चा चलेको छ । एमाले र नेकपाका नेताहरूले त्यसका लागि छलफल गरे पनि दुवै पार्टीमा एकमत हुन सकेको छैन । पहिले आन्तरिक सुदृढीकरणमा जोड दिने कुरालाई एमालेका नेता–कार्यकर्ताहरूले प्राथमिकता दिएका छन् । यिनै विषयमा केन्द्रित रहेर एमालेका नेता कर्ण थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको अनपेक्षित मतपरिणाम र रास्वपाको उदयलाई कसरी लिनुभएको छ ?
स्थापित राजनीतिक दलहरूले आफ्नो दायित्व ठिक ढंगले निर्वाह गर्न नसक्दाको परिणाम हो । नेपालका राजनीतिक पार्टीले सत्ता र शक्तिका लागि जे पनि गर्ने प्रवृत्तिकै दुष्परिणाम हो । यो हाम्रो असफलताको दृष्टान्त पनि हो । जनताको असन्तुष्टि र आक्रोशलाई समयमै सही ढङ्गले पहिल्याउन नसक्दा यो परिणाम आएको हो ।
एमाले आवधिक निर्वाचनको पक्षमा सुरुदेखि नै थियो । जनताको बहुदलीय जनवादले निर्वाचनलाई जीवनशैलीको रूपमा लिएको छ । त्यसैले जति अप्रिय लागे पनि यो परिणाम स्विकारेर आफूलाई सच्याउनुको विकल्प छैन । परम्परागत दलहरूको असफलताको भारी सबैले बोक्नुपरेको हो । यसमा हाम्रा आफ्नै कमजोरीको आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ ।
हामीले आफैँले आफैँलाई समीक्षा गर्ने हो । अरूलाई दोषी देखाएर आफू सही हुन छाड्नुपर्छ । आफ्नो विवेकको प्रयोग गरेर समीक्षा गर्नुपर्ने आवश्यकता निर्वाचनको मतपरिणामले सिर्जना गरेको छ ।
नयाँ पुस्तालाई सही कुरा बुझाउन सकिएन । पछिल्लो समय नयाँ पुस्तालाई हामीसँग जोड्न सकिएको थिएन । हामीले के गर्दैछौँ भनेर विश्वासमा लिन समेत सकेनौँ । नेपालका राजनीतिक पार्टीले मूल्य, मान्यता छाडेर निजी स्वार्थमा लिप्त हुँदा यो परिणाम आएको हो ।
समग्रमा भदौ २३ र २४ को जेनजी विद्रोह र त्यसको वातावरण तयार बन्दै जानुलाई पनि हामीले नजरअन्दाज गर्यौं कि ? मैले चाहिँ धेरै अगाडिदेखि पार्टीमा यो कुरा उठाउँदै आएको थिए । तर मुख्य नेतृत्वले त्यसमा कुनै चासो दिएन । हाम्रा राज्यका संरचनाहरू कति लोकतान्त्रीकरण गराउन सक्यौ, त्यसमा हाम्रा आफ्नै कमजोरी रहे ।
७२ को संविधानपछि समाजवाद उन्मुख राज्य व्यवस्था त भन्यौ तर नेपालको विशेषता अनुरूप समाजवादको प्रारूप तयार पार्न सकेनौँ । त्यसको आर्थिक, सामाजिक प्रणालीको बारेमा स्पष्टता तय गर्न सकेनौँ । त्यसतर्फ कहिल्यै पनि कुनै पनि पार्टीमा छलफल भएन । त्यसले दलहरूप्रति रहेको विगतदेखिका आशा र विश्वास मर्दै जाँदा जनता अन्यत्र मोडिए । मुलुकमा बढ्दै गएको समस्यालाई पहिल्याउन नसक्दा या बेवास्ता गर्दा पनि त्यसको प्रभाव जेनजी विद्रोह हुँदै निर्वाचनको परिणामले मुख्य मारमा एमालेमा प¥यो । र, एमाले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो ।
त्यसबाहेक गणतन्त्रकालीन शासन अवधिको सबै केस्रा केस्रामा केन्द्रित रहेर व्यापक समीक्षा गर्न अहिलेको निर्वाचनले सन्देश दिएको छ । अब हामीले आफूले आफैँलाई खोतल्न आवश्यक छ । कमजोरी यो कुनै दलको मात्रै नभएर सबै परम्परागत पार्टीहरूले नै गम्भीर समीक्षा गर्दै रूपान्तरित भएको आभास जनतालाई दिलाउन जरुरी छ । त्यसो नगरिए परम्परागत दलहरूको अस्तित्व र उपादेयतामाथि नै प्रश्न उठ्ने वाला छ ।
अहिले नेकपा(एमाले)भित्र बढेको अन्तरविरोधको मुख्य कारण त्यही निर्वाचनकै मतपरिणामले सिर्जना गरेको हो या अरू नै कारण हो ?
नेकपा(एमाले)भित्र पार्टीले उठान गरेको लक्ष्य र उद्देश्यमा भर्खरैको निर्वाचनले ठूलो धक्का दिएको छ । नेतृत्वदायी तहमा रहेका नेताहरूको सांगठनिक, राजनीतिक एवं कार्यशैलीगत हिसाबले कमजोरी रहन गयो र अब पुनर्गठन गर्नुपर्ने ठाउँमा पुग्यो भनेर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौँ । ४८ सालदेखि ८२ को फागुन २१ सम्म र त्यसपछि विकसित राजनीतिक परिस्थितिको व्यापक छलफल गरेर पार्टीलाई पुनर्जीवन दिन छलफल गरिरहेका छौँ ।
एमालेमा एघारौँ महाधिवेशनबाट अनुमोदित पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने परिस्थिति किन आयो ?
जुन बेलामा एघारौँ महाधिवेशन गर्दै थियौँ, त्यतिबेलाको परिस्थिति र अहिले बिलकुल फरक छ । सिंगो वाम आन्दोलन अहिले संकटपूर्ण अवस्थामा छ । त्यो बेला र अहिलेको परिस्थिति र शक्ति सन्तुलन नै फेरिएको छ । हाम्रा निर्णयहरूको पुनर्विचार गर्नुप¥यो । हाम्रा शैली, आचरण र फैसला कस्ता थिए । ती समग्र पार्टीको हुन सके या सकेनन् ।
विधान महाधिवेशनकै बेलामा मेरो फरक मत थियो । नीति, विधि, लक्ष्य भन्दा पनि डर त्रास र आशाले नेकपा एमाले चलिरहेको थियो । नेतृत्वभन्दा फरक ढङ्ले सोचेपछि त्यसलाई किनाराकृत गर्ने प्रवृत्ति बढ्यो । फरक ढङ्गले सोच्ने चिन्तनलाई समेत निषेध गर्ने कार्य गरियो ।
जति मान्छेहरू एमालेमै थिए, उनीहरू स्वतन्त्र रहन सकेनन् । नेतृत्वबाट विभेदपूर्ण व्यवहार गरियो । यस्ता गम्भीर विषयहरू अब पार्टीमा छलफल गरेर सबैको सहभागितामूलक पार्टी बनाउने दायित्व हामीले बहन गर्नुपर्ने छ ।
शक्तिशाली रूपमा स्थापित एमाले नेतृत्व विवेकशील भएन । पदीय महत्वकांक्षा हाबी भएर उमेर हद लगायतका प्रावधान निस्तेज पारियो । यी कुनै प्राविधिक विषय नभएर नेतृत्व निर्माणका लागि नयाँ मापदण्ड थियो । यसले समाधान दिन्थ्यो र अहिलेको दुरावस्था निम्तिँदैन थियो । यो पार्टी अध्यक्षले मानेको भए नेता कार्यकर्ताले अवसर पाउने थिए । तर उहाँले त्यसलाई लत्त्याउने काम गर्नुभयो । त्यसै कारण अहिले नेतृत्व परिवर्तनको विषयमा पार्टीभित्र बहस चलिरहेको छ ।
यसअघि पनि उहाँलाई नेतृत्व छाड्न आग्रह गरिएको हो । तर उहाँ(ओली)ले विधिबाट हट्ने बताएर एघारौँ महाधिवेशनमै फेस गर्नुभयो र दोहोरिनु भयो । कम्तीमा अस्तिको नयाँ निर्वाचनमा झापा – ५ मा पराजित भएपछि नेतृत्व छाड्नुपथ्र्यो । अनेक पटक भनिएकै हो । सुरुमै गरेको भए प्रशंसाजन्य बहिर्गमन हुन्थ्यो ।
नेपालको वाम आन्दोलन संकटमा पर्नुको मुख्य कारण नेतृत्व नछाड्ने प्रवृत्ति पनि मुख्य हो ?
राजनीति भनेको त्याग र बलिदानीको गाथा पनि हो । अहिले ती सपना मर्न थाले । पुष्पलाल सबैका लागि स्वीकार्य हुन सक्नुभएन । मदन भण्डारी पार्टीभित्रै सर्वस्वीकार्य हुनुहुन्थेन । अर्को केपी ओली मात्रै पार्टीभित्रै सर्वस्वीकार्य नेता हुनुहुन्थ्यो । जबजलाई पार्टीको आन्तरिक जीवनमा लागू गरेको लोकतान्त्रीकरणको नेता हुनुहुन्थ्यो । तर आफ्नो गरिमा र ओज आफ्नै कारणले गुमाउनुभयो । दशौं महाधिवेशनपछि सबैको नेता हुनु भएको थियो । यसको पार्टीमा समीक्षा, पुनर्समीक्षा गर्न आवश्यक छ । नेपालको सन्दर्भमा वाम आन्दोलनको नेतृत्व पङ्क्तिमा देखा परेको प्रवृत्तिगत समस्यालाई अब पुनर्विचार गर्न नसकिए झनै संकट निम्तिने छ ।
यहाँहरूले केपी ओलीलाई एघारौँ महाधिवेशनबाटै विस्थापन गर्न सक्नुभएन, अब त्यो सामथ्र्य जुटाउन सक्नुहोला ?
हो, हामीले सकेनौँ, त्यो प्रयत्न इतिहासमा कुनै दिन मूल्याङ्कन होला । पदको कुर्सीबाट ज्ञान नआउने रहेछ । पदमा नभएकाहरू पनि दूरदर्शी हुन्छन् भन्ने विषयलाई मानिएन । आफू बाहेक अरूलाई निषेध गर्ने प्रवृत्ति हाबी भयो र यो परिस्थिति निर्माण भएको हो ।
अर्को प्रसंग पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा आगमनको विषय कहाँ पुग्यो ?
उहाँले पार्टीमा आएर सक्रियतापूर्वक काम गर्ने अपेक्षा राख्नु भएको थियो । त्यसलाई सहज ढंगले लिनुपथ्र्यो । उहाँलाई आउन नदिने प्रयत्न नै एमालेका लागि ऐतिहासिक भूल थियो । त्यसले एमालेमा कसैको पनि भविष्य छैन भन्ने देखायो ।
अर्को एमालेमा नेतृत्वको आलोचना गरे भीम रावललाई बनाइन्छ भन्ने पनि गरिन्छ कतै यहाँले पनि पूर्वराष्ट्रपति भण्डारीप्रति पक्षधरता देखाएकै भरमा किनाराकृत गरिएको त हैन ?
मलाई पनि त्यस्तै भनियो, कुनै बेला टंक कार्की बनाउने कुरा हुन्थ्यो । आजभोलि भीम रावल बनाउने भनिन्छ । मैले पोलिटब्यूरो बैठकमै यो कुरा राखेको थिएँ । मैले भनेकै थिए– भीम रावल बनाउन जसलाई मन छ त्यसलाई भीम रावल बनाउनुस् । मलाई अध्यक्षले बनाउन खोजेकै हो । मैले सही कुरा गर्दा तर्साउन खोजेकै हो । आतंक सिर्जना गरेर पार्टी चलाउन खोजिएको हो । मैले चुनौती दिएर भीम रावल बनाउनुस् भनेकै हुँ ।
त्यसपछि अन्य साथीहरूले हामीले यस्तो भनेको भए त भीम रावल नै बनाउथे होलान् तपाईँलाई त केही गरेनन् भन्दै थिए । मैले योग्यता, क्षमता, सक्रियता, योगदान र अनुभवका आधारमा जिम्मेवारी पाउने हो । म दावाका साथ के भन्छु भने सही मूल्य र मान्यतामा उभिँदा पार्टी शक्तिको दुरुपयोग गरेर कसैको तेजोवध गर्न पाइँदैन, कसैलाई किनाराकृत गर्न पाइँदैन ।
अब एमालेमा ओली नै पार्टी अध्यक्ष रहे योगदान र क्षमताका आधारमा जिम्मेवारी पाउने स्थिति रहन्छ या झनै किनाराकृत गर्ने प्रवृत्ति बढ्ला ?
पार्टीमा जिम्मेवारी पाउने भनेकै योग्यता, क्षमता, सक्रियता र योगदानका आधारमा हो । तर त्यस विपरीत जिम्मेवारी नदिने प्रवृत्ति कायमै रहे एमालेको सान्दर्भिकता नै समाप्त हुन्छ । योग्यता, क्षमता र बलिदानी गरेका योग्यतम् नेता कार्यकर्ताहरू छन् । उनीहरूलाई निराश गर्ने काम भएको छ । त्यसकै उपज एमालेको यो अवस्था भएको हो ।
पार्टीहरूको सान्दर्भिकता सकिने भनेकै आफ्नो अपनत्वबोध नगर्दा नै हो । एमालेमा पनि बहुसंख्यक योग्यतम नेता कार्यकर्ता छन् । नयाँ पुस्ताको आकर्षणको केन्द्र नबनाउने हो भने अब एमाले मात्रै होइन, अन्य परम्परागत पार्टीहरूको पनि औचित्य समाप्त हुन्छ ।
तिनै नेता कार्यकर्ताहरूलाई समुचित जिम्मेवारी दिएर उपयोग गर्न नसक्नुले पनि कमजोर निर्वाचन परिणाम आएको हो । पार्टीका हरेक तहमा रहेका नेतृत्वसँग निकट रहेकाहरूलाई मात्रै सबै तवरले अवसर दिने उपेक्षाकारी प्रवृत्तिले पनि इमानदार कार्यकर्ताहरू रुष्ट भएर पनि अहिले पार्टी कमजोर अवस्थामा आइपुगेको हो ।
अहिले एमालेमा ओलीले नेतृत्व नछाड्ने हो भने त्यसले आगामी दिनमा पार्टीको भविष्यमाथि कस्तो असर पार्ला ?
अहिले एमालेमाथि लागेका आरोप सबै सही छैनन् । गलतलाई गलत नै भन्नुपर्छ । जनमत एउटाले बढी ल्यायो भनेर आरोपित गरेको होइन । आफूले आफूलाई सबैभन्दा बढी जानिएको हुन्छ । त्यसैले एमालेभित्रको कमजोरी एमालेभित्रका हामीले देखेका छौँ । अरू कसैले भन्यो भनेर होइन । हामी स्वयंमले त्यो कुरा देख्नुपर्छ । तपाईँले सबैभन्दा बढी बुझ्ने आफूलाई हो । त्यस्तै मैले पनि सबैभन्दा बढी बुझ्ने आफैँलाई भएजस्तै एमालेमाथि सुधार्न एमालेले नै कमजोरी देख्नुपर्छ । हामीले बुझेका छौँ । अरूलाई त बाह्य प्रभाव पर्ने मात्रै हो ।
सिंगो एमालेको जीवनमा अहिले उत्खनन गर्न जरुरी छ । अहिले युग सापेक्ष रूपान्तरणको आवश्यकता एमालेमा देखापरेको छ । कम्युनिष्ट आन्दोलन टिक्ने भनेकै आफूले गरेको सही कामले जनताको समर्थन लिएर टिक्ने हो । जबजकै अन्तरनिहीत मूल मर्म पनि त्यही हो । जनतालाई सर्वोपरि ठान्ने र मानव जातिको उपलब्धिलाई अपनत्वबोध कायम गराउने ध्येय जबजकै हो ।
अहिले फेरि वाम एकताको बहस चलेको छ । वाम आन्दोलनमा देखा परेको संकटको हल गर्ने विधि एकता हो या आन्तरिक रूपान्तरण ?
वाम आन्दोलन एकताबद्ध बनाउने ऐतिहासिक अभिभारा पूरा गर्न सकेका छैनौँ । त्यसलाई सकारात्मक रूपमै लिएर अघि बढ्न खोज्ने कार्य ठिक भए पनि अहिले आन्तरिक सुदृढीकरण नै मुख्य दायित्व हो । सङ्कीर्ण स्वार्थमा रहेर मूल विषय यथावत् राखेर गरिने देखावटी कुराको कुनै अर्थ छैन ।
एकताको कुरा आफैँमा नकारात्मक होइन, सकारात्मक ढङ्गले लिनुपर्छ । हाम्रा सोच अलग भए पनि वैचारिक दर्शन एकै छन् । धेरै मतान्तर छैन । अहिले पनि देशको मुख्य वामशक्ति एमाले नै हो । पहिले एमाले सुदृढ हुनुपर्छ । अहिले एमाले सुसंगठित, सुदृढ र एकताबद्ध हुनुपर्छ । कमिटी प्रणाली अनुरूप चलेको छैन । एक व्यक्तिमा सबै शक्ति केन्द्रित भइरहेको छ । त्यो जबजको खिलापमा छ । त्यसले परिणाम दिँदैन ।
पहिले एमालेमा जेजे बिग्रिएको छ, त्यो सुधार गर्नुपर्छ । पहिलो प्राथमिकता सुदृढ वाम एकताका लागि सुदृढ एमाले, बलियो एमाले बनाउन जरुरी छ । मुख्य कामलाई विषयान्तर गर्न गरिएका अन्य कार्यको कुनै औचित्य छैन । अबको सन्दर्भमा राजनीति ध्रुवीकरण हुन जरुरी छ । तर त्यसका लागि पहिले एमाले भित्रको रूपान्तरण र सुदृढीकण गर्न जरुरी छ । तत्कालीन आवश्यकता भनेको एमाले मजबुद बनाउनै केन्द्रित हुनुपर्छ । जबजको मूल्य मान्यता पनि त्यही हो ।
अब एमालेमा नेतृत्व परिवर्तनका लागि कसरी अगाडि बढ्नुहुन्छ ?
एमालेभित्र एउटा नकारात्मक प्रवृत्ति छ । त्यो प्रवृत्ति समग्र प्रवृत्ति होइन । अब एमालेमा विधिवत् रूपमा छलफल गर्छौँ । सबै नेता–कार्यकर्ता यथास्थितिमा एमाले नचल्ने निष्कर्षमा पुगेका छौँ । त्यसबारे आवश्यकताका आधारमा अघि बढ्छौँ । कसैको अनुहार हेरेर होइन, आन्दोलनको आवश्यकता हेरेर वस्तुनिष्ठ ढङ्गले सोच्नुपर्छ । यसअघि अनेक कारणले गर्दा छलफल बहस हुन पाइरहेको छैन । तर अब हाम्रा कमिटी प्रणालीमै यसबारे व्यापक छलफल गर्छौँ ।











